रुपन्देहीमा चुनाव भिडन्त: विष्णु पौडेल र बालकृष्ण खाँण 'कन्फिडेन्ट', भुसालको ठाउँमा घिमिरेले टिकट पाउने सम्भावना

रुपन्देहीमा चुनाव भिडन्त: विष्णु पौडेल र बालकृष्ण खाँण 'कन्फिडेन्ट', भुसालको ठाउँमा घिमिरेले टिकट पाउने सम्भावना

बुटवल: आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएसँगै प्रभावशाली नेताहरूको बाहुल्य रहेको रुपन्देहीमा नेताहरूको जिल्ला केन्द्रित दौडधूप सुरु भएको छ। आकांक्षीहरू आ-आफ्ना मतदातासँग भेटघाट र छलफल गर्न थालिसकेका छन्।

यस्तै स्थानीय तहको निर्वाचनमा आएको मतपरिणामलाई विश्लेषण गर्दै संघ र प्रदेशको निर्वाचनको सम्भावित अवस्थाबारे विभिन्न अड्कलबाजी समेत भइरहेको छ।

०७४ को स्थानीय तहको मतपरिणामको तुलनामा गत वैशाखमा एमाले निरीह देखिएपछि संघको चुनावमा त्यसको पूर्ति गर्नेगरी एमालेले तयारी गरेको छ। 

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १० वटा प्रदेश निर्वाचन क्षेत्र छन्। यहाँ उम्मेदवार बन्न नेताहरूले लबिङ पनि थालिसकेका छन्। 

०७४ सालको निर्वाचनमा संघतर्फ एमालेले तीन र कांग्रेसले दुई निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो। प्रदेशतर्फ एमालेले पाँच, कांग्रेसले तीन,  माओवादी केन्द्रले एक र जनता समाजवादी पार्टी (जसपा) नेपालले एक निर्वाचन क्षेत्र जितेको थियो।

तर ०७४ साल र अहिलेको अवस्था फेरिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन दलहरू मिलेर चुनावमा जाने निर्णय गरेसँगै यसपटक चुनावी नतिजा फरक हुने निश्चितप्रायः छ।

रुपन्देहीमा यस पटक गठबन्धनको बलमा एमालेलाई ‘पत्तासाफ’ गराउने रणनीति अन्य दलको छ। यद्यपि रुपन्देहीमा एमालेको जनमत भने बलियो छ।

०७४ को स्थानीय तहको मतपरिणामको तुलनामा गत वैशाखमा एमाले निरीह देखिएपछि संघको चुनावमा त्यसको पूर्ति गर्नेगरी एमालेले तयारी गरेको छ। 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले निर्वाचनको तयारीमा पार्टी लागेको बताउँदै गठबन्धनका बावजुद पुरानो विरासतलाई बचाउनेगरी अघि बढेको बताए।

गठबन्धन गरेरै पाँच दल निर्वाचनमा होमिने भएपछि भने क्षेत्र नं. १ मा एमाले हच्किएको छ। तर एमाले देवदह नगरपालिकाका इन्चार्ज यम राना भने एमालेका लागि सबैभन्दा बढी सुरक्षित क्षेत्र नं. १ नै रहेको बताउँछन्।

स्थानीय तहमा भएका गल्ती संघ र प्रदेशको चुनावमा नदोहोर्याउनेगरी निर्वाचनमा एमाले होमिने उनको भनाइ छ।

यता नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाँण ०७४ को तुलनामा यसपटक धेरै सिट जित्ने तयारीका साथ निर्वाचनमा होमिन लागेको बताउँछन्। गठबन्धन गरेरै निर्वाचन लड्ने केन्द्रमा सहमति भएकाले निर्वाचन क्षेत्रको टुंगो लागेपछि चुनावी गतिविधि तीव्र पारिने उनको भनाइ छ।

कुन निर्वाचन क्षेत्रबाट कसको चर्चा ?
रुपन्देहीको क्षेत्र नं. १ बाट यसपटक पनि एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा र कांग्रेस जिल्ला सभापति समेत भएका अव्दुल रज्जाक आमनेसामने हुने देखिएको छ। क्षेत्र नं. १ का लागि विश्वकर्मा र रज्जाक परिचित अनुहार हुन्।

०७० सालमा रज्जाकले निर्वाचन जितेका थिए भने सोही क्षेत्रमा ०७४ सालमा रज्जाकलाई हराउँदै विश्वकर्मा विजयी भएका थिए।

