रवीन्द्रले भत्काइदिएको विवेकशील साझा सम्हाल्न तीन नेता प्रतिस्पर्धामा, तर बैठक समेत राख्न सकेनन् 

रवीन्द्रले भत्काइदिएको विवेकशील साझा सम्हाल्न तीन नेता प्रतिस्पर्धामा, तर बैठक समेत राख्न सकेनन् 

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा नल्याएको भन्दै रवीन्द्र मिश्र विवेकशील साझा पार्टीको नेतृत्वबाट बाहिरिने घोषणा गरे सामाजिक सञ्जालमा। संवैधानिक राजतन्त्रको पक्षमा खुल्ला वकालतमा सक्रिय उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सह-अध्यक्षसहित भित्रिन लबिङमा छन्। तर अहिलेसम्म पार्टीमा वैधानिक रूपमा राजीनामा भने बुझाएका छैनन्।

सामाजिक सञ्जालबाट घोषणा गरेको राजीनामालाई निर्वाचन आयोगले स्वीकार गर्दैन। त्यसैले आयोगको सूचीमा अहिले पनि साझाको अध्यक्ष उनी नै हुन्। पार्टीले आयोगमा अध्यक्षले राजीनामा दिएकोबारे केही जानकारी गराएको छैन।

स्थानीय तहको नतिजा मिश्रका लागि साझा छोड्ने राम्रो बहाना भए पनि उनी बाहिरिनुको कारण भने वैचारिक विचलनै देखिन्छ। धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयता स्विकारेको समूहमा उनले विचारभन्दा माथि देश भन्दै विपरितधारको विचारमा हिँडाउने असफल प्रयास गरे। तत्कालीन विवेकशील समूहबाट आएकाहरूले विद्रोह गरे। जसले विद्रोह गरेनन् उनीहरू पनि मिश्रको विचारको विपक्षमा लागे।

स्थानीय तहको निर्वाचन अगाडि नै उनले राप्रपामा विवेकशील साझा एकीकरण गराउने प्रयास नगरेका हैनन्। तर पार्टीमा अल्पमतमा पर्ने देखेपछि उनी पछि हटे। स्थानीय तहको नतिजा पार्टी छाड्ने बहाना बन्यो अनि उनी पछि हटे।

पार्टीको नेतृत्वबाट हटे पनि सदस्यको रूपमा सक्रिय रहने दाबी गरेका उनी राजीनामाको घोषणा गरेदेखि निष्क्रिय छन्। सङ्घीयता र गणतन्त्रको विपक्षमा जनमत बनाउन सामाजिक सञ्जालमा सक्रिय रहेका उनी ह्दयन्द्र शाहलाई संवैधानिक राजा बनाउने अभियानमा लागेका छन् उनी।

यता मिश्र खुलेर पार्टीको नीति विपरीत लागे पनि विवेकशील साझाले उनलाई न कारबाही गर्न सकेको छ न त नयाँ नेतृत्व नै चयन गर्न सकेका छन्। मिश्रले छाडेपछि उनीहरूले संयोजक समेत चयन गर्न सकेका छैनन्।

उनीहरू अहिले मिश्रले राजनीतिक बेइमानी गरे भन्दै उनको आलोचनामा सक्रिय देखिन्छन्। तर सरकारले मङ्सिर ४ मा संसदीय निर्वाचन गर्ने घोषणा गरिसक्दा समेत मिश्रले भत्काएको पार्टीको साख जोरजाम गर्न समेत सकेका छैनन्।

नेतृत्वका तीन आकाङ्क्षी

मिश्रले राजीनामा दिँदै गर्दा विवेकशील समूहसँगको एकतामा संयोजक बनाएका मिलन पाण्डे लगायतकाहरुमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका थिए। एकताताकाको पार्टी संरचना अनुसार मिश्र हिँडेपछि स्वतः पाण्डेले नेतृत्व पाउनुपर्ने हो।

तर पाण्डे समूहलाई कारबाही गरेपछि मिश्र समूहले पार्टीलाई अध्यक्षात्मक प्रणालीमा ल्याएर एकल नेतृत्व लागु गरे। त्यसको आधारमा वैधानिक रूपमा पाण्डेको नेतृत्वमा आउन सकेन साझा।

उनी पार्टीको नेतृत्व लिन प्रयासरत छन्। तर उनलाई अन्य समूहले स्वीकार गरेको छैन। पार्टीको विवाद सडकसम्म लगेको, निर्वाचन आयोगदेखि अदालतसम्म पुगेको अनि स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध समानान्तर गतिविधि गरेको भन्दै उनलाई नेतृत्व सुम्पन बहुमत तयार देखिएको छैन।

