हिजोका कुरामा गायिका ज्ञानु राणा : गीतको मर्मसँगै बर्सिएको असिना-पानी र मह जोडीको त्यो ठट्टा 

हिजोका कुरामा गायिका ज्ञानु राणा : गीतको मर्मसँगै बर्सिएको असिना-पानी र मह जोडीको त्यो ठट्टा 

प्लस टुमा होम्स साइन्स विषय अध्ययन गरेकी ज्ञानुले भारतको बरोडास्थित एमएस युनिभर्सिटीबाट संगीत सिकेकी हुन्। किशोरावस्थादेखि नै संगीतमा सक्रिय राणाले नेवारी, मैथिली, भोजपुरी, उर्दु, रुसी, चिनियाँ, जापानी, बंगलादेशी भाषाका गीत समेत गाएकी छन्। 

नेपाली संगीतिक क्षेत्रकी ज्युँदो-जाग्दो इतिहास हुन् ज्ञानु राणा। २००६ साल कात्तिकमा काठमाडौंको ठमेलमा जन्मिएकी उनी जनकवि केशरी धर्मराज थापा र सावित्री थापाका पाँच सन्तानमध्ये जेठी छोरी हुन्। 

काठमाडौंमा जन्मे पनि बुबाको जन्मथलो पोखराको बाटुलेचौरबाट ३ कक्षासम्मको अध्ययनपछि उनी पुन: बुबासँगै काठमाडौं आइन्। काठमाडौं आएर डिल्लिबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयबाट एसएलसीसम्मको शिक्षा पूरा गरिन्। 

जीवनका ७० बसन्त पार गरिरहेकी ज्ञानुले ३० वर्षयता कुनै गीत रेकर्ड गराएकी छैनन्। यद्यपि, उनी अझै पनि आफ्नो समय गायनमै बिताउँछिन्। विभिन्न कार्यक्रममा सहभागी भइरहन्छिन्। बिहान ४ बजे निद्रा खुलेपछि उनी हार्मोनियम बजाएर आफ्नो स्वरलाई सुरिलो बनाएर मात्र आफ्नो नित्यकर्म सुरु गर्छिन्।

हालसम्म झन्डै ३५ सय गीत गाइसकेकी ज्ञानुले स्वर सम्राट नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा जस्ता दिग्गज कलाकारसँग युगल गीत गाएकी छन्। गायन कलाकै कारण उनले थुप्रै अवार्ड पाइसकेकी छन्।

कोइलीको स्वर सुन्दै हुर्केको त्यो बालापन
ज्ञानुका बुबाको जन्मथलो पोखराको बाटुलेचौरमा भए पनि कर्मथलो भने काठमाडौं थियो। उनका बुबाले २०१३ सालदेखि जागिर सुरु गरेका थिए। लोकगीत, कविता, कला साहित्यमा जमेका उनका बुबा धर्मराज थापा ऊबेला रेडियो नेपालमा लोकगीत प्रबन्धकको रुपमा काम गर्थे।

उनका आमा-बुबा सँगै ठमेलस्थित डेरामा बस्थे। ज्ञानुको जन्म त्यहीँ भयो। सुरुमा उनको नाम योगमाया थापा थियो। जन्मैदेखि शान्त अनि ज्ञानी स्वभावकी भएकीले घरबेटीले ‘यो बच्चा त कस्तो ज्ञानी रहेछ है, रुँदै नरुने!, चकचक नगर्ने, यसको नाम ज्ञानु राख’ भन्दै बुबा धर्मराजलाई सुझाव दिएछन्। सोही कारण उनको नाम योगमायाबाट ज्ञानु रहन गयो।

‘जहाँ राखे पनि, आमाले छोडेर गए पनि, भोकै भए पनि, मिठो-नमिठो जस्तो भए पनि कतिखेरै नरुने, झगडा र चकचक नगर्ने स्वभावकी थिएँ रे। साह्रै ज्ञानी थिएँ रे,’ उनी  सम्झन्छिन्, ‘म धेरै नै ज्ञानी भएकोले बाहुनले राखेको योगमाया नामबाट बुबाले मेरो नाम ज्ञानु राख्नुभएको रहेछ।’ 

जन्मेको तीन महिना पुगेपछि ज्ञानुलाई बुबा-आमाले बाटुलेचौर पुर्याए। उतै हुर्किइन्। बाल्यकाल अनि पोखराको रमणीय वातावरण अहिलेभन्दा मनमोहक थियो त्यो बेला। वरपरको हरियाली बन-जंगल, आँगनबाटै छर्लंग देखिने सेताम्य हिमालहरुको दृश्य उनको मस्तिष्कमा अझै पनि ताजै छ।

‘हाम्रो घरबाट हिमाल र डाँडाहरु छर्लंगै देखिन्थे। वरपरको बन-जंगलबाट कोइली, न्याउली र अन्य चराचुरुंगीको आवाज सुन्दै दिनको सुरुवात हुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘उठ्नेवित्तिकै झ्याल खोल्यो भने हिमाल देखिन्थ्यो। चराहरुको आवाज नसुनेको दिन हुँदैनथ्यो। साँझ परेपछि झ्याउँकिरीको आवाजले माधुर्यता थपिदिन्थ्यो। त्योबेला पोखराको वातावरण यति धेरै रमणीय थियो कि बयान गरी साध्य छैन।’

उनी हुर्केको गाउँनजिकै काली खोला बग्थ्यो। गाउँमा धारा पुगेको थिएन। गाउँका महिलासँगै ज्ञानुकी आमाले पनि उकाली-ओराली गर्दै काली खोलाको पानी बोकेर ल्याउँथिन्। 

डोकोमा पोखरा-काठमाडौं यात्रा
जागिरको सिलसिलामा काठमाडौं आउनु परेपछि धर्मराजले ज्ञानु र उनका भाइलाई पनि आफूसँगै काठमाडौं ल्याए। त्यसबेला ज्ञानुको उमेर ६ वर्षको थियो। 

२०१६ सालमा काठमाडौं र पोखरा बस चल्दैनथ्यो। ज्ञानुका बुबा हिँडेरै काठमाडौं-पोखरा आउने जाने गर्थे। हवाईमार्ग थियो। तर त्यो महँगो थियो। प्लेनको टिकट काटेर काठमाडौं पुग्न ज्ञानुका बुबाको आर्थिक अवस्थाले धान्दैनथ्यो। सोही कारण उनलाई डोकोमा बोकेर काठमाडौं ल्याइएको थियो।

‘त्योबेला त गाडी चल्दैनथ्यो, बाटोघाटो पनि थिएन। हामी सानै भएकोले भाइ र मलाई बुबाले भरियामार्फत डोकोमा हालेर काठमाडौं पुर्याउनुभएको मलाई सम्झना छ,’ ज्ञानु सुनाउँछिन्, ‘त्यतिबेला हिँड्दै सात दिन लगाएर काठमाडौं आइपुगिन्थ्यो। