काठमाडाैंलाई पछ्याउँदै बुटवल उपमहानगर, तीन दिनभित्र फुटपाथ खाली गर्न आग्रह

काठमाडाैंलाई पछ्याउँदै बुटवल उपमहानगर,  तीन दिनभित्र फुटपाथ खाली गर्न आग्रह

बुटवलः बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रूपमा रहेका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरू हटाउन आग्रह गरेको छ।

उपमहानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र सडक तथा फुटपाथ खाली गर्न आग्रह गरेको हो।

सूचनामा भनिएको छ– ‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरू राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिनभित्र खाली गरिदिनुहुन अनुरोध छ।’

बुटवलकाे मुख्य बजार क्षेत्रका अधिकांश फुटपाथ ठेला तथा हाटबजार व्यवसायीले कब्जा गरेका छन्। फुटपाथ नै व्यापारीको कब्जामा भएपछि पैदलयात्रीले सडकबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। सडक र फुटपाथमै व्यवसाय गरिँदा पैदलयात्रुलाई सडक पार गर्न र हिँड्न सकस हुने गरेको छ।

बुटवलको हाटबजारलाईनमा कान्ति स्कुलअगाडि, टेलिकमअगाडि बाटो नै छेक्ने गरी हाटबजार सञ्चालन हुँदै आएको छ। दीपनगरमा पनि सडकमै हाटबजार लाग्दै आएको छ। देवीनगर, नयाँगाउँ, रानीगञ्जको अवस्था पनि उस्तै छ।

बुटवलको हाटबजारमा अन्य स्थानमाभन्दा बढी सेड छन् भने दीपनगर, देवीनगर, नयाँगाउँ, रानीगञ्ज लगायतमा सेडभन्दा बढी व्यवसायीहरूले फुटपाथ र सडकमै हाटबजार लगाउँदै आएका छन्। फुटपाथ र सडकमै हाटबजार लाग्दा दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरू बढी समस्यामा परेका छन्।

व्यवसायीहरूलाई पटक-पटक पुटपाथ छाडेर सेडभित्र आउन आग्रह भइरहेको हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबकादुर जिसीले बताए।

 

 

काठमाडाैं महानगरले पछिल्लाे एक महिनादेखि सडक र फुटपाथका रहेका सामग्री हटाउँदै नक्सापास विनाका संरचना हटाइरहेकाे छ। 

२४ भदौ, २०७९, २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।