विदुरविक्रमको शंकास्पद मृत्युमा जोडिए एमाले सचिव गोकर्ण विष्ट, आरोपी जोगाउन अनुसन्धान गञ्जागोल बनाएको परिवारको आरोप

विदुरविक्रमको शंकास्पद मृत्युमा जोडिए एमाले सचिव गोकर्ण विष्ट, आरोपी जोगाउन अनुसन्धान गञ्जागोल बनाएको परिवारको आरोप

बुटवल: २०७८ साल जेठ २५ गते गुल्मी जिल्लाको ईस्मा गाउँपालिका वडा नं ५ खादिपाटामा क्यारमबोर्ड खेल्न भन्दै घरबाट हिँडेका विदुरविक्रम कुँवर राति अबेरसम्म घर फर्किएनन्। बेलुका ८ बजेसम्म पनि घर नआएपछि परिवारले खोजी गर्यो। 

विदुरका बुवा धनबहादुर कुँवरले सुरुमा केशव कुँवरलाई फोन गरे। केशवले ‘साँझसम्म अंकल यहीँ हुनुहुन्थ्यो, म प्रकाशलाई सोध्छु’ भनेर फोन राखे।

विदुरले केशवकै घरमा साथीहरूसँग बसेर मासु पकाएर खाएका थिए। प्रकाश अर्यालसँग सम्पर्क गर्दा उनी त्यहाँबाट ९ बजे घर जान भनी हिँडेको थाहा भयो। सँगै रहेका साथी टीकाराम अर्यालले पनि घर जान भनी हिँडेकाले घर, गोठतिर खोज्न भने।*

विदुरका बुवाले आफन्त, इष्टमित्र सबैलाई फोन गरे। विदुरको अत्तोपत्तो लागेन।

बुवा धनबहादुरका अनुसार त्यही राति घरमाथि थुप्रै बाइकहरू कुदेका थिए। यो दृश्य मुना कार्कीले देखेर धनबहादुरलाई भनेकी पनि थिइन्। तर धनबहादुरले जाँडरक्सी खाएकाहरू होलान् भनेर वास्ता गरेनन्। त्यो रात त्यसै बित्यो।

भोलिपल्ट विदुरकी आमा तारादेवी कुँवर ढोकामुखा गइन्। त्यहाँ सोध्दा चाउमिन खाएर विदुर घर गएको पत्ता लाग्यो। अनि घर पुगेर उनी
क्यारमबोर्ड खेल्न खादिपाटा गएका थिए।

शव हेर्दा विदुरको पछाडिको भागमा थिचेको देखिएको, घटनास्थल हेर्दा आफैँ लडेर मृत्यु हुने अवस्था नरहेको र पूरा सेटिङमै छोराको हत्या गरेर त्यहाँ ल्याएर फालिएको धनबहादुरको आरोप छ।

त्यसपछि तारादेवी खादिपाटा गइन्। त्यहाँ विदुरका साथीहरू सबै थिए। उनले विदुरलाई खोज्न जाऔँ भनिन्। उनीहरुले चासो दिएनन्।

विदुर हराएको खबर फैलियो। ईस्मा मैदान प्रहरी चौकीबाट सई मोहनलाल अधिकारी त्यहाँ आए। ‘सई अधिकारी त्यहाँ आउनासाथ हामीलाई नभेटी केटाहरूलाई भेट्यो र एक किलोमिटरभित्र भेटिनसक्छ भन्यो। अनि उनीहरूले मलाई घर पठाए’, विदुरका बुवाले भने।

उनी घर पुग्नासाथ भीरमा विदुरको शव भेटिएको कुरा पुग्यो। विदुरको शव जेठ २६ गते साँझ ईस्मा गाउँपालिका वडा नं. ५ शिवे भीरको झाङमा भेटियो। 

शव भेटिएपछि परिवारका सदस्यलाई समेत जान नदिई भीरबाट शव निकाल्ने र मुचुल्का गर्ने काम भएको धनबहादुर बताउँछन्। ‘म त्यहाँ पुग्दा मुचुल्का उठाइसकेका थिए। रगतको छिटो पनि त्यहाँ देखिएको थिएन। चप्पल एउटा मात्र भेटिएको थियो। निधारका आँखा नजिकै ३ वटा साना चोट थिए’, उनले भने।