पाण्डेको विकल्पमा पार्टीका ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारी नेतृत्वको आकाङ्क्षी देखिएका छन्। उनी पार्टीको महाधिवेशन अगाडिसम्म आफूले नेतृत्व गरेर महाधिवेशनमार्फत नयाँ नेतृत्वको चयन गर्ने पक्षमा देखिएका छन्।

अनि प्रचार विभाग प्रमुख प्रकाशचन्द्र परियार समेत साझाको नेतृत्वको आकाङ्क्षी हुन्। विवेकशील इतर समूहमा उनको बलियो पकड समेत देखिन्छ। तर उनले नेतृत्वका लागि सबैलाई मनाउन भने सकेको देखिएन।

मिश्रले दिएको धोका

‘हामी राजतन्त्र भनेर आएका थिएनौँ, राजावादी भएर साझामा प्रवेश गरेका थिएनौँ। उनी पनि पहिला राजतन्त्रको पक्षमा खुलेका थिएनन्,' अध्यक्षका आकाङ्क्षी अधिकारीले उकेरासँग भने' रवीन्द्रजीले हामी सबैलाई सिद्ध्याइदिनुभयो। अन्तिम अवस्थामा राजतन्त्रका पक्षमा खुले।’

मिश्रले नै बाटो बिराउँदा विवेकशील साझालाई राजनीतिक रूपमा ठुलो धक्का लागेको उनले बताए। यसले पार्टी नै राजावादी भएको भन्दै बदनाम भएको भन्दै चित्त दुखाए।

‘हामीले उहाँलाई नियन्त्रण गर्नै सकेनौँ,' उनले भने' जब नियन्त्रण गर्न खोज्यौ उहाँ बाहिरिन तयार हुनुभयो।’

अध्यक्षका अर्का आकाङ्क्षी परियार पनि मिश्रले राजनीतिक बेइमानी गरेको बताउँछन्। उनले पार्टीको नेतृत्व छाड्दा पनि वैधानिक रूपमा निकास नदिएर पार्टीलाई नै सिद्ध्याउने काम गरेको बताए।

‘वैधानिक निकायमा निकास दिएर राजीनामा दिनुभएन राजनीतिक बेइमानी गर्नुभयो,’ उनले भने, ‘ अब राजनीतिक, प्राविधिक र वैधानिक निकास प्याकेजमा खोज्नुपर्छ।’ 

‘हामीमाथि गरिएको कारबाही त्यसपछिका निर्णयको वैधानिकता र अबको निकासको बारेमा सघन छलफलमा छौँ,’ मिलन पाण्डेले भने, ‘हामी छिट्टै निकास दिनेछौँ। अब धेरै अनिश्चयमा रहेर कोही कतै पुग्दैनौ फेरी जागरणमा आउँछौँ।’

कसले पाउँला नेतृत्व ?

नेतृत्वको आकाङ्क्षी तीनै जनामध्ये कुनै एकको मात्र पार्टीमा पकड देखिएको छैन। तीनै जना एक्ला एक्लै प्रतिस्पर्धामा जाँदा बहुमत पुर्याउन कठिन हुने साझा विवेकशीलको संरचनाबारे जानकारले बताए।

मिश्रको राजीनामापछि अधिकारीले पार्टी नेतृत्वको प्रयास गर्दै बैठक बोलाएका थिए। तर उनको आव्हान अरूले टेरेनन्।

उनी पार्टीको ज्येष्ठ सदस्यको नाताले पार्टीको बैठक बोलाएको र पुन बैठक बोलाउने तयारीमा रहेको बताउँछन्।

‘ज्येष्ठ सदस्यको नाताले मैले बैठकका आव्हान गरौँ भनेको छु, बहुमत पुगेमा पहिलो बैठकबाटै महाधिवेशनसम्मको लागि सकेसम्म सर्वसम्मत नेतृत्व र नसकेमा बहुमतबाट नेतृत्व छान्ने विचारमा छु,’ उनले भने।

उनले सम्भव भए सङ्घ र प्रदेशको निर्वाचन अगाडि नै महाधिवेशन गर्ने र सम्भव नभए निर्वाचन सकिएको एक महिनाभित्रमा महाधिवेशन गरेर नेतृत्व चयन गर्ने आफ्नो योजना रहेको बताए।