तर गठबन्धन गरेरै पाँच दल निर्वाचनमा होमिने भएपछि भने क्षेत्र नं. १ मा एमाले हच्किएको छ। तर एमाले देवदह नगरपालिकाका इन्चार्ज यम राना भने एमालेका लागि सबैभन्दा बढी सुरक्षित क्षेत्र नं. १ नै रहेको बताउँछन्।

स्थानीय तहको निर्वाचनअघि गृहमन्त्री बालकृष्ण खाँण क्षेत्र नं. १ मा मतदाता नामावली सारेर त्यहीबाट संघमा निर्वाचन लड्नसक्ने अड्कल गरिएको थियो। तर गठबन्धन र त्यसमा पनि स्थानीय तहको निर्वाचनको मतपरिणामले उनी क्षेत्र नं.१ मा जानै नपर्नेगरी क्षेत्र नं. ३ बाटै तयारी गरिरहेका छन्।

गठबन्धन दलहरूले यसपटकको निर्वाचनमा पौडेललाई हराउने हरप्रयास गर्नेछन्। तर उनी एमालेको बलियो संगठन, गठबन्धनभित्रको असन्तुष्टिमा खेल्दै आफ्नो विरासत जोगाउने रणनीतिमा छन्। पौडेल 'कन्फिडेन्ट' देखिएका छन्।

रुपन्देही क्षेत्र नं. १ मा देवदह नगरपालिका र तिलोत्तमाका –७, ८, ९, १०, ११, १२ १५, १६ र १७ वडा तथा ओमसतिया गाउँपालिकाका –१, ३, ४, ५, ६ वडा र रोहिणी गाउँपालिका पर्छन्।

जिल्लामै सबैभन्दा बढी महत्त्वका साथ हेरिएको र राष्ट्रिय राजनीतिमा समेत चासोको विषय बनेको क्षेत्र नम्बर २ (बुटवल क्षेत्र)को आउँदो निर्वाचनको सम्भावित परिणामबारे नै अहिले चासोपूवर्क हेर्न थालिएको छ। किनकी रुपन्देहीको क्षेत्र नं. २ एमालेका प्रभावशाली नेता, एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो।

२०५४ सालयता बुटवल क्षेत्रमा कुनै पनि निर्वाचनमा विजयी हुन नसकेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धनको बलमा बुटवल उपमहानगरपालिकामा विजय हासिल गर्यो। त्यो पनि सात हजार मतान्तरले। त्यसैले पनि बुटवल पर्ने क्षेत्र नम्बर २ आगामी निर्वाचनमा सर्वाधिक चासोको क्षेत्र हो।

गठबन्धन दलहरूले यसपटकको निर्वाचनमा पौडेललाई हराउने हरप्रयास गर्नेछन्। तर उनी एमालेको बलियो संगठन, गठबन्धनभित्रको असन्तुष्टिमा खेल्दै आफ्नो विरासत जोगाउने रणनीतिमा छन्। पौडेल 'कन्फिडेन्ट' देखिएका छन्।

गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डा गर्दा क्षेत्र नम्बर २ कसलाई पर्छ त्यो तय भएको छैन। तर चर्चामा चाहिँ कांग्रेसभन्दा समाजवादीका नेताले पौडेलसँग प्रतिस्पर्धा गर्न चाहेका बताइएको छ। 

समाजवादीले क्षेत्र नं. २ पाएमा पौडेलका प्रतिस्पर्धी राजु गुरुङ हुने सम्भावना छ। गुरुङ तिनै व्यक्ति हुन्, जो ०७४ सालको निर्वाचनमा  पौडेललाई विजयी बनाउन ‘कमाण्डर’ बनेर अग्रपंक्तिमा परिचालन भएका थिए।

पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरससकेका छन्। ०६४ मा माओवादीका भक्ति पाण्डे, ०७० मा डा. बाबुराम भट्टराई र ०७४ मा युवराज गिरीलाई उनले हराएका थिए। 

तर विष्णु पौडेललाई यसपटक गठबन्धनबाहेक स्वतन्त्र उम्मेदवारको पनि अर्को चुनौती छ। तर पौडेल यसलाई चुनौती नै मान्दैनन्।गठबन्धनबाट जो उम्मेदवार भए पनि आफ्ना काम यस क्षेत्रका मतादाताले बुझेकाले आफ्नो विजय सुनिश्चित भएको उनी बताउँछन्।

