उकेरा कोलम

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...


तस्बिर : कृष्पा श्रेष्ठ

प्रा.डा. हरिहर वस्ती कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन)विशेषज्ञ हुन्। ४० वर्षे चिकित्सकीय पेशाको सिलसिलामा करिब ३० वर्ष विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको शव परीक्षणको काम गरे उनले। डा. हरिहरले करिब १५ हजार भन्दा बढी मृत शरीरको परीक्षण गरेका छन्। 

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने मृत शरीरको परीक्षणलाई ‘पोष्टमार्टम एक्जामिनेशन’ भनिन्छ। आजकाल भने मृत्युको कारण पत्ता लगाउने यस्तो परीक्षण विधि तथा प्रक्रियालाई ‘अटोप्सी’ भनिन्छ।

मदन भण्डारीको कुहिन लागेको शवको परीक्षण गर्दा
डा. हरिहरले तत्कालिन एमाले नेता मदन भण्डारी र जीवराज आश्रित लगायत व्यक्तिको मृत शरीरको परीक्षण गरेका छन्।

२०५० सालमा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएका भनिएका भण्डारी र आश्रितको शव परीक्षण गरेको प्रसङ्ग सम्झँदा अझै उनको आङ जिरिङ्ग हुन्छ।

दुर्घटनामा मृत्यु भएपछि भण्डारी र आश्रितको शव परीक्षणका लागि वीर अस्पताल पुर्‍याइयो। जहाँ शव परीक्षणको नेतृत्त्वजदायी जिम्मेवारीमा डा. हरिहर नै खटिएका थिए। भण्डारी र आश्रितको शव परीक्षण र प्रतिवेदन तयारीका लागि डा. हरिहरसहित ६ सदस्यीय समिति गठन भएको थियो।

आफू केन्द्रीय कारागार अस्पतालको तर्फबाट वीर अस्पतालमा नै फरेन्सिक चिकित्सकको भूमिकामा काम गर्ने भएकाले सो समितिको सदस्य सचिवको रूपमा काम गरेको उनले सुनाए।

डा. हरिहरकै नेतृत्त्वमा अस्पतालमा भण्डारी र आश्रितको शव परीक्षण भयो। आश्रितको शव गाडिमै भेटिएकाले तुरुन्तै वीर अस्पताल पुर्‍याइएछ। भण्डारीको भने दुर्घटना भएको तीन दिनपछि मात्रै शव नारायणी नदीमा भेटेर अस्पताल पुर्‍याएको थियो।

उनले अस्पतालमा भण्डारीको शव पुर्‍याउँदाको अवस्थाबारे सुनाए, ‘शरीर कुहिन सुरु गरेको थियो, शरीर फुलेको थियो, कालो भएको थियो।’

भण्डारीको शव परीक्षणका क्रममा टाउको, पेट, घुँडा जस्ता अङ्गमा चोट लागेको भेटिएको उनले बताए। आश्रितको भने दुर्घटनामा परी गाडी कुच्चिँदा टाउको नै कुच्चिएर मेरुदण्ड भाँचिएको थियो। भण्डारी र आश्रितको शव परीक्षणको क्रममा सवारी साधन दुर्घटनाका क्रममा हुनसक्ने चोटपटक तथा प्रकृति नै भेटिएको डा. हरिहर सम्झन्छन्।

राजनीतिक व्यक्ति र अहिले पनि चर्चाको विषय बन्ने भएकाले भण्डारी र आश्रितको शव परीक्षण गर्दाको त्यो क्षण अहिले पनि मनमा आइरहने उनले सुनाए। त्यो बेला चर्चामा रहेका नेता भण्डारी र आश्रितको शव परीक्षण गर्दा शारीरिक तथा मानसिक रूपमा निकै पीडा  भएको उनी सुनाउँछन्।