निर्वाचन आयोगसँग परामर्श गरेर भदौको पहिलो सातासम्ममा कम खर्चिलो र विधिसम्मत रूपमा विशेष महाधिवेशन गर्ने पक्षमा परियार देखिए। के गर्दा छिटो निकास आउँछ परामर्शबाट सोही काम गर्ने पक्षमा पाण्डे समूह देखियो।

उनले पार्टी एकीकरणपछि जिम्मेवारीमा आएका र समानान्तर गतिविधि गरेको भन्दै कारबाहीमा परेका आफू पक्षीय कार्यकर्तालाई मिलाएर लैजाँदा आउन सक्ने कानुनी र विधिसम्मत बाटोको खोजी गरिरहेको बताए।

१८ हजार कार्यकर्ता भएको दाबी

विवेकशील साझा पार्टीमा १८ हजार सदस्य रहेको उनीहरूको दाबी छ। तर मिश्रको विवादित विचारसँगै पार्टी छाड्नेहरूको सङ्ख्या बाक्लै देखिएको थियो। राजीनामा नदिएकाहरू पनि पार्टीको गतिविधिमा निष्क्रिय बन्दै गएका छन्।

वितृष्णालाई रोकेर पार्टीमा संलग्नहरूलाई आशावादी बनाउने योजनामा देखिए परियार। तर वैचारिक र व्यवहारिक रूपमै मुर्झाइसकेको पार्टीलाई ब्युँझाउन त्यति सहज भने देखिन्न।

‘हामीले धेरै आशा जगायौँ। धेरै अपेक्षा गरियो तर त्यो अनुसारको क श्रेणीको दलको भूमिकामा खाह्रो उत्रन भने सकेनौँ,’ परियारले भने।

को कता छन् ?

पार्टी प्रवक्ता शरद पाठक, हरि गौतम लगायतकाहरु मिश्रको पक्षमा छन्। महेन्द्र थापा, निर्देश सिलवाल, विराजभक्त श्रेष्ठ लगायतका भीम अधिकारीको पक्षमा छन्। पाण्डेसँग हरिस भट्ट, सरोज गौतम लगायतका नेताहरू देखिएका छन्।

परियारलाई समीक्षा बास्कोटा, निरुपमा यादव, शोभा शाक्य, किशोर थापा, डा उमेद पुन लगायतले साथ दिइरहेका छन्।

मिश्र र राप्रपाका नेताहरूको संवाद सफल भएमा उनीसँगै उनी निकट नेताहरू पनि राप्रपा जाने सम्भावना देखिन्छ। पाठक महामन्त्रीको रूपमा राप्रपा जाने तयारीमा रहेको दाबी समेत आएका छन्। तर पाठक यस्तो कुरै नभएको दाबी गर्छन्।

‘राप्रपा प्रवेश गर्ने र महामन्त्री माग गरिएको विषय सरासर गलत हो,’ विवेकशील साझाका प्रवक्ता पाठकले भने।

के छ तयारी ?

जानकारका अनुसार १ सय १३ जनाको केन्द्रीय समिति रहेको पार्टीको बैठक राखेर पाण्डे समूहमाथि भएको कारबाही फिर्ता लिने तयारी भइरहेको छ। अधिकारी सहमतिको आधारमा आफूमा नेतृत्व आओस् भन्ने पक्षमा देखिएका छन्। सहमति नभएको अवस्थामा बहुमतको आधारमा नेतृत्व चयन हुने उनी बताउँछन्।

समानान्तर गतिविधिका कारण नेतृत्वमा नरुचाइए पनि भेलाले रुचाएको खण्डमा पाण्डे र प्रभावशाली नेताको साथ रहेको भनिएको परियारबिच नेतृत्वमा प्रतिस्पर्धा हुने देखिन्छ।

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने घोषणा गरेका मिश्र भने निर्वाचन लड्ने तर कसरी कुन पार्टीबाट वा स्वतन्त्र भन्ने विषयमा प्रस्ट छैनन्।

‘निर्वाचन लड्छु तर कसरी भन्नेमा पछि मात्र थाहा हुन्छ,’ मिश्रले सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन्। राजीनामा बुझाएर हिँडेका मिश्र आवश्यक सहयोग गर्ने बताउँछन् तर उनले सामाजिक सञ्जालबाट राजीनामा दिएर राजीनामा मेल गरेर बसेका छन्। त्यसपछि उनी निकास दिनेगरी पार्टीका नेताहरूसँग सम्पर्कमा छैनन्।

२३ साउन, २०७९, १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।