पछि शव हेर्दा विदुरको पछाडिको भागमा थिचेको देखिएको, घटनास्थल हेर्दा आफैँ लडेर मृत्यु हुने अवस्था नरहेको र पूरा सेटिङमै छोराको हत्या गरेर त्यहाँ ल्याएर फालिएको धनबहादुरको आरोप छ।

उनी शवको पोष्टमोर्टमदेखि शवलाई जलाउँदासम्म नै सेटिङ गरिएको दावी गर्छन्। 

‘शव भेटिएपछि ज्ञानबहादुर विष्ट, प्रकाशको दौडधूप चल्यो, अरू कोही आएनन्। तम्घास शव लिएर जानुअघि पनि तत्कालीन ईस्मा गाउँपालिका वडा नं. ५ का वडा सदस्य नारायण पैयानीले जिल्ला अस्पतालमा फोन गरेका रहेछन्। सबै सेटिङ गरिएको कुरा हामी शोकमा हुँदा बुझ्न सकिएन’, धनबहादुरले भने।

पैसा तिर्न जाँदा १८ हजार लिएर गएका विदुरले आठ हजार मात्र त्यहाँ बुझाएको धनबहादुरको दावी छ। बाँकी १० हजार विदुरसँगै थियो। तर, शव भेटिने बेला उनीसँग नौ सय रुपैयाँ मात्र भएको देखियो।

शव छोरीहरूलाई समेत नदेखाई पोष्टमोर्टमा लागि पठाइएको उनको भनाइ छ।

जब प्रहरीले बोली फेर्यो
६ दिनसम्म प्रहरीले घटनामाथि अनुसन्धान भइरहेके बताए पनि सातौँ दिनमा प्रहरीले कुरा फेरेको आरोप धनबहादुरको छ। 

परिवारका सदस्यले घटनाबारे आफूले थाहा पाएका कुरा प्रहरीलाई जानकारी गराउँदा ‘रे रे का कुरा नगर्नुस्’ भनेको उनी बताउँछन्।

धनबहादुरका अनुसार त्यसपछि तत्कालीन जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले घटनालाई वास्तै गरेनन्। तम्घास आउन जान नपर्ने, आउनु परे आफूलाई खबर गरेर मात्र आउनु भनि महेश्वरले भनेको उनी बताउँछन्।

‘अनुसन्धानबारे बुझ्न म पछि तम्घास आएँ। त्यहाँ आउँदा मलाई जानकारी नदिई किन आउनुभएको भनेर प्रहरी निरीक्षक उपाध्यायले कराए’, उनले भने।

०००
ईस्मा दोहोलीमा कुखुराका चल्लाको पैसा तिर्न गएका विदुर त्यहाँ पैसा तिरेर घर आएका थिए। एक डोको मल बारीमा पुर्याएर क्यारमबोर्ड खेल्न भन्दै उनी घरबाट हिँडेका थिए।

तर पैसा तिर्न जाँदा १८ हजार लिएर गएका विदुरले आठ हजार मात्र त्यहाँ बुझाएको धनबहादुरको दावी छ। बाँकी १० हजार विदुरसँगै थियो। तर, शव भेटिने बेला उनीसँग नौ सय रुपैयाँ मात्र भएको देखियो।

‘दोहोलीमा कुखुराका चल्लाको पैसा तिर्न १८ हजार लिएर घरबाट गएको थियो। त्यहाँ सुरुमा तीन हजार दिएछ। लगत्तै पाँच हजार गरी आठ हजार दिएछ। १० हजार साथमा थियो। तर शव भेटिने बेलामा नौ सय मात्र माथि  छरिएको अवस्थामा थियो। अरू पैसाबारे केही कुरै आएन। एउटा चप्पल भेटिँदा अर्को चप्पल कहाँ छ भन्नेबारे पनि अनुसन्धान भएन’, उनले भने।

छोरा गुमाए पनि न्याय पाइन्छ कि भनेर जिल्ला प्रहरी कार्यालय पुगेका धनबहादुरलाई त्यहाँ पनि एसपी गोपालचन्द्र भट्टराईका कुराले खिन्न बनायो।

