कभर स्टोरी

सिंहदरबार वैद्यखानामा डा. सबरी साहको बलमिच्याईं : स्वघोषित निमित्त कार्यकारी निर्देशक बनेर अधिकार दुरुपयोग


काठमाडौं : सिंहदरबार वैद्यखाना विकास समितिमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नपाइकनै दशौं तहका वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. सबरी साहले निमित्त कार्यकारी निर्देशकको हैसियतमै आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गरेको देखिएको छ। 

उकेरालाई प्राप्त कागजात अनुसार डा. साहले पदीय दुरुपयोग गर्दै निमित्त कार्यकारी निर्देशकको हैसियतमा आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गरेको देखिएको हो।

त्यसो त डा. साह स्वयंले समेत वरिष्ठताका आधारमा आफूले निमित्त कार्यकारी निर्देशकको हैसियतमा काम गरेको दावी गरे पनि कसरी निमित्त कार्यकारी निर्देशक तोकिएको हो भनेर प्रष्ट हुन भने सकेनन्।

वैद्यखाना विकास समिति स्रोतका अनुसार वैद्यखानामा डा. साहले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएकै छैनन्। उनले त कामकाजको जिम्मेवारी मात्र पाएका हुन्।  तर डा. साह भने निमित्त कार्यकारी निर्देशको जिम्मेवारी नपाउँदा समेत निमित्त कार्यकारी निर्देशक भएको दाबी गर्दै आएका छन्। 

जुन अधिकार माग्दैछन् त्यही पदको दुरुपयोग गर्दै निवेदन पेस 
वैद्यखाना स्रोतका अनुसार दशौं तहका डा. साह २०७६ मा पदस्थापन भएर सिंहदरबार वैद्यखाना विकास समितिमा पुगे। तर त्यहाँ दशौं तहको दरबन्दी नै नभएको समितिले जनाएको छ।

त्यसपछि दशौं तहका डा. साह वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञका रुपमा सिंहदरबार वैद्यखानामा बसिरहेका थिए।  जब डा. वंशदीप खरेलको सिंहदरबार वैद्यखानाको चार वर्षे प्रबन्ध निर्देशकको कार्यकाल २०७७ फागुन १६ गते सकियो त्यसपछि डा. साहले आर्थिक तथा प्रशासन समेत चलाउन पाउने गरी अधिकार प्रत्यायोजनका लागि स्वास्थ्य मन्त्रालयमा २०७७ फागुन २० गते निवेदन लेखे। 

वैद्यखाना विकास समिति स्रोतका अनुसार वैद्यखानामा डा. साहले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएकै छैनन्। उनले त कामकाजको जिम्मेवारी मात्र पाएका हुन्।  तर डा. साह भने निमित्त कार्यकारी निर्देशको जिम्मेवारी नपाउँदा समेत निमित्त कार्यकारी निर्देशक भएको दाबी गर्दै आएका छन्। 

तर, त्यो निवेदन पत्रमा नै उनको बठ्याईं देखिएको छ। स्वास्थ्य मन्त्रालयलाई आर्थिक तथा प्रशासन चलाउनका लागि अधिकार दिनुपर्ने भन्दै लेखेको सो निवेदन पत्रमा निवेदकका रुपमा डा. साहले निमित्त कार्यकारी निर्देशक लेखेका छन्। जबकी उनले त्यो बेला वैद्यखानामा कार्यकारी निर्देशकको जिम्मेवारी पाएकै देखिँदैन। 

त्यतिमात्रै होइन, डा. साह आफैंले सो पत्रमा आफू वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ (दशौं) तहमा दैनिक प्रशासन कामकाज गर्दै आए पनि मन्त्रालयबाट आर्थिक तथा प्रशासनिक अधिकार नपाएको भन्दै आर्थिक तथा प्रशासनिक अधिकार दिलाउनका लागि स्वास्थ्य मन्त्रालयलाई निवेदन लेखेका थिए। तर  डा. साहले त्यतिबेलै मन्त्रालयलाई निमित्त कार्यकारी निर्देशकको हैसियतमा पत्र लेखेका छन्। त्यो पत्रको नै वैधानिकतामाथि नै प्रश्न उब्जन्छ। 

मन्त्रालयसँग डा. साहले जुन अधिकार माग्दै पत्र लेखेका छन् सोही पदीय हैसियतमा उनले निवेदकको रुपमा हस्ताक्षर गर्दै पत्र लेखेका छन्। यसबाट नै स्वास्थ्य मन्त्रालयले डा. साहलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नदिँदै निमित्त कार्यकारी निर्देशकको हैसियतको रुपमा पदीय दुरुपयोग गरेको देखिन्छ। 