भण्डारीको शव परीक्षण केही घण्टामा नै सकिएको डा. हरिहर सम्झन्छन्। भण्डारीको शरीरमा बिष प्रयोग भएको छ कि भनेर नेपालको प्रयोगशालामा परीक्षण भयो। तर, केही देखिएन। त्यसपछि त्यो रगत बेलायतको प्रयोगशालामा समेत परीक्षणका लागि पठाइएको उनले सुनाए। बेलायत पुर्‍याउने क्रममा उचित प्रक्रिया नअपनाउँदा परीक्षणको रिपोर्टले निष्कर्ष दिन नसकेको उनले बताए।

अस्पतालभित्र शव परीक्षण गरिहरँदा बाहिर साँच्चै दुर्घटना हो वा बनावटी दुर्घटना हो? भन्ने जस्ता आवाज उठिरहेका सम्झन्छन् उनी। त्यसो त भण्डारी र आश्रितको शव परीक्षण गरिरहँदा हरिहरको व्यावसायिक रूपमा नै चुनौतिको पाटो पनि जोडिएको थियो। 

भण्डारी र आश्रितको शव परीक्षण गर्दा दुर्घटनाकै कारण मृत्यु भएको पुष्टि भएको देखिए अनुसार नै प्रहरीलाई प्रतिवेदन बुझाइएको डा. हरिहरले सुनाए। अझै पनि भण्डारी र आश्रितको मृत्युबारे उनीसामु सोधिने एउटा प्रश्न हो, ‘त्यो दुर्घटना जानीजानी गराइएको थियोे की साँच्चैको दुर्घटना थियो?’

मृतकको शव परीक्षण गर्ने चिकित्सकले दुर्घटना कसरी भएको थियो भन्ने विषय सबै अवस्थामा पत्ता लगाउन नसक्ने उनले बताए। तर, भण्डारी र आश्रितको शव परीक्षणको क्रममा कुनै पनि दवाव भने नआएको उनको अनुभव छ।

‘हत्या गरिएकी महिलालाई आत्महत्याको रिपोर्ट बनाउन प्रहरीबाटै दबाब आयो’
डा.हरिहरलाई बेला–बेलामा चाँडै शव परीक्षण गरिदिनुपर्‍याे भन्ने दबाब नआएका होइनन्। त्यसबाहेक एक पटक घाँटी कसेर मारिएकी महिलालाई झुण्डिएर मृत्यु भएको हो भन्ने रिपोर्ट बनाइदिन दबाब आयो। तर, उनले बनावटी रिपोर्ट बनाउन अस्वीकार गरेको अनुभव गर्वसाथ सुनाए।

घटना करिब २०५० साल तिरको काठमाडौंको हो। करिब ३५ वर्षकी ती अविवाहित महिलाको शव झाडीमा भेटिएको थियो। डा. हरिहरले शव परीक्षण गर्दा घाँटीमा डोरीले कसेर मारेको देखियो। तर, त्यो घटनाको बनावटी कथा रचिएछ।

‘झुण्डिएर ती महिलाले आत्महत्या गरेकी हुन्, तर घरका मान्छे डराएर झाडीमा लगेका रहेछन्’ भन्ने रिपोर्ट बनाएछ प्रहरीले। त्यसैले मृत्युको कारणचाहिँ झुण्डिएर आत्महत्या गरेको भनेर रिपोर्ट बनाइदिन डा. हरिहरलाई प्रहरीले नै अनुरोध गरिएको थियो। तर, उनले त्यो प्रस्ताव अस्वीकार गरे।

स्वास्थ्य परीक्षणको आधारमा डा. हरिहरले झुण्डिएर मृत्यु भएको नभई घाँटी कसेर मृत्यु भएको हो भन्ने रिपोर्ट दिए। त्यो घटनापछि भने बनावटी रिपोर्टका लागि दोस्रो दवाव कहिल्यै नआएको उनले सुनाए। बनावटी रिपोर्ट बनाइदिनु भन्ने त्यो दवाव नै पहिलो र अन्तिम भएको उनले सुनाए।

बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...
त्यसो त बलात्कारपछि हत्या गरिएकी करिब १२ वर्षकी बालिकाको शव परीक्षण गर्दाको क्षण सम्झँदा पनि उनको मन चिसो हुन्छ। डा. हरिहरलाई याद भएसम्म घटना २०५६/०५७ साल तिरको हो। तत्कालीन सर्वोच्च अदालतका एक न्यायाधीशको घरमा नुवाकोटकी ती बालिका काम गर्न बसेकी थिइन्। 

बालिका विहान घरको कोठामा मृत फेला परिछन्। प्रहरीलाई खबर भएछ। प्रहरीले घटनाको मुचुल्का उठायो। प्रहरीले ‘मेटासिट सेवन गरी आत्महत्या ज्यान’ भन्ने रिपोर्टका साथ वीर अस्पतालमा ती बालिकाको शव पुर्‍यायोे। 

डा. हरिहरले बालिकाको शव परीक्षण गरे। शव परीक्षणपछि प्रहरीले ठूलो गल्ती गरेको उनले पत्ता लगाए। प्रहरीले रिपोर्टमा उल्लेख गरेजस्तो मेटासिट सेवन गरेर बालिकाले आत्महत्या नगरेको पुष्टि भयो। शव परीक्षण गर्दा बालिकाको गुप्ताङ्ग च्यातिएर रक्तश्राव भएको देखियो। मुखमा फिँज आएको र मेटासिट गन्हाएको भने थियो।

तर, बालिकाको घाँटीमा हातले समाएका निशान भेटे डा. हरिहरले। बलात्कारपछि आत्महत्या देखाउन बालिकालाई मेटासिट कोच्याइएको उनले पत्ता लगाए। ती बालिकाले मेटासिट ननिलेपछि सर्किएर मुखबाट फिँज आएको थियो। 

मेटासिट कोच्याउँदा पनि मरिन भनेर अपराधीले घाँटी थिचेर बालिकाको हत्या गरेको डा. हरिहरले निष्कर्ष निकाले। प्रहरीले मुचुल्का गर्दा अनुसन्धानको पूरा प्रक्रिया नअपनाइ दबाउन खोजेको जस्तो उनले देखे।

त्यसैले बालिकाको शव परीक्षणपछि डा. हरिहरले प्रहरीलाई मुचुल्का लिएर अस्पतालमा आउनका लागि फोन गरे। तर, प्रहरीले भने वास्तै गरेनछ। त्यसपछि डा. हरिहरलाई लाग्यो, ‘यो विषय बाहिर नल्याउने हो भने त अपराधी उम्कने भयो।’ 

प्रहरीले वास्ता नगरेपछि एक पत्रकारलाई फोन गरेर बालिका हत्याको घटनाबारे प्रहरीले वास्ता नगरेको बारे जानकारी दिए। भोलिपल्ट विहान ‘न्यायाधीशको घरमा विभत्स हत्या’ शीर्षकमा पत्रिकामा समाचार छापियो। त्यसपछि मुचुल्का सच्याउन र आफूलाई भेट्न प्रहरी दौडधुप गरेको डा. हरिहरलाई राम्रो सम्झना छ।

बालिकाको हत्याबारे समाचार बाहिरिएपछि प्रहरीले पुनः अनुसन्धान गर्‍यो। त्यही घरका न्यायाधीशकै छोराले बलात्कारपछि हत्या गरेका हुन् की भन्ने पनि कुरा उठ्यो। तर, ती न्यायाधीशको घरमा काम गर्ने करिब १६ वर्षका युवाले बालिकालाई बलात्कार गरी हत्या गरेको पुष्टि भएको डा. हरिहरले सुनाए। त्यसपछि ती युवाले कानून अनुसार सजाय भोगे।

त्यसरी पत्रकारलाई खबर गरेर समाचार दिनु व्यावसायिक रूपमा भने अनैतिक काम गर्दैछु भन्ने डा. हरिहरलाई थाहा थियो। सरकारी कर्मचारी भएकाले उनलाई त्यसरी खबर बाहिर लाँदा प्रशासनिक कारबाही पनि हुन सक्थ्यो। तर, प्रहरीले वास्ता नगरेपछि अपराधी नउम्कियोस् भनेर आफूले पत्रकारलाई खबर गरेको उनले सुनाए।