‘छोराको मृत्यु भएपछि एक पटक गोकर्णले फोन गरेर समवेदना दिएका थिए। तर पछि उनैले केटाहरूलाई उम्काउन भूमिका खेले। यसमा प्रहरीलाई समेत प्रभाव पारे’

एसपी भट्टराईले मदिरा सेवन गरेर हिँडेको हुनसक्ने र धकलेर लडेको हुनसक्ने भन्दै गैरजिम्मेवार जवाफ दिएको धनबहादुर बताउँछन्। 

विदुरले कहिल्यै पनि जाँडरक्सी नखाने र समाजमा पनि झैझगडा अहिलेसम्म नगरेको धनबहादुरको भनाइ छ।

पोष्टमोर्टममा समेत मादक पदार्थ सेवन नगरेको रिपोर्ट आएको थियो। रिपोर्टमा मृत्युको कारण फियोमा रगत जमेकाले भएको उल्लेख छ।

'प्रहरी प्रभावमा पर्दा न्याय पाइएन'
विदुरको मृत्यु भएको एक वर्ष पूरा हुँदा समेत धनबहादुरको परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन। धनबहादुरका अनुसार यो घटनामा राजनीतिक प्रभाव परेको छ। 

एमाले सचिव गोकर्ण विष्टको निर्देशनमा प्रहरीले अनुसन्धानलाई गञ्जागोल बनाएको उनले आरोप लगाए।

‘छोराको मृत्यु भएपछि एक पटक गोकर्णले फोन गरेर समवेदना दिएका थिए। तर पछि उनैले केटाहरूलाई उम्काउन भूमिका खेले। यसमा प्रहरीलाई समेत प्रभाव पारे’, उनले भने।

यसबारेमा विष्टसँगै बुझ्न उकेराले पटक-पटक सम्पर्कको प्रयास गर्यो। तर उनी सम्पर्कमा आउन चाहेनन्।

यता प्रहरीले राजनीतिक प्रभावमा अनुसन्धान गरिनुपर्ने व्यक्तिलाई विदेश जान अनुमति दिएको समेत धनबहादुरको आरोप छ। क्यारमबोर्ड खेल्न जाँदा भेट भएका केशव कुँवर अहिले विदेश गएका छन्। 

‘अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई विदेश जान दिइएको छ। मैले न्यायका लागि कहाँ अपिल गरूँ, उनले भावुक हुँदै भने।

‘यदि प्रमाण भेटिएर दोषी पत्ता लाग्यो भने उनलाई नेपाल झिकाएर कानूनी दायरमा ल्याइनेछ। दोष कतै देखिँदैन। गरिखाने मान्छेलाई गाउँ नै नछाड भन्ने कुरा हुँदैन’

ज्ञानबहादुर विष्टको योजनामा घटना भएको उनको दावी छ।

अनुसन्धान जारी छ–प्रहरी
जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीमबहादुर दाहालले आफू नआउँदै भएको यो घटनाबारे अहिले पनि अनुसन्धान जारी रहेको बताए। 

घटना विवरण बुझ्दा विदुरको मृत्यु यही कारणले हो भन्न नसकिएको भन्दै विभिन्न चरणमा सँगै रहेका भनिएका साथीहरू माथी सोधपुछ भइरहेको उनको भनाइ छ।

‘कुनै पनि ठोस प्रमाण जुटेको छैन। यसैले घटना घटाएको हो भन्ने आधार पनि देखिँदैन। अनुसन्धान लम्बिन सक्छ। समय लाग्न सक्छ। तर घटनाबारे यथार्थ बाहिर पक्कै आउनेछ’, उनले भने।

उनले अनुसन्धानमा हुनुपर्ने व्यक्ति विदेश गएको सन्दर्भमा कुनै पनि प्रमाण नभेटिएकाले विदेश जान दिइएको बताए। 

‘यदि प्रमाण भेटिएर दोषी पत्ता लाग्यो भने उनलाई नेपाल झिकाएर कानूनी दायरमा ल्याइनेछ। दोष कतै देखिँदैन। गरिखाने मान्छेलाई गाउँ नै नछाड भन्ने कुरा हुँदैन’, उनले भने।

* असान्दर्भिकरूपमा केही व्यक्तिको नाम उल्लेख भएकाले हटाइएको

२१ भदौ, २०७९, ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।