यस विषयमा कुरा गर्दा निमित्त कार्यकारीको निर्देशकको जिम्मेवारी नै नपाई कसरी लेख्नु भयो त? भन्ने  जिज्ञासामा डा. साहले भने नियम संगत नै भएको दाबी गरे। 

निजामती सेवा नियमावली, २०५० को नियम ४६(२) मा ‘रिक्त रहेको कुनै कार्यालयको प्रमुखको पदमा बहालवाला नियुक्ति वा सरुवा नभएसम्मको अवधिको लागि उपनियम (१)  बमोजिमको जेष्ठ कर्मचारीले सो कार्यालयको नगदी मौज्दात, कार्यालयको छाप, कागजपत्र र दैनिक काम चलाउनका लागि चाहिने जिन्सी समेत जिम्मा लिई कार्यालय प्रमुखको काम अर्को व्यवस्था नभएसम्म निमित्त भई गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ। सो व्यवस्था अनुसारको जिम्मेवारी वैद्यखाना विकास समितिमा कार्यरत निकटतम जेष्ठ कर्मचारीले प्रयोग गर्न सक्ने अवस्था रहेकाले यस्ता कार्य गराउने व्यवस्था हुने भन्दै स्वास्थ्य मन्त्रालयले २०७७ चैत १९ गते सचिवस्तरीय निर्णय गरी वैद्यखानालाई पत्र लेख्यो। 

उपनियम (१) मा भने ‘कुनै कार्यालयको प्रमुख बिरामी भई वा अन्य कुनै कारणले छोटो अवधिको लागि अनुपस्थित भएमा निज मातहतको दरबन्दी वा विशेष दरबन्दी भित्रको वा रिक्त दरबन्दीमा काजमा खटिएको कर्मचारीमध्ये निकटतम ज्येष्ठ निजामती कर्मचारीले निजको निमित्त जनाई दैनिक कार्य सञ्चालन गर्नुपर्ने’ व्यवस्था छ।

वैद्यखानालाई सो पत्र लेखेपछि स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण अर्यालले २०७७ चैत ३० गते डा. सबरी साहलाई आर्थिक कारोबार सञ्चालन गर्नेगरी अधिकार दिए। 

‘सिंहदरबार वैद्यखाना विकास समितिको प.सं. २०७७/७८ च. नं. २६१ मिति २०७/१२/२५ को पत्रबाट अनुरोध भई आए बमोजिम आर्थिक कारोबार सञ्चालन गर्ने अधिकार दिएको छु,’ तत्कालीन स्वास्थ्य सचिव अर्यालले वैद्यखानाका डा. साहलाई दिएको पत्रमा भनिएको छ,‘ प्रचलित कानुनको अधिनमा रही कार्यालयको आर्थिक कारोबार सञ्चालन गर्नुहुन समेत निर्देशन दिएको छु।’ 

यो पत्रबाट डा. साहलाई तत्कालीन स्वास्थ्य सचिव अर्यालले आदेशमा आर्थिक कारोबार गर्ने अधिकार दिए पनि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी भने दिएको खुल्दैन। तर डा. साहलाई लेखेको सो पत्रमा भने सचिवले ‘निमित्त कार्यकारी निर्देशक सिंहदरबार वैद्यखाना विकास समिति’ भनेर सम्बोधन गरेका छन्। 

डा. साहको अपत्यारिलो दाबी 
डा. साहले पनि घुमाउरो रुपमा निमित्त कार्यकारी निर्देशक नै भनेर जिम्मेवारी नदिए पनि जेष्ठताको हैसियतमा स्वत निमित्त कार्यकारी निर्देशकको हैसियतमा काम गरेको दाबी गर्दै आएका छन्। स्रोतका अनुसार उनलाई निमित्त कार्यकारी निर्देशकको रुपमा वैद्यखानामा जिम्मेवारी नदिए पनि निमित्त कार्यकारी निर्देशककै हैसियतमा काम काज गरिरहे।