माओवादीले मारेका सशस्त्रका आइजीपीको शव परीक्षण गर्दा...
नचिनेका व्यक्तिको शवको परीक्षण गर्दा त असहजता महसुस हुन्छ नै। चिनजान भएकै व्यक्तिको शव परीक्षण गर्दा मनमा कस्तो होला?डा. हरिहरलाई पनि सशस्त्र प्रहरीका तत्कालीन आईजीपी कृष्णमोहन श्रेष्ठको शव परीक्षण गर्दा मन भारी भयो। हात लागेनन्।

नेपाल प्रहरीमा तत्कालीन एआईजीमा रहँदा श्रेष्ठले कानूनी चिकित्साको वृद्धि विकासमा निकै समन्वय गरेको सम्झन्छन् डा. हरिहर। पछि श्रेष्ठ नेपाल प्रहरीबाट सशस्त्र प्रहरीको पहिलो आईजीपी भएर गएका थिए। 

मर्निङ वाक गरिरहेको अवस्थामा श्रेष्ठ र उनकी श्रीमतीको तत्कालीन माओवादी आक्रमणमा परि ललितपुरको एकान्तकुनामा मृत्यु भयो। माओवादीले गोली हानेर मारिएका श्रेष्ठ दम्पत्तीको डा. हरिहरले नै अटोप्सी गरे।

प्रहरीको तर्फबाट कानूनी चिकित्साको पाटोलाई सुधार गर्न कोसिस गरेका उनै श्रेष्ठको शव परीक्षण गर्नुपर्दा डा. हरिहरको मनै भक्कानियो। त्यो शव परीक्षण गर्दा उनलाई एकदमै पीडा भयो। चिनेको व्यक्तिको शव परीक्षण गर्दा शारीरिक तथा मानसिक रूपमा निकै असहज भएको उनी सम्झन्छन्।

शव परीक्षण गर्दा श्रेष्ठलाई शरीरका विभिन्न भागमा गोली हानेको देखिएको सम्झन्छन् उनी। व्यावसायिक कार्यकै सिलसिलामा श्रेष्ठसँग उनको चिनजान भएको थियो। नजिकको आफन्त तथा नातेदारको भने नैतिक रूपमा अटोप्सी गर्न नमिल्ने उनी बताउँछन्।

श्रेष्ठले नेपाल प्रहरीको अपराध अनुसन्धानमा भएको समयमा व्यक्तिको मृत्यु भएको घटनास्थलमा चिकित्सकलाई पनि जान प्रेरित गरेका थिए। चिकित्सक नै घटनास्थल पुग्दा मृत्युको कारण तथा प्रकृति जस्ता विषय खुट्याउन सहज हुने हुन्छ।

श्रेष्ठको समन्वयमा प्रहरीसँग घटना स्थलमा हिँडेको डा. हरिहरले सुनाए। त्यो बेला मुचुल्का गर्दा डाक्टर नै गएको उनले अनुभव सुनाए। त्यो बेला कानूनी रूपमा भने घटना स्थलमा चिकित्सक जाने विषय नसमेटिए पनि निक्कै पहलपछि अहिले भने समेटिएको उनी बताउँछन्।

कानूनी चिकित्सा विषयको चिकित्सकको महत्त्व बुझेर घटनास्थलदेखि नै सही तरिकाले सत्य तथ्य निकाल्नका लागि दतारुकता देखाउने व्यक्तिकै शव परीक्षण गर्नुपर्दाको त्यो क्षण सम्झँदा अझै उनी झस्कन्छन्।

सेनाको शव जलाउँदा शवभित्रबाट बम पड्कियो
त्यसो त चिकित्साशास्त्र अध्ययन संस्थानको फरेन्सिक विभागमा काम गर्दा नै एकपटक त्रुटी भएको सम्झन्छन् डा. हरिहर। 

द्वन्द्वकालको समयको घटना हो। कालिकोटमा तत्कालीन माओवादीले तत्कालीन शाही सेनालाई आक्रमण गर्दा सेनाको मृत्यु भयो। त्यो घटनामा परेर मृत्यु भएका करिब ६०/७० जना सेनाको शव परीक्षणका लागि संस्थानको फरेन्सिक विभागमा पुर्‍याइयो।

एकै दिन २५ वटाभन्दा बढी शवको परीक्षण गर्नुपर्ने भयो। जनशक्ति कम थियो। त्यसैले उनका जुनियर चिकित्सकले पनि शव परीक्षण गरेका थिए। अर्कातर्फ घटना थाहा भएकाले बम, गोली लागेको देखिएपछि शवलाई खोलेर हेर्न आवश्यक ठानिएन। परीक्षणपछि मृतक सेनाको शव जलाउन आर्यघाट लगियो। तर, जलिरहेको सेनाको एउटा शवमा बम पड्किएछ। ती सेनाको शरीरभित्र बम रहेछ।

जलिरहेको सेनाको शवमा बम पड्किएको त्यो घटना सुनेपछि भने डा. हरिहरलाई साह्रै ग्लानी भयो। परीक्षण उपकरण असुविधा र जनशक्तिको अभावका कारण त्यो त्रुटी भएको उनले सुनाए।

मुर्दा चिर्ने डाक्टर मात्रै हैनन् कानूनी चिकित्सक
कयौं व्यक्तिले सामान्य रूपमा कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन) विषयका चिकित्सकलाई मुर्दा चिर्ने डाक्टर भनेर चिन्ने गरेको डा. हरिहरले सुनाए। केही हदसम्म यो भनाइ सत्य भए पनि कानूनी चिकित्सा विशेषज्ञलाई मुर्दा चिर्ने डाक्टरका रूपमा चिन्नु आंशिक सत्य मात्रै भएको उनी बताउँछन्। 

शवको पहिचान गरेर आत्महत्या (सुसाइट) वा मारिएको (होमिसाइट) हो भन्ने विषय निर्क्योल गर्ने उनको विद्या हो। मृत्यु र मृत्युका कारणसँग सम्बन्धित गहिराई विषय पत्ता लगाउने ज्ञान तथा सीप छ डा. हरिहरसँग। 

मृत शरीरको स्वास्थ्य परीक्षण त उनले गर्ने नै भए। मृत शरीरको परीक्षण गर्ने मात्रै कानूनी चिकित्सामा पर्दैन। यो भन्दा धेरै जीवित व्यक्तिका विषय पनि कानूनी चिकित्साभित्र पर्ने उनले सुनाए।

यौन अपराध, हिंसा तथा बलात्कार, कुटपिट, गर्भपतनजस्ता घटनामा व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। यौन अपराध गरेको हो/हैन, कसले गरेको हो भन्ने विषय स्वास्थ्य परीक्षण गरी पत्तालगाउने ज्ञान तथा सीप छ उनीसँग। 

त्यसैगरी कुटपिट भएको भए के-कस्ता प्रकृतिका चोट पटक छन् निर्क्याेल गर्नुपर्ने हुन्छ।

त्यसैगरी गर्भपतन गरेको हो/हैन, गर्भपतन गरेको भए कुन समयमा गरेको हो, कानुन सम्मत थियो की थिएन जस्ता विषयको स्वास्थ्य परीक्षण गरी निर्क्योल गर्नुपर्ने हुन्छ। जुन काम डा. हरिहरको विद्यामा पर्छ।

त्यसैगरी हिरासतमा राखेको व्यक्तिलाई प्रहरी तथा राज्यका सुरक्षा अधिकारीले कुटपिट जस्ता शारीरिक तथा मानसिक यातना दिएको थियो की थिएन भन्ने एकिन थाहा पाउन स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। यस किसिमको स्वास्थ्य परीक्षणलाई ‘यातना पीडित भनिएको परीक्षण/टर्चर भिक्टिम इक्जामिनेशन’ भनिने उनले सुनाए।