स्थानीय निर्वाचनअघिसम्म खाँणले क्षेत्र नं. ३ मा आफ्नो पक्षमा माहोल देखेका थिएनन्। उनी क्षेत्र नं. १ जान खोजिरहेका थिए। तर अहिलेको परिस्थितिका कारण खाँण क्षेत्र नं. ३ बाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन्।

स्वतन्त्रबाट डा. निकोलश भुसालले उम्मेदवारी दिने बताइसकेका छन्। उनी चुनावी प्रचारमा महिना दिनदेखि लागिसकेका छन्। ठाउँ ठाउँमा स्वास्थ्य सिविरका साथै भेटघाटका कार्यक्रमलाई उनले तीव्र पारेका छन्।

क्षेत्र नं. २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन्। 

ती सबै वडा र नगरमै प्रमुख पदमा गठबन्धनले जितेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र हो- क्षेत्र नं. ३। स्थानीय निर्वाचनअघिसम्म खाँणले क्षेत्र नं. ३ मा आफ्नो पक्षमा माहोल देखेका थिएनन्। उनी क्षेत्र नं. १ जान खोजिरहेका थिए। तर अहिलेको परिस्थितिका कारण खाँण क्षेत्र नं. ३ बाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन्। खाँण आफू चुनाव जित्नेमा कन्फिडेन्ट देखिएका छन्।

यसअघि ०७४ सालको निर्वाचनमा खाँण प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बसेका थिए। अहिले खाँणको प्रतिस्पर्धीमा एमालेबाट धनश्याम भुसाल, बासुदेव घिमिरेमध्ये एकको चर्चा छ। 

०७४ सालको निर्वाचनमा राप्रपाका दीपक बोहोरालाई पराजित गर्दै भुसाल विजयी भएका थिए। २०६४ र २०७० सालको निर्वाचन भने खाँणले जितेका थिए।

यसपटक खाँण आफ्नो निर्वाचन क्षेत्रमा ढुक्क देखिएका छन्। उनको निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा, सिद्धार्थनगर, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिक नगरपालिका कांग्रेसले जितेको छ। 

भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरे पनि संघको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा छ। 

आगामी निर्वाचनमा पार्टीले भुसाललाई नदोहोर्याउने निर्णय गरेकाले घिमिरेले संघको निर्वाचनमा टिकट पाउनसक्ने चर्चा समेत चलाइएको छ।

राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा १ र ३ नम्बर क्षेत्रमध्ये एउटा क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। त्यसका लागि राप्रपाले एमालेसँग तालमेल गर्न सक्ने राप्रपाका नेताहरू बताउँछन्।

क्षेत्र नं. ३ मा बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन्।

जिल्लामा कम चर्चामा रहने निर्वाचन क्षेत्र हो- क्षेत्र नं. ४। ०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका प्रमोद यादव निर्वाचित भएका थिए। यादवले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै जित निकालेका थिए। 

एमालेका ओमप्रकाश यादव तेस्रो भएका थिए। अहिले पनि यादव र शुक्ला नै उम्मेदवार बन्ने चर्चा छ।

हालै सम्पन्न स्थानीय तह निर्वाचन अनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जित निकालेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देहीका अध्यक्ष अजय वर्माले शुक्ला ४ नम्बर क्षेत्रबाटै निर्वाचन लड्ने बताए। यो निर्वाचन क्षेत्रमा सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका पूरै वडा तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू छन्।

क्षेत्र नं. ५ मा यसपटक नेपाली कांग्रेसबाट भरतकुमार शाह र एमालेबाट खिमलाल भट्टराई उम्मेदवार हुने चर्चा छ। 

०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच तालमेलका कारण माओवादीका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्य उम्मेदवार बनेका थिए। उनी कांग्रेस उम्मेदवार भरतकुमार शाहसँग पराजित भएका थिए।

सो क्षेत्रबाट २०५६ सालमा शाह विजयी भए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा शाहलाई एमालेका स्व. नेता रामनाथ ढकालले पराजित गरे। २०७० सालको निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गर्न सफल भए। 

हालै सम्पन्न स्थानीय तह निर्वाचन अनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जित निकालेका छन्। 

रुपन्देही क्षेत्र नं. ५ मा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका १ देखि ११ नम्बर वडा र मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छ।

५ भदौ, २०७९, १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।