त्यसो त डा. साहले हुँदै/पाउँदै नपाएको निमित्त कार्यकारी निर्देशकको हैसियतमा निवेदन लेख्दा समेत स्वास्थ्य मन्त्रालयले ख्याल नगरी आर्थिक कारोबार समेत गर्न निर्देशन दिएको देखिन्छ। सिंहदरबार वैद्यखाना विकास समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले उनलाई कामकाजका लागि जिम्मेवारी तोकेको स्रोतको भनाइ छ। आफू नै सिनियर भएको नाताले समितिको सिफारिस अनुसार आफूले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएको डा. साहले दाबी गरे। 

निमित्त कार्यकारी निर्देशक भनेर त तोकेको रहेन छ त? भन्ने जिज्ञासामा उनले भने,‘ सिनियर कर्मचारी भएको नाताले निमित्त कार्यकारी निर्देशक दिएको र आर्थिक कारोबार गर्नेगरी लक्ष्मण अर्याल सचिवकै सही छ। केही शंका भए अझै सोध्नुहोस्। शंका लाग्छ भने मन्त्रालयसँग सोध्दा हुन्छ।’

आफूले मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय लगायतमा निमित्त कार्यकारी निर्देशककै हैसियतमा पत्र पठाएको र निमित्त कार्यकारी निर्देशक लेख्न नपाइने भए मन्त्रालयले आफूलाई ब्रेक लगाइसक्ने उनले तर्क गरे। उनले भने,‘ त्यस्तो भएको भए मन्त्रालयले ब्रेक लगाउने थिएन होला र?’

त्रुटिले डा. साहको पुनरागमन
डा. साह वैद्यखानामा औषधि उत्पादन नै नगरी बसिरहेका थिए। त्यसपछि २०७८ भदौमा तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशौं तहका वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद चिकित्सक डा. सोभाराम सुवेदीलाई वैद्यखानाको कार्यकारी निर्देशक बनाएर पठाएको वैद्यखाना स्रोतले बतायो। डा. सुवेदी वैद्यखानाको नेतृत्व लिएर पुगेपछि डा. सबरी साह आर्थिक तथा प्रशासनिक कामकाजबाट स्वत हट्ने नै भए। डा. साहलाई नरदेवी आयुर्वेद अस्पताल सरुवा गरियो। 

तर, डा. साह नरदेवी गएनन्। अदालत गए। स्रोतका अनुसार अदालतले कामकाज गर्न पाउने गरी डा. साहको पक्षमा अन्तरिम आदेश दियो। त्यसपछि उनले वैद्यखानामा निरन्तर आर्थिक तथा प्रशासनिक कामकाज गर्दै आए। डा. सोभाराम सुवेदी दशौं तहका चिकित्सक भएकाले उनलाई स्वास्थ्य मन्त्रालयले वैद्यखानाको ‘निमित्त कार्यकारी निर्देशक’को जिम्मेवारी दिनुपर्नेमा त्रुटिबस ‘कार्यकारी निर्देशक’ भनी जिम्मेवारी दियो। त्यसपछि डा. साहले त्यस निर्णय विरुद्ध मुद्दा हाले। र, अदालतको अन्तरिम आदेशबाट डा. सुवेदी पूर्ववत नरदेवी अस्पतालमा फर्कनुपर्योा। त्यसपछि वैद्यखानामा फेरि डा. साहले नै आर्थिक तथा प्रशासनिक काम गरिरहे।

वैद्यखाना स्रोतका अनुसार अदालतबाट अन्तरिम आदेश पाएपछि डा. साहले पुनः आर्थिक तथा प्रशासनिक लगायत कामकाजका लागि वैद्यखाना विकास सञ्चालक समितिको सिफारिसमा मन्त्रालयबाट जिम्मेवारी तोकिएको पत्र ल्याउनुपर्ने थियो। तर,उनले त्यसो गरेनन्। यस विषयमा वैद्यखानालाई पनि जानकारी नगराई आर्थिक तथा प्रशासनिक काम गरिरहेको वैद्यखाना स्रोतले बतायो। 

यता आयुर्वेद औषधि उत्पादन नहुँदा सिंहदरबार वैद्यखानाको अवस्था भने दिनानुदिन जर्जर हुँदै गयो। डा. साहले काम गर्न नसकेको र तलब समेत नखुवाएको भन्दै वैद्यखानाका कर्मचारी भने गुनासो बोकेर निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाकहाँ पुगे। तर ठोस सुनुवाइ हुन सकेन।

वैद्यखानामा डा. श्यामबाबुको इन्ट्री
२०७९ असार १० गते स्वास्थ्य मन्त्री विरोध खतिवडाले दशौं तहका वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. श्यामबाबु यादवलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट सिंहदरबार वैद्यखानामा कामकाज गर्न काजमा खटाए। डा. साहलाई भने वैद्यखानाबाट विभागमा काजमा खटाइयो। असार १० गते सिंहदरबार वैद्यखाना खटाइएका डा. यादव १३ गते वैद्याखानामा हाजिर भए। 

