इटली भनेर लिबिया पूर्याउने मानव तस्करीका आरोपी माइकललाई मकाउमा इन्टरपोलले समातेर नेपाल पठायो

इटली भनेर लिबिया पूर्याउने मानव तस्करीका आरोपी माइकललाई मकाउमा इन्टरपोलले समातेर नेपाल पठायो

काठमाडौँ : मकाउमा बसेर मानव तस्करीमा संलग्न रहेका माइकल भनिने नारायणप्रसाद अधिकारीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेर मङ्गलवार नेपाल ल्यायो।

क्यानेडियन कम्पनीमा रोजगारी अनि मासिक एक लाख ५० हजार रुपैयाँ कमाइहुने प्रलोभनमा पारेर लिबियाको शरणार्थी क्याम्पमा पूर्याएको अभियोगमा उनी विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले तीन वर्ष अगाडि रेड कर्नर नोटिस जारी गरेको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार लमजुङ दोर्दि गाउँपालिका-१ भर्तेका अधिकारीको नाममा मानव बेचबिखन ब्युरोको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो। सोही आधारमा इन्टरपोल मकाउको समन्वयमा उनी मकाउमा पक्राउ परेपछि नेपाल ल्याइएको थियो।

अधिकारीमाथि मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरू मार्फत २५/२५ सय डलर र पासपोर्ट समेत लिएर दुबईबाट लिविया हुँदै ईटाली लाने भन्दै लिबियामा अलपत्र पारेका थिए।

उनले पीडितहरूबाट  पुनः ३ लाख रुपैयाँ आफ्नो श्रीमतीको बैङ्कको खातामा जम्मा गर्न लगाई लिबियाको शरणार्थी क्याम्पमा राखेको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो।

माइकल भनिने नारायण अधिकारीले भाइ नवीन अधिकारी र सालो शतिस घिमिरेमार्फत जसरी पनि विदेश जान तयार हुने व्यक्ति खोज्न लगाउने गरेका थिए। उनको भाइ नवीन सशस्त्र प्रहरीको सइबाट अवकाश लिएका थिए।

उनीहरूले इटाली लैजाने भन्दै लिबिया पुर्याइएका तीन नेपालीको ज्यान जोगियो। एक जनाको ज्यानै गएको थियो।। स्वदेश फर्किएका तीन जनामध्ये एक जना प्रहरीको सम्पर्कमा पुगेर यी तीन जनाको संलग्नता खुलाएका थिए।

एक पीडितले प्रहरीमा दिएको बयान अनुसार उनीहरूलाई मकाउमा रहेका माइकलले चोर बाटोबाट इटाली पुर्याउने आश्वासन दिएर लिबिया पुर्याएर अलपत्र छाडेका थिए।

फेसबुकबाट सम्पर्कमा आएका माइकलले दिनेश बस्नेत, राजीव गुरुङ र नेत्र भट्टराईलाई विभिन्न देश हुँदै इटली पुर्याउने आश्वासन दिएका थिए। इटली पुग्दा १० लाखसम्म खर्च हुने भन्दै उनले फकाएका थिए।

उनीहरू २०७५ माघ २ गते काठमाडौँबाट दुबईका लागि उडेका थिए। दुबईमा एक महिना राखेर उनीहरूलाई ट्युनिसिया पुर्याइएको थियो। ट्युनिसियाबाट द्वन्द्वग्रस्त मुलुक लिबियाको राजधानी त्रिपोली पुर्याए। त्रिपोली पुगेपछि उनीहरूले आफू फसेको चाल पाए।

उनीहरू २ दिनको नाउ यात्रा गरेर इटालीको बोर्डर नजिक पुगे पनि इटलीमा छिर्न सकेनन्। तेल सकिएर अलपत्र परेका उनीहरूलाई पानी जहाजले उद्धार गरेर लिबियामा छाडिदिएको थियो। उनीहरू लिबियाको विद्रोहीको कब्जामा परेर ३६ दिन विद्रोहीको क्याम्पमा यातना पाए। उनीहरू बल्लतल्ल अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी संस्थाको सहयोगमा ट्राभल डकुमेन्टको आधारमा स्वदेश फर्किएका थिए।

उनीहरू नेपाल फर्किए पनि आरोपी कोही पक्राउ परेनन्। माइकल मकाउमा थिए भने अन्य २ जना भागिसकेका थिए। प्रहरीले माइकललाई पक्राउ गरेर ल्याए पनि अन्य २ जना भने अझैँ पक्राउ परेका छैनन्।

१४ भदौ, २०७९, ०१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।