दक्षिण कोरियामा ११५ वर्षयताकै भीषण वर्षा, बाढीमा परी कम्तीमा नौ जनाको मृत्यु

दक्षिण कोरियामा ११५ वर्षयताकै भीषण वर्षा, बाढीमा परी कम्तीमा नौ जनाको मृत्यु

एजेन्सीः दक्षिण कोरियाको राजधानी सिओलमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ। सोमबारदेखिको निरन्तर भीषण वर्षासँगै आएको बाढीले भौतिक र मानवीय क्षति गरेको छ।

त्यहाँका अधिकारीहरूका अनुसार सो वर्षा ११५ वर्षयताकै उच्च हो।

बुधबार राति पनि सिओलमा मुसलधारे वर्षा भएको थियो। मुसलधारे वर्षापछि त्यहाँका सडक र गल्लीमा बाढी पसेको थियो। बुधबार मात्र त्यहाँ तीन सय मिलिमिटर वर्षा भएको कोरियाको राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबारसम्म वर्षा अझै बढ्ने र झनै ठूलो बाढी आउनसक्ने आकलन गरिएको छ।

कोरियाको आन्तरिक एवम् सुरक्षा मामिला मन्त्रालयका अनुसार हालसम्म १७ जना घाइते भएका छन्। सात जना अझै हराइरहेको र उनीहरूको खोजी भइरहेको बताइएको छ।

यसअघि सिओलमा सोमबार राति बाढी प्रभावित क्षेत्रबाट कम्तीमा पाँच सय मानिसको उद्धार गरिएको थियो। बाढीका कारण करिब २८ सय भवन, पर्खाल, पसललगायत संरचनामा क्षति पुगेको बताइएको छ।

अधिकारीहरूका अनुसार यसअघि सन् १९०७ मा कोरियामा यत्तिको भीषण वर्षा भएको थियो। गएको मंगलबार मात्र सो क्षेत्रमा ४९७ मिलिमिटर पानी परेको थियो भने बुधबार राति तीन सय मिलिमिटर वर्षा भएको थियो।

२६ साउन, २०७९, ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।