डा. हरिहरसँग ६ सय भन्दा बढी यातना पीडित भनिएका व्यक्तिको स्वास्थ्य परीक्षण गरेको अनुभव छ। कतिपय अवस्थामा व्यक्तिको वास्तविक उमेर पत्ता लगाउनुपर्ने हुन्छ । कानूनी रूपमा व्यक्तिको उमेरको आधारमा समेत सजाय निर्धारण गरिएको हुन्छ। त्यसैले वास्तविक उमेर पत्ता लगाउनका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ।

यस्ता विषयको स्वास्थ्य परीक्षण गरी कानूनलाई आवश्यक चिकित्सासँग सम्बन्धित विषयको रिपोर्ट दिनु नै कानूनी चिकित्सा विद्याका चिकित्सकको काम भएको उनले सुनाए। जुन विद्यामा चिकित्सकले कानूनलाई आवश्यक प्रमाण चिकित्सकीय परीक्षण गरी उपलब्ध गराउन सक्छ। चिकित्साशास्त्रसँग जोडिने प्रमाण जति हुन्छन् ति सबै समेट्ने विषय कानूनी चिकित्सा हो। जसको विज्ञ हुन् डा.हरिहर।

वीर अस्पतालमा शवको त्यो बेहाल अवस्था देखेपछि....
नेपाल सरकारको जागिरेका रूपमा आफू पहिलो कानूनी चिकित्सक (फरेन्सिक मेडिसिन चिकित्सक) भएको डा. हरिहरले सुनाए। नेपाल सरकारले यो विषयलाई उचित सम्बोधन नगरेकाले नै आफू चिकित्सा शास्त्र अध्ययन संस्थानको फरेन्सिक विभागमा २० वर्ष काजमा गएर काम गर्नु परेको डा. हरिहरले सुनाए। 

धनकुटामा जन्मिएका डा. हरिहरले हेल्थ असिस्टेण्ट (एचए)का रूपमा १९८१ मा तेहथुमको फाक्चामारा स्वास्थ्य चौकीबाट सरकारी जागिर सुरू गरे। उनले युक्रेनबाट सन् १९९० मा एमडी अध्ययन गरे। 

त्यसपछि उनले सन् १९९० देखि करिब दुई वर्ष मेडिकल अधिकृत चिकित्सकको रूपमा शंखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा पोष्टिड भएर काम गरे। खाँदबारीमा काम गर्दागर्दै उनलाई कालिकोट सरुवा गरियो। तर, उनलाई कालिकोट जान मन लागेन। त्यसपछि झ्वाँक चलेर राजिनामा गर्न भनेर उनी काठमाडौं आए।

तर, स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिवले राजीनामा नगर्न सुझाव दिए। त्यसपछि हरिहरलाई ती अतिरिक्त सचिवले केन्द्रीय कारागार अस्पतालमा सरुवा गरेछन्। जहाँ सिनियर चिकित्सक पनि थिए।

मेडिकल अधिकृतका रूपमा त्यहाँ डा. हरिहरले कैदी बन्दीको स्वास्थ्य परीक्षण तथा उपचारको काम सुरु गरे। कारागारका चिकित्सकले वीर अस्पतालमा शवको स्वास्थ्य परीक्षण गर्नुपर्‍थ्याे। कारागार अस्पतालको युनिट नै वीर अस्पतालमा थियो। 

जो कोही चिकित्सकले शवको स्वास्थ्य परीक्षण गर्न खासै मन पराउँदैनथे। त्यसैले जुनियर भएका कारण डा. हरिहरलाई वीर अस्पतालमा शवको स्वास्थ्य परीक्षण गर्ने काम तोकियो। वीर अस्पतालमा अटोप्सी गर्ने कोठाको ताला नै केन्द्रीय कारागार अस्पतालका कर्मचारीसँग हुन्थ्यो रे। 

त्यसो त शंखुवासभाको खाँदबारीमा करिब दुई वर्ष बस्दा ५/७ वटा अप्राकृतिक मृत्यु भएका व्यक्तिको शवको परीक्षण गरेका थिए उनले। तर, त्यो बेला वीर अस्पतालमा त दैनिक औसत ३/४ वटा शवको परीक्षण गर्नुपरेको अनुभव सुनाए डा. हरिहरले।

