काठमाडौं: स्नातक तहमा काठमाडौं विश्वविद्यालयले चार वर्षे योग सम्बन्धी विषयको पठनपाठन सुरु गरेको छ। ‘स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिकल साइन्सेज’ले संयुक्तरूपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो।
उकेरा शिक्षा
उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कुल अफ आर्टस्ले गरेको विश्वविद्यालयले जनाएको छ।
अन्तर्राष्ट्रियरूपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरु गरेको जनाएको छ।
योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिकता, निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको विश्वविद्यालयले जनाएको छ।
अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकूल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर पाउने विश्वविद्यालयले जनाएको छ।
अरू विश्वविद्यालयको तुलनामा योगसँग सम्बन्धित व्यापक र गहन विषय समावेश गरी योगलाई अनुसन्धान र प्रविधियुक्त बनाउन लागिएकाले उच्च शिक्षामा गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताइएको छ।
२०७९ भदौ २८ गते १३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।