चीनमा भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्रीलाई निलम्बित मृत्युदण्डको सजाय

चीनमा भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्रीलाई निलम्बित मृत्युदण्डको सजाय

एजेन्सीः भ्रष्टाचारमा दोषी ठहर भएका चीनका पूर्व न्यायमन्त्री फू झेंगहुआलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको छ।

गत जुलाईमा ११६ मिलियन युआन घुस लिएको आरोपमा दोषी ठहर भएसँगै उनलाई निलम्बित मृत्युदण्ड दिन लागिएको हो। चिनियाँ मिडियाका अनुसार उनलाई दिन लागिएको निलम्बित मृत्युदण्डको सजाय दुई वर्षमा आजीवन काराबासमा बदलिनेछ।

फू झेंगहुआ २०१८ देखि २०२० सम्म चीनको न्यायमन्त्री थिए। उनले चीनको प्रहरीदेखि सार्वजनिक सुरक्षा मन्त्रालयको उपप्रमुखको पदसमेत सम्हालेका थिए।

यसैसाता तीन पूर्वप्रहरी प्रमुखलाई सजाय सुनाएपछि फूलाई जेल पठाइएको हो। चार जनामाथि भ्रष्टाचारको मात्र नभएर चीनका राष्ट्रपति सी जिनपिङप्रति बफादार नभएको आरोपसमेत छ।

फू झेंगहुआले कयौं भ्रष्ट नेताहरूविरुद्धको छानबिनको नेतृत्त्वसमेत गरेका थिए। गतवर्ष अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लंघनको आरोपमा अनुसन्धान गरेको थियो।

फूलाई सोही समयमा बर्खास्त गरिएको थियो भने यो वर्षमा मार्च महिनामा पार्टीबाट समेत निष्कासित गरिएको थियो। त्यसको एक महिनापछि उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो।

आगामी महिना चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रमुख बैठक हुँदैछ। बैठक अघि नै अधिकारीहरूमाथि कारबाही गर्दै दोषी ठहर गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएका छ।

चीनको सत्ताधारी पार्टीले हरेक पाँच वर्षमा यो बैठकको आयोजना गर्छ। यसमा राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालको जिम्मेवारी दिने तयारी छ।

६ असोज, २०७९, २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।