त्यो बेला वीर अस्पतालमा शवको परीक्षणसम्बन्धी व्यवस्थापनको बेहाल अवस्था थियो। शव राख्ने व्यवस्थित पूर्वाधार तथा उपकरण नहुँदा शव गन्हाउँथे। त्यसैले कसरी सुधार गर्न सकिन्छ भनेर सोच्न थाले उनी। त्यसपछि नै उनले कानूनी चिकित्सा विषय अध्ययन गर्ने निर्णय लिए। 

वीर अस्पतालमा शव परीक्षणको कामपछि डा. हरिहरले श्रीलंकाको कोलोम्बोस्थित कोलोम्बो विश्वविद्यालय पुगेर स्नातकोत्तर तहको ‘फरेन्सिक मेडिसिन’ विषय अध्ययन गरे। तीन वर्षे सो अध्ययन गरेर उनी सन् १९९८ मा नेपाल फर्के। त्यो बेला नेपालमा फरेन्सिक मेडिसिनको अध्ययन हुँदैनथ्यो।

फरेन्सिक मेडिसिन अध्ययन गरेपछि डा. हरिहरलाई लाग्यो, ‘वीर अस्पतालमा जुन अवस्थामा शव परीक्षणको काम गरेको थिएँ, त्यो त अनैतिक तथा अमानवीय रूपमा पो गरेको रहेछु।’ 

तर, त्यो बेला फरेन्सिक मेडिसिन विषयको अध्ययन नगरे पनि शव परीक्षण गर्नु उनको बाध्यता थियो। किनकी त्यो विषय अध्ययन गरेका सरकारी चिकित्सक नै थिएनन्।

२० वर्ष अघिको त्यो निर्णयले आजसम्म शव परीक्षण 
२०५६ सालतिरको प्रसङ्ग हो। फरेन्सिक मेडिसिन विषयको अध्ययन गरेर फर्केपछि सरकारसँग व्यवस्थित शव परीक्षणको वातावरणका लागि डा. हरिहरले पहल गरे। तर, द्वन्द्वकालमा बजेटलगायतको अभावका कारण सरकारबाट छुट्टै शव परीक्षणको व्यवस्थापन गर्न सम्भव नहुने जवाफ उनले पाए।

त्यो बेला नै चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत फरेन्सिक मेडिसिन विभाग थियो। जुन विभागमा एमबीबीएस लगायतका कोर्समा यो विषयको अध्ययन हुन्थ्यो। तर, शव परीक्षणको काम भने हुँदैनथ्यो। जहाँ शव राख्ने फ्रिज लगायतका उपकरण तथा केही पूर्वाधार भने थिए। 

त्यसैले तत्काललाई काम चलाउने गरी मन्त्रिपरिषद्ले २०५६ चैतमा निर्णय गरेर डा. हरिहरलगायत केही स्वास्थ्यकर्मीलाई सो फरेन्सिक मेडिसिन विभागमा काम गर्न काजमा पठायो। त्यसपछि नै त्यहाँ अध्यापन गराइरहेका चिकित्सकहरूसँग मिलेर २०५७ भदौमा अटोप्सीको काम सुरु गरेको डा. हरिहर सम्झन्छन्।

आजसम्म मन्त्रिपरिषद्को त्यही निर्णयबाट नै संस्थानको फरेन्सिक विभागमा अटोप्सी लगायतको काम भइरहेको उनले सुनाए। त्यसो त चिकित्सा शास्त्र अध्ययन संस्थानमा २०६२/०६३ तिर एमडी तहको कानूनी चिकित्सा विषयको अध्यापन समेत सुरु गर्न सकेको उनको अनुभव छ।

