विकासको 'रोलमोडल' रुपन्देही, गरे के हुन्न १५ वर्षमा ?

विकासको 'रोलमोडल' रुपन्देही, गरे के हुन्न १५ वर्षमा ?

बुटवल: रुपन्देही क्षेत्र नं. २ का सांसद एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकास अरूका लागि सिकाइको थलो बनेको बताउँदै आएका छन्। उनले रुपन्देहीको विकास हेर्न सबैलाई सार्वजनिक आह्वान समेत गर्दै आएका छन्। 

गत ११ भदौमा बुटवलमा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन कार्यक्रममा पनि उनले ‘रुपन्देहीका जनप्रतिनिधि विकासको गफ होइन, काम गर्छन्’ भन्ने अभिव्यक्ति दिए।

तर के पौडेलले भनेजस्तै छ त रुपन्देही? यसको जवाफ खोज्न उकेराकर्मीले पछिल्लो १५ वर्षयताका रुपन्देहीका विकासका आयोजनाको अवस्था सोधखोज गर्यो।

पुल पूर्वाधारमा फड्को
१५ वर्षअघि साविक मोतिपुर, सेमलारबाट बुटवल पुग्न महेन्द्र राजमार्गको तिनाउ पुल तर्नुको विकल्प थिएन। त्यसैकारण मोतिपुर, समेलारलाई धेरैले बुटवलको ‘बत्तीमुनिको अध्यारो’ भन्थे।

रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि पहिलेको तुलनामा पूर्वाधार विकासले गति लिएको छ। रोहिणी, घोडाहा खोलामा बनेका पुलले गर्दा बुटवल र भैरहवाबीचको दूरी छोटिएको छ। 

फर्साटिकरबाट बुटवल आउन पनि पुल थिएन। तामनगर हुँदै आउँदा पनि बीचमा दानव नदी वर्षायाममा तगारो बन्थ्यो। 

सैनामैनाका स्थानीय सेमलार आउन तामनगर हुँदै आउनुपर्थ्यो। त्यहाँ पनि दानव नदी तगारो बन्थ्यो। मणिग्राम, ठुटिपिपल आउन पनि पश्चिमबाट तिनाउ पुलको विकल्प थिएन।

तर अहिले मोतिपुर, सेमलारका स्थानीयहरू बुटवल आउन तिनाउ पुललाई ‘वैकल्पिक’ ठान्छन्। किनकी सेमलार, मोतिपुरबाट बुटवल जोड्न तिनाउ र दानव नदीमा दर्जन बढी पुल बनेका छन्।

बुटवलकै बुद्धनगर पुग्न पनि त्यसबेला घुमेर जानुपर्ने अवस्था थियो। ‘तिनाउ बेला बेला उर्लिन्थ्यो। त्यो बेला महेन्द्र राजमार्गमा भएको पुल प्रयोग गरेर यहाँ आउन समय लाग्थ्यो। तर अहिले पुल बनेपछि बुटवल र यहाँ केही फरक छैन’, बुद्धनगरमा २० वर्षदेखि बस्दै आएका अर्जुन बुढाले भने।

रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि पहिलेको तुलनामा पूर्वाधार विकासले गति लिएको छ। रोहिणी, घोडाहा खोलामा बनेका पुलले गर्दा बुटवल र भैरहवाबीचको दूरी छोटिएको छ। 

बेलबास–बेथरी सडक पनि निर्माणको क्रममा छ। बीचमा नहर र त्यहीँ बोटिङ गर्ने योजनाअनुसार निर्माण भइरहेको सडकले जल पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सडक डिभिजन कार्यालय बुटवलका अनुसार पछिल्लो १५ वर्षमा तिनाउ, दानव, रोहिणीमा मात्र २० भन्दा बढी पुल बनेका छन्। यी पुल बनेपछि त्यहाँका नागरिकको दैनिकी फेरिएको छ। 

अहिले मानपकडी, फर्साटिकर, छपियाका किसानहरू बिहानै बुटवल आएर ताजा तरकारी बिक्री गर्नसक्ने भएका छन्। पुल र सडक सञ्जालको विस्तारसँगै घरेलु र ठूला उद्योगहरु समेत त्यस क्षेत्रमा थपिन थालेका छन्।

सुविधायुक्त सडक

पुल पूर्वाधारमा फड्को मारेको रुपन्देहीले सडक पूर्वाधारमा पनि छलाङ मारेको छ। बुटवल–बेलहिया ६ लेन सडक नमूना बनेको छ। फराकिलो सडक, किनारमा ग्रीनरी र बीचको डिइभाइडरमा बत्ती र बुद्धका प्रतिमाले ६ लेनको यो सडक नमूना बनेको हो।

‘पहिले सौर्य बत्ती बेलहिया व्यापारिक आयोजनाले राखेको थियो। हामीले सौर्य बत्तीभन्दा विद्युतीय बत्तीको प्रयोग गरेमा आर्कषक र टिकाउ हुन्छ भनेर पहिलो पटक बत्ती जडान गर्ने निर्णय गरेका थियौँ। त्यससँगै ग्रिनरी अभियान पनि हामी आएपछि चलायौँ। अहिले साँच्चै ६ लेनको सडक मनमोहक देखिन्छ’, तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेले भने। 

तिलोत्तमालाई 'क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा' बनाउने अभियानले नै बुटवलको ६ लेनको सडकलाई सुन्दर बनाउन काम गरेको उनको भनाइ छ।

यहाँ सडक फराकिला मात्र छैनन्। चोक चोकमा आकाशे पुल पनि छन्। उपत्यकाबाहिर पहिलो ट्राफिक लाइट पनि बुटवल–बेलहिया व्यापारिक सडकअन्तर्गत तिलोत्तमामै जडान भएको छ।

बेलबास–बेथरी सडक पनि निर्माणको क्रममा छ। बीचमा नहर र त्यहीँ बोटिङ गर्ने योजनाअनुसार निर्माण भइरहेको सडकले जल पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कृषि र जल पर्यटन लक्षित योजना रुपन्देहीमा विकास भइरहेका छन्। बुटवलमा दुई वटा केवलकारको निर्माण भइरहेको छ।

६ लेन सडकमा एसी बस चल्न थालेका छने भने विद्युतीय बसको समेत परीक्षण भएको छ। 

त्यस बाहेक लुम्बिनी-भैरहवा हुँदै परासीको हुलाकी सडक खण्डले बेलहिया हुँदै आउने स्थलमार्गका पर्यटकलाई लुम्बिनीसम्म छिटो पुर्याउन सहज भएको छ। 

उद्योगीका लागि सेज, भैरहवा नाका लगायतका क्षेत्रले सहज बनाएको छ।

हवाई यातायात र पर्यटनमा पनि प्रगति 
हवाई यातायातमा पनि रुपन्देहीले प्रगति गरेको छ। झण्डै ८ वर्ष लगाएर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान सुरु भएका छन्।

निजी वायुसेवा कम्पनीले अन्य प्रदेश जोड्ने गरी आन्तरिक हवाई सेवा पनि विस्तार गरिरहेका छन्।

पूर्वाधार विकासमा प्रगतिसँगै जिल्लामा पर्यटन गतिविधि पनि बढ्न थालेको छ। तीनै तहका सरकारले पर्यटनमा लगानी बढाइरहेका छन्।बुद्ध जन्मस्थल लुम्बिनी मात्र नभई अहिले पर्यटकका लागि नयाँ नयाँ गन्तव्यको विकास हुँदैछ। कृषि र जल पर्यटन लक्षित योजना रुपन्देहीमा विकास भइरहेका छन्। बुटवलमा दुई वटा केवलकारको निर्माण भइरहेको छ।

‘विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ। अझै यसमा सरकारले पर्यटकीय क्षेत्रको विस्तार गर्नुपर्छ। त्यसो भएमा लुम्बिनीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ’, होटल तथा रेष्टुराँ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले भने।

उनले पर्यटक लक्षित गर्दै रुपन्देहीमा व्यापारीले होटल पर्यटनमा पनि लगानी बढाउँदै लगेको बताए। ‘विमानस्थल सञ्चालनमा आयो, सम्मेलन केन्द्र सञ्चालनमा आयो, अब केवलकार बन्दैछन्। त्यस बाहेक होटल व्यवसायीहरूले समेत पर्यटकीय गतिविधि चलायमान बनाउन जल पर्यटनको अवधारणा अघि सारेका छन्। यस कारण होटलमा पनि लगानी बढेको छ’, उनले भने।

सियारी गाउँपालिकाले कृषि पर्यटनका योजना कार्यान्वयन गरिरहेको छ। पछिल्लो समय माछै–माछाको क्षेत्र भनेर चिनिने जिल्लाको छपिया क्षेत्र पनि मुख्य पर्यटकीय हब बनेको छ। 

यहाँका मत्स्य एवं पर्यटन व्यवसायी गौरव गौतम छपिया जिल्लाकै अग्रणी पर्यटकीय हब बनेको बताउँछन्। बुटवल उपमहानगरपालिकाले सेमलारमा मिनी फेवाताल बनाएको छ। 

त्यसबाहेक, हिलपार्क, फूलबारी र जीतगढी किल्लाको संरक्षण गरी पर्यटन प्रवर्द्धनका काम अघि बढाइएको छ। 

सुरु हुन लागेका योजना
कतिपय आयोजना भने सुरु हुने चरणमा छन्। बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माण यही वर्षदेखि हुँदैछ। दाउन्नेमा पनि सरकारले सुरुङ निर्माण यसै वर्ष गर्ने बताएको छ।

तिनाउ दानव करिडोरको निर्माणमा काम पनि अगाडि बढेको छ। बुटवल हुँदै दक्षिण बग्ने तिनाउ नदीको दायाँबायाँ दुवैतर्फ बन्ने सडक कोरिडोर अबको तीन वर्षभित्र सक्ने लक्ष्य छ।

गृहमन्त्री बालकृष्ण खाँणले सिद्धबाबा र दाउन्नेमा यही चालु आर्थिक वर्षमा सुरुङमार्ग निर्माणको काम सुरु हुने बताएका छन्। मृत्युमार्गको पहिचान बनाएको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनेसँगै रुपन्देहीको विकासमा थप इँटा थपिने छ। एघार सय मिटरको सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्गको यात्रा जोखिममुक्त हुनेछ। 

बाह्रै महिना पहिरो खसेर क्षति पुर्याउने सडकको विकल्पमा चरङ्गे बूढाबास हुँदै पाल्पाको झुम्सा जोड्ने वैकल्पिक मार्ग सम्पन्न हुने चरणमा छ।

त्यसबाहेक मोतिपुर औद्योगिक क्षेत्र निर्माण हुन बाँकी छ। बुटवलको औद्योगिक क्षेत्र साँघुरो भएपछि सरकारले मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो। 

अहिले केही विवादित भए पनि यसको समधानका लागि कार्यदल गठन भएको छ। गृहमन्त्री बालकृष्ण खाँण, एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरू यसको समधानका लागि विभिन्न छलफल र परामर्शमा छन्।

त्यस्तै कालिगण्डकी डाइभर्सन योजना पनि परिकल्पना गरिएको छ। कालिगण्डकीको पानी तिनाउ नदीमा मिसाउने महत्त्वकांक्षी योजना अघि बढेको छ। 

तिनाउ दानव करिडोरको निर्माणमा काम पनि अगाडि बढेको छ। बुटवल हुँदै दक्षिण बग्ने तिनाउ नदीको दायाँबायाँ दुवैतर्फ बन्ने सडक कोरिडोर अबको तीन वर्षभित्र सक्ने लक्ष्य छ।

तिलोत्तमामा अबको बढीमा पाँच वर्षपछि बुटवल मेडिकल कलेज बन्ने प्रक्रियामा छ। एक सय ११ वर्ष पुरानो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई १० अर्ब लागतमा अत्याधुनिक सेवासहितको अस्पताल बनाउने काम प्रदेश सरकारले अगाडि बढाएको छ। यद्यपि यो विवादित छ।

विकासको रोलमोडल, गरे के हुन्न?

स्वास्थ्य, उद्योग, शिक्षाको क्षेत्रमा पनि रुपन्देहीले अग्रणी विकास गरेको छ। १५ वर्षको अन्तरालमा रुपन्देहीमा ठूलो उद्योगहरू स्थापना भएका छन्। मुटु, आँखादेखि ठूला र जटिल प्रकारका अपरेशन गर्न सक्ने अस्पताल रुपन्देहीमा बनेका छन्। उच्च शिक्षाका लागि अधिकांश संकाय पढाउने शैक्षिक संस्थाहरू स्थापना भएका छन्। यहाँका शैक्षिक संस्थाहरूको नतिजा पनि देशकै उत्कृष्टमध्ये छ।

लगानीका सम्भावना बढ्दै जाँदा यस क्षेत्रमा हुने आर्थिक गतिविधिलाई  ध्यानमा राख्दै बैंकहरू समेत रुपन्देहीमा केन्द्रित हुँदै गएको साईन रेसुंगा डेभलप्मेन्ट बैंकका सीईओ प्रकाश पौडेलले बताए। 

बुटवलमा ५ अर्बको खानेपानी योजना सुरु भएको छ। झुम्सा खानेपानी योजनाले मूर्तरूप लिएपछि यस क्षेत्रमा खानेपानीको ठूलो समस्या समधान हुनेछ।

रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनहियामा विद्युत प्रसारण लाइनका लागि सबस्टेसन तयार भएको छ। यही सवस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने गरी मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको हो।

बुटवल-चन्द्रौटा फो लेन सडक, तिनाउ नदीमा नमूना सिग्नेचर पुल, बुटवलमा मेट्रो रेलका सम्भाव्यता अध्ययन योजनाले रुपन्देहीसहित आसपासका जिल्लामा समेत प्रभाव पार्नेछ।

लुम्बिनी गुरुयोजना पनि सम्पन्न हुँदैछ। लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीमा शैक्षिक विकासमा नयाँ लहर ल्याएको छ।

सहकारीहरूले लघु उद्यममा जोडने काम गरेका छन्। शंकरनगरमा रहेको सामूहिक सहकारी, देवदहमा रहेको कोलिय सहकारी र तिलोत्तमामा रहेको जनउत्थान सहकारी प्रदेशकै नमूना सहकारी हुन्। यिनले सदस्यलाई स्वरोजगार बन्न प्रेरित गरिरहेका छन्। 

बैंक, वित्तीय क्षेत्रमा पनि रुपन्देहीमा फड्को मारेको छ।

लगानीका सम्भावना बढ्दै जाँदा यस क्षेत्रमा हुने आर्थिक गतिविधिलाई ध्यानमा राख्दै बैंकहरू समेत रुपन्देही केन्द्रित हुँदै गएको साईन रेसुंगा डेभलप्मेन्ट बैंकका सीईओ प्रकाश पौडेलले बताए। 

‘रुपन्देही आर्थिक हबको रूपमा विकास हुँदै गएको छ। त्यस कारण बैंकहरू यहाँ आकर्षित भइरहेका हुन्’, उनले भने।

बुटवल क्षेत्रका सांसद विष्णु पौडेल रुपन्देही विकासको रोलमोडल बनेको बताउँछन्। 

‘१५ वर्षअघि र अहिलेको रुपन्देहीमा निकै फेरबदल देखिएको छ। यहाँ ड्रिम प्रोजेक्ट अघि बढेका छन्। सडक, पुल, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग क्षेत्रले फड्को मारेको छ’, नेता पौडेलले भने।

१७ भदौ, २०७९, १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।