असार १४ गते सिंहदरबार वैद्यखाना सञ्चालक समितिले स्वास्थ्य मन्त्रालयमा डा. यादवलाई वैद्याखानाको निमित्त कार्यकारी निर्देशकका लागि सिफारिस गर्‍यो। त्यसपछि असार १५ गते स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले डा. यादवलाई सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।

तर, फेरि डा. साहले भने आफूलाई वैद्यखानाबाट हटाउन नपाउने भन्दै असार १० गतेको मन्त्री (खतिवडा) स्तरीय काज सरुवाको निर्णय र १५ गते निमित्त कार्यकारी निर्देशकबाट आफूलाई हटाएर डा. यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको भन्दै असार १० र १५ गतेको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए।

अदालतले असार २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७९ असार १० को निर्णय तथा सो सम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु/नगराउनु, यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गर्‍यो।

सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेश, २०७७ समेत प्रतिकुल देखिएको र अदालतको मिति २०७८/०६/०८ मा जारी अन्तरिम आदेश समेतका सन्दर्भमा सुविधा र सन्तुलनका दृष्टिले निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि सो आदेश दिएको हो। 

वैद्यखाना स्रोतका अनुसार त्यो बेला डा. सोभाराम सुवेदीलाई कार्यकारी निर्देशक तोकिएको मिलेको थिएन र अदालतले कार्यान्वयन नगर्नु भनेको थियो। तर अहिले भने डा. यादव निमित्त कार्यकारी निर्देशक हुन्। र, डा. साहभन्दा दशौं तहमा पनि आफू धेरै सिनियर भएको डा. यादवले बताए। 

तर, स्रोतका अनुसार डा. साहले नै बठ्याईं गरेर सिंहदरबार वैद्यखानालाई विपक्षी बनाउँदै मुद्दा हालेका थिए। डा. सुवेदी त्यो मुद्दाको लफडामा पर्न चाहेनन्। त्यसैले उनी नरदेवी अस्पतालमा पूर्ववत अवस्थामा फर्के। त्यसपछि वैद्यखानाको प्रमुखका रुपमा डा. साह नै भएकाले आफूले हालेको मुद्दाको आफैं जवाफ पेस गर्नुपर्ने अवस्था निम्तिएपछि उनले अदालतमा मुद्दाको विषयमा जवाफ पेस नै नगरी बसेको स्रोतले बतायो। जसले गर्दा अझै त्यो मुद्दाको पेसी नै हुन नसक्दा मुद्दा नटुंगिएको स्रोतले बतायो। डा. साहले भने एउटा अन्तरिम आदेशको मुद्दा नटुंगिएकाले अदालतको अपमान भएको तर्क गरे। उनले भने, ‘यो त अदालतको अपमान भयो नि त।’

असार १५ गते डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको विषयमा अदालतले २१ गते दिएको आदेशमा केही बोलेको देखिँदैन।

अदालतको यस्तो आदेशपछि स्वास्थ्य मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले सर्वोच्च  अदालतको आदेश अनुसार  असार १० गतेको निर्णय यथास्थितिमा राखिएको भन्दै डा. यादव र डा. साहलाई साउन १० गते पत्र दियो। 

सर्वोच्चको आदेश र मन्त्रालयको पत्र अनुसार डा. साह सिंहदरबार वैद्यखानामा नै कायम रहे भने डा. यादवको पनि काज फिर्ता आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुमा नै भएको देखिन्छ। तर असार १५ गते स्वास्थ्य मन्त्रिस्तरीय निर्णयबाट वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको विषयमा अदालतले केही नबोलेपछि वैद्यखानाको निमित्त कार्यकारी निर्देशक आफूनै कायम रहेको डा. यादवको दावी छ। 

यसरी हेर्दा डा. साह सिंहदरबार बैद्यखानामा दशौं तहमा वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञका रुपमा भने कायम भएको देखिन्छ। तर वैद्यखाना स्रोतका अनुसार वैद्यखानामा यो पदको दरबन्दी नै नभएकाले दरबन्दी नभएको ठाउँमा डा. साह कसरी पदस्थापन भए भन्ने अर्को प्रश्न छ। तर डा. यादव भने सरुवा भएर वैद्यखाना पुगेका हैनन्। उनी काजमा वैद्यखाना गएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्। डा. यादवको दरबन्दी विभागमा नै छ।