त्यो बेला सो फरेन्सिक विभागमा दैनिक २/३ वटा शव परीक्षण हुन्थे रे। तर, अहिले भने दैनिक ७/८ वटा शव परीक्षण हुने गरेको डा. हरिहरले सुनाए। २० वर्ष भन्दा बढी त्यही फरेन्सिक विभागमा काजमा काम गरे उनले। फरेन्सिक विभागमा काजमा नै रहेको समयमा २०७७ मा उनले उमेर हदका कारण अनिवार्य अवकास पाए। 

तर, उनी सरकारी जागिरमा प्रवेश गरेको २५ वर्षपछि मात्रै फरेन्सिक मेडिसिन चिकित्सकको नवौं तहमा बढुवाका लागि लोकसेवा परीक्षा खुल्यो। उनले परीक्षा दिए र बढुवा भए। नवौं तहमा बढुवा भएको केही समयमा एघारौं तहमा बढुवाका लागि लोकसेवा परीक्षा भयो।

डा. हरिहर पनि खुला परीक्षामार्फत एघारौं तहमा बढुवा भए। तर, एघारौं तहमा बढुवा भएको केही समयमा नै अनिवार्य उमेर हदका कारण उनले अवकास पाए। २५ वर्षसम्म बढुवा हुने अवसर नपाउँदा आफू पीडित भएको महसुस हुन्छ उनलाई। उनले सन् २००१ मा त्रिभूवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तहको समेत अध्ययन गरेका छन्।

नेपालमा हाल कानूनी चिकित्सा समाज (मेडिको लिगल सोसाइटी) नेपालमा आवद्ध भएका चिकित्सकको संख्यालाई आधार मान्दा नेपालमा करिब ६६ जना फरेन्सिक मेडिसिक चिकित्सक सदस्य रहेको उनले सुनाए।

२०७६ बाट नेपाल मेडिकल काउन्सिलको व्यावसायिक आचरण तथा चिकित्सा समितिको संयोजकको रूपमा उनले काम गरे। तर, काउन्सिलको सो समितिले गर्नुपर्ने कामप्रति चित्त नबुझेपछि गुनासो राख्दै आफूले राजीनामा दिएको उनी सुनाउँछन्।

कानूनी चिकित्सा क्षेत्रको सोचे अनुरुप सुधार हुन नसकेको उनलाई महसुस हुन्छ। निर्दोष कारागार बस्नुपर्ने र दोषी उम्किन सक्ने सम्भावनाको अन्त्यका लागि हरेक अस्पतालमा कानूनी चिकित्सक आवश्यक रहेको उनी बताउँछन्।

‘फरेन्सिक मेडिसिन विषयलाई राज्यले उचित सम्बाेधन गर्न सकेको छैन,’ उनी भन्छन्, ‘त्यसैले जनरल चिकित्सक तथा अन्य विधाका चिकित्सकले फरेन्सिक चिकित्सकको रूपमा काम गर्नुपरेको हो।’

कानूनी चिकित्सा विशेषज्ञको काम अति संवेदनशील भएकाले अति शूक्ष्म तरिकाले अटोप्सी लगायतका काम गर्नुपर्ने उनको अनुभूति छ। यो विषयको चिकित्सकमा ज्ञान र सीप दुवै रूपमा दक्ष हुनुपर्छ।

तर, राज्यले अटोप्सी गर्ने ज्ञान तथा सीप नभएका चिकित्सकलाई सामान्य पूर्वाधारसमेत नदिई जबरजस्ती कानूनी चिकित्सकको रूपमा काम गर्न लगाएर अपराध गरिरहेको डा. हरिहरको तर्क छ।

उनले भने, ‘मेडिकल अधिकृतलाई कानूनी चिकित्सकले गर्नुपर्ने कामको जिम्मा दिनु अपराध जस्तै हो।’

मेडिकल अधिकृत हुँदाको समयमा आफूले पनि बाध्यताबस् वीर अस्पतालमा करिब तीन हजार अटोप्सी गर्नु नै त्रुटी भन्न रूचाउँछन् उनी। किनकी त्यो बेला उनले अटोप्सीको विषयमा कुनै विशेष तालिम लिएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्, घरमै फर्केर छोरी पाँए

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....