गाईजात्राको मौलिक हास्यव्यङ्ग्य विवाद, द्विअर्थ र अश्लीलतातर्फ सिफ्ट हुँदै

गाईजात्राको मौलिक हास्यव्यङ्ग्य विवाद, द्विअर्थ र अश्लीलतातर्फ सिफ्ट हुँदै

कुनै समय थियो मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष कार्यक्रम आएपछि बल्ल गाईजात्रा आउँथ्यो। जब क्यासेटमा हास्य कलाकार कमल गाउँलेले प्यारोडी भट्याउँथे, तब गाईजात्रा आउँथ्यो। मनोज गजुरेलले कसैको क्यारिकेचर नगरुञ्जेल गाईजात्रा आएको भान नै हुँदैन थियो। अनि प्रज्ञा प्रतिष्ठानले हास्य शैलीको गाईजात्रा विशेष कार्यक्रम नगरेसम्म गाईजात्रा आउँथेन।

तर समय बदलियो। अहिले बाह्रै महिना गाईजात्रा आउन थालेको छ। के नयाँ पुस्ता, के पुराना पुस्ता, हास्यव्यङ्ग्य गर्ने कलाकारले हसाउन गाईजात्रा कुर्नै पर्दैन। टेलिभिजन हुँदै युट्युब र अब त टिकटक पनि गतिलो प्ल्याटफर्म बनेर आएको छ।

हुन त गाईजात्रा सांस्कृतिक महत्त्वको पर्व हो। तर यसको अर्को पाटो हास्यव्यङ्ग्यको रूपमा प्रचलित भयो।

कमल भन्छन्, 'एक्लै भए पनि गाईजात्रा विशेष रूपले मनाउँछु'
यो वर्ष पनि हास्य कलाकार कमल गाउँलेले 'जनता हान्न चाहन्छन्' भन्ने प्यारोडी निकालेका छन्। पहिले एल्बम निकाल्ने उनले अहिले भने युट्युबको उपयोग गरिरहेका छन्।

'नयाँ पुस्तालाई त बाह्रैमास गाईजात्रा लाग्यो। तर पुराना मानिसहरूले त यो परम्परालाई जोगाउनुपर्ने हो। उहाँहरू पनि विभिन्न रियालिटी शोदेखि अन्य कार्यक्रमतिर भुल्नुभयो। कतै त्यता बढी कमाइ हुने भएकाले हो कि!'

दुई हप्ता नबित्दै उनको भिडियो तीन लाख बढी दर्शकले हेरिसकेका छन्।

२२ वर्षदेखि निरन्तर गाईजात्रे प्यारोडीको अडियो-भिडियो निकाल्दै आएका गाउँले आफू बाँचुञ्जेल वर्षमा एक पटक गाईजात्रे भिडियो निकाल्ने बताउँछन्। 

उनले भने, 'नयाँ पुस्ताका लागि १२ महिना नै गाईजात्रा लाग्यो होला, तर मेरा लागि गाईजात्रा वर्षमा एकचोटी मात्रै आउँछ। सबैले यसलाई मनाउन छाडे पनि म एक्लै मनाउँछु।'

उनको दुखेसो पनि छ। भन्छन्, 'नयाँ पुस्तालाई त बाह्रैमास गाईजात्रा लाग्यो। तर पुराना मानिसहरूले त यो परम्परालाई जोगाउनुपर्ने हो। उहाँहरू पनि विभिन्न रियालिटी शोदेखि अन्य कार्यक्रमतिर भुल्नुभयो। कतै त्यता बढी कमाइ हुने भएकाले हो कि!'

भएन सप्ताहव्यापी गाईजात्रा महोत्सव
पछिल्ला वर्षहरू हेर्ने हो भने गाईजात्राको एक साताअघिदेखि नै हास्य कलाकारलाई भ्याई नभ्याई हुनुपर्ने हो। सप्ताहव्यापी रूपमा गाईजात्रा महोत्सव सञ्चालन गरिन्थ्यो। हजारौं दर्शक प्रत्यक्ष रूपमा हास्यव्यङ्ग्य हेरेर रमाइलो मान्थे। तर यो वर्ष भने सप्ताहव्यापी गाईजात्रा महोत्सव भएन।

अहिले नेपाली टेलिभिजनबाट प्रसारण हुने 'कमेडी हब' र 'कमेडी क्लब विथ च्याम्पियन' का कारण वर्षौँदेखि प्रसारण भइरहेका मेरी बास्सै, भद्रगोल, सक्किगो नि जस्ता कार्यक्रमका कमेडी समेत दर्शकले मन पराउन छाडेका छन्।

सबै हास्य कलाकारहरू आ–आफ्नै डिजिटल कार्यक्रममा व्यस्त हुन थालेकाले महोत्सव नभएको कमल गाउँलेले बताए। उनले भने, 'मह जोडी हुनुहुन्छ, अन्य हास्य कलाकारहरू पनि हुनुहुन्छ। हाम्रो त्यति राम्रो परम्परा हरायो, मलाई निकै नरमाइलो लागेको छ।'

सबै हास्य कलाकारहरू टेलिभिजन शोहरूमा व्यस्त भएकाले प्रत्यक्ष कार्यक्रम नभएको उनको भनाइ छ। गाउँलेले भने, 'पहिले प्रत्यक्ष दर्शक हसाएर आर्थिक भार धानिएको थियो, अहिले हास्न घरबाट निस्कनै नपर्ने भएपछि समस्या थपिएको छ।'

टेलिभिजन शोहरूमा व्यस्त नभएका र यतिबेला फुर्सदिला बनेका हास्य कलाकार मनोज गजुरेलले कर्मकाण्डी रूपमा एउटा भिडियो भने बनाएका छन्। अर्थमन्त्री जनार्दन शर्माको सीसीटीभी फुटेज काण्डलाई लिएर उनले इन्जिनियर बनेर क्यारिकेचर गरेका छन्।

नयाँ पुस्ताका कमेडियनको हास्यव्यङ्ग्यमा उल्लेखनीय प्रयत्न
कमेडी रियालिटी शोको रूपमा आएको कमेडी च्याम्पियनले केही हदसम्म नयाँ र युवा हास्य कलाकार उत्पादन गर्यो। योसँगै हास्यव्यङ्ग्य भनेको मुख बङ्ग्याउने, अनुहारमा अनेकथरी लिपपोत गर्ने र झुत्रा लुगा लगाउने मात्रै होइन भन्ने भाष्य पनि धेरथोर स्थापित भयो।

नयाँ पुस्ताले हास्यव्यङ्ग्यको पनि 'स्ट्याण्ड अप कमेडी'मा पछिल्लो समय उल्लेखनीय काम गरेका छन्। पहिले पहिले फिल्ममा अनौठा आवाज र लुगा लगाएर दर्शक हसाएका कलाकारलाई नयाँ पुस्ताले विस्तापित पनि गर्दै गए।

अहिले नेपाली टेलिभिजनबाट प्रसारण हुने 'कमेडी हब' र 'कमेडी क्लब विथ च्याम्पियन' का कारण वर्षौँदेखि प्रसारण भइरहेका मेरी बास्सै, भद्रगोल, सक्किगो नि जस्ता कार्यक्रमका कमेडी समेत दर्शकले मन पराउन छाडेका छन्।

दीपकराज गिरीको पुस्ता हास्य व्यङ्ग्य हुँदै मूलधारको चलचित्रमा सिफ्ट भएपछि दर्शकले स्ट्याण्ड अप कमेडीमा स्वाद भेटिरहेका छन्।

तर नयाँ पुस्ताका कमेडी विवादमा पनि फसिरहन्छ।

एक साताअघि कमेडी हबको ट्रेलर प्रसारण भयो। जसमा हिन्दू धर्मावलम्बीको आस्था बोकेका भगवान शिवलाई आधुनिक रूपमा प्रस्तुत गरेर कमेडी गरिएको थियो।

हाँस्यव्यङ्ग्य आफैँमा दोहोरो अर्थ हो। सिधा नभनेर दोहोरो अर्थ लगाएर कुनै विकृति विसंगतिमाथि व्यङ्ग्य गर्नु हो।

ट्रेलरमा राखिएको सानो टुक्राकै कारण विवादमा आएपछि कार्यक्रमका निर्देशक केदार घिमिरे (माग्ने बुढा)ले माफी माग्दै त्यो दृश्य हटाए।

त्यस्तै कमेडी च्याम्पियन दोस्रो सिजनका फर्स्ट रनरअप बिक्की अग्रवालले चलाएको शो 'आम्मा कसम याँ दुख्छ' पनि धेरैले आलोचना गर्ने कमेडी शोमा पर्दछ। रोस्ट गर्ने कार्यक्रम भए पनि छाडा कन्टेन्ट र द्विअर्थी संवाद धेरै नै प्रस्तुत भएको भेटिनछ यो शोमा।

गैर हास्य कलाकारले बनाए कमेडीलाई अश्लील
नयाँ पुस्ता कमेडियनका रूपमा उदाएका कलाकार हुन् प्रभात लामा। नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी हबमा आबद्ध प्रभात हाँस्यव्यङ्ग्यलाई पेशा बनाएकाहरू छाडापनबाट सकेसम्म टाढा रहनुपर्ने बताउँछन्। 

उनले भने, 'जहाँ अन्य कन्टेन्टको बीचमा हसाउनलाई कमेडी गरिन्छ, त्यहाँ अश्लीलतालाई प्राथमिकतामा राखिन्छ। अश्लील कुरा गरेर हसाउन खोजिन्छ।'

उदाहरण दिँदै उनले भने, 'नेपाली फिल्ममा हसाउनपर्यो भने अश्लील कुरालाई दोहोरो अर्थ लाग्ने गरेर प्रस्तुत गरिन्छ। टक शो, डेटिङ शोहरूमा हसाउन दोहोरो अर्थ लाग्ने हाँस्यव्यङ्ग्य गरिन्छ। तर कमेडीलाई पेशा बनाएकाहरूले छाडा र अश्लील कुरामा कमेडी गर्न रुचाउँदैनन्!'

प्रभातका अनुसार हाँस्यव्यङ्ग्य आफैँमा दोहोरो अर्थ हो। सिधा नभनेर दोहोरो अर्थ लगाएर कुनै विकृति विसंगतिमाथि व्यङ्ग्य गर्नु हो। तर नेपालमा भने दोहोरो अर्थ भन्नासाथ छाडा कुरा मात्रै सम्झने भएकाले पनि यस्तो भएको उनले गुनासो गरे। 

यसको दोषी सुरुमा अग्रजहरू र अहिले गैर कमेडियनहरू रहेको उनको ठहर छ।

२७ साउन, २०७९, ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।