विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काबुल : अफगानिस्तानको काबुलमा भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ। अफगानिस्तानमा  पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन्। राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिज लगायतका धेरै क्षेत्रमा विस्फोट भएका छन्।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ। विस्फोटमा परी एक सय २० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएका छन्।

यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ। अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अल्पसंख्यकहरूको लागि थप सुरक्षाको आग्रह गरेको छ।

२७ साउन, २०७९, १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।