'प्रेम गीत-३ को हिन्दी भर्सन नेपाली फिल्मको कालो बादल'

'प्रेम गीत-३ को हिन्दी भर्सन नेपाली फिल्मको कालो बादल'

काठमाडौँ :  फिल्म प्रेम गीत-३ हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुनु नेपाली फिल्म क्षेत्रको विस्तार भएको प्रतिक्रिया आइरहेको बेलामा चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्का भने विपक्षमा देखिए।

उनले प्रेम गीत-३ को हिन्दी भर्सन नेपाली फिल्मको रूपमा नेपालमा प्रदर्शन हुनु नेपाली फिल्म क्षेत्रको विस्तार नभई कालो बादल मडारिनु भएको दाबी गरे।

नबल प्रारम्भदेखि नै नेपालमा प्रेम गीत-३ को हिन्दी भर्सन नेपालमा रिलिज गर्न नहुने पक्षमा थिए। चलचित्र विकास बोर्डले विदेशी फिल्मको रूपमा फिल्म रिलिज गर्ने अनुमति दिने भएपछि सञ्चार मन्त्रालयले हस्तक्षेप गर्दै नेपाली फिल्मकै रूपमा रिलिज गर्ने बाटो खोलिदिएको थियो।

खड्काले अमेरिकामा जन्मिएको छोरा नेपाल आउँदा दैनिक कर तिरेर बस्नुपर्ने भन्दै भने'  ‘आमा-बाबु नेपाली नागरिक भए पनि कुनै सन्तान अमेरिकामा जन्मियो भने उ नेपाल आउँदा दैनिक कर तिरेर बस्नुपर्छ। मैले भन्न खोजेको त्यही नै थियो। तर, तोडमोड गरेर बुझियो।’

उनले नेपाली भाषा र संस्कृतिमाथि अतिक्रमण हुने क्रम बढेको भन्दै यसमा सचेत हुनुपर्ने बताएका थिए।

प्रेम गीत-३ लाई यसको निर्माणपक्षले पहिलो नेपाल-इन्डो फिल्मको रूपमा प्रचार गरेका थिए। नेपालमा पहिला नेपाली भाषाकै फिल्म रिलिज भएको थियो। नेपाली भर्सनको मिश्रित प्रतिक्रिया पाएको फिल्मको हिन्दी भर्सन सोमबारबाट रिलिज भए पनि दर्शकको प्रतिक्रिया बदलिएन।

भारत लगायतका देशमा समेत प्रदर्शन भइरहेको फिल्मको लोकेसनको प्रशंसा भए पनि अभिनय, कथा अनि पटकथाबारे भने नकारात्मक प्रतिक्रिया आइरहेका छन्।

१२ असोज, २०७९, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।