मानहानिको मुद्दापछि अन्तरिम आदेश खारेजीका लागि निवेदन
फेरि अदालतको निर्णय कार्यान्वयन नभएको भन्दै डा. साहले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सचिव र डा. यादव,  वैद्यखाना विकास समिति अध्यक्ष डा. बाबुराजा आमात्य विरुद्ध अदालतको अपहेलना भएको भन्दै कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए। त्यसपछि साउन ६ गते विपक्षी (स्वास्थ्य मन्त्रालय समेत) का नाममा सबै बेहोरा खुलाई आफैं वा प्रतिनिधिमार्फत लिखित जवाफ (अदालतमा) पेस गर्न सर्वोच्चले आदेश दियो। 

तर, स्वास्थ्य मन्त्रालयमा भने साउन तेस्रो हप्तापछि मात्रै अदालतको सो आदेश पत्र प्राप्त भएको स्रोतल बतायो। आदेश पत्र पाएपछि मन्त्रालय लगायत विपक्षीले अदालतमा तोकिएको म्यादभित्र लिखित जवाफ पेस गरेको डा. यादवले बताए।

त्यसपछि विपक्षी बनाइएको स्वास्थ्य मन्त्रालय लगायत डा. श्यामबाबु र वैद्यखाना विकास समितिले सर्वोच्चमा आदालतमा अन्तरिम आदेश खारेजीको लागि निवेदन दर्ता गराइसकेको डा. यादवले बताए। यस विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको उनले जानकारी दिए। 

तर, डा. यादवले अदालतको अन्तरिम आदेशको गलत व्याख्या गरेको डा. साहको दावी छ।

समाधान कहिले?
आठ महिनादेखि बन्द भएको वैद्यखाना आफू जाने वित्तिकै पुनः उत्पादन थाली सञ्चालनमा ल्याएको डा. यादवले बताए। त्यसैगरी डा. यादव पुगेपछि चार महिनाको तलब व्यवस्थापन गरेर कर्मचारीलाई खुवाएको वैद्यखानाका कर्मचारीले जानकारी दिए।

डा. साहले पदीय दुरुपयोग समेत गरेर स्वास्थ्य मन्त्रालय, अदालत समेतलाई झुक्याउने प्रयास गर्दै सिंहदरबार वैद्यखानालाई डुबाएको कर्मचारीको दावी छ। 

डा. साहले २३ पटक (लट) मा गरी  करिब १० हजार किलो च्यवनप्रास मात्रै बनाएको र अन्य काम नै गर्न नसकेको कर्मचारीको दावी छ। जबकी, डा. साहले वैद्यखाना प्रमुखको नेतृत्व लिनु पहिले डा. खरेलको कार्यकालमा करिब ७० प्रकारका औषधि उत्पादन हुने गरेको वैद्यखानामा भेटिएका एक कर्मचारीले बताए। 

वैद्यखानाका कर्मचारीका अनुसार डा. यादव वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको रुपमा पुगेपछि भने त्रिफला चुर्ण, षडविन्दु तेल, गुगुल लगायत औषधि उत्पादन थाले। तर अहिले भने फेरि अन्योल छाएको छ। 

डा. यादव र डा. साह दुवै वैद्यखाना पुग्ने गरे पनि मुद्दा कहिले किनारा लाग्ला र वैद्यखानाले गति लेला भन्ने प्रश्न टड्कारो छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले भने २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। जिल्ला सरकारी वकिलको....

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए। एउटा मात्रै निश्चित कम्पनीको....

रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

उनले नेपाली राहदानी प्रयोग नगरेको दावी गरेका छन्। तर, अध्यागमन विभागको रेकर्डले उनले झुट बोलेका पुष्टि हुन्छ। उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा....

नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी, १३ वर्षदेखि 'फरार'

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी....

सहयोगको आवरणमा विकास बोर्डको बदमासी, आफू निकटलाई बाँड्छ हरेक वर्ष ५० लाख

उकेराले सूचनाको हक प्रयोग गरेर मागेको पाँच वर्षसम्मको कागजातअनुसार बोर्डले विभिन्न अवार्ड र महोत्सवका लागि कराेडौं रकम वितरण गरेकाे देखिन्छ। अधिकांश नामै नसुनिएका संस्था छन्। एकाध....