'प्रेम गीत ३' हेरेपछि प्रचण्डको समीक्षा: 'बडो मसालेदार; युद्ध, राजनीति, षड्यन्त्र, हिंसाको युनिक प्रस्तुति'

'प्रेम गीत ३' हेरेपछि प्रचण्डको समीक्षा: 'बडो मसालेदार; युद्ध, राजनीति, षड्यन्त्र, हिंसाको युनिक प्रस्तुति'

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्यधिक चर्चा भएको फिल्म 'प्रेम गीत ३' हेरेका छन्। हिजो भरतपुरको इन्द्रदेव हलमा उनले फिल्म हेरेका हुन्।

प्रचण्डसँगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, माओवादीका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी लगायतले फिल्म हेरेका थिए।

प्रचण्डले फिल्म हेरिसकेपछि समीक्षा पनि गर्न भ्याए। उनले फिल्म हेरिरहँदा पछाडिबाट आएको हुटिङले आफूलाई बाल्यकालको याद दिलाएको पनि बताए।

उनले फिल्मलाई 'बडो मसालेदार' भएको भन्दै तारिफ समेत गरे। 'यहाँ युद्ध पनि छ, राजनीति पनि छ। दरबारभित्रको षड्यन्त्र पनि छ। प्रेम पनि छ। हिंसा पनि छ। प्रतिहिंसा पनि। त्यसकारण यो फिल्म युनिक खालको प्रस्तुति देखियो', उनले भने।

यस्तै नेपालको प्राकृतिक सुन्दरतालाई राम्रोसँग प्रस्तुत गरेकाले प्रेम गीत ३ हेर्नलायक बनेको उनको दावी छ।

यस्तै फिल्मको आलोचना गर्दै उनले मसालेदार फिल्म भएकाले केही विरोधाभाष र दर्शक अलमलमा पर्नसक्ने पनि बताए। अन्तिममा प्रेम गीतले नेपालको पर्यटन विकासमा मद्दत गर्नसक्ने उनले विश्वास व्यक्त गरे।

१० असोज, २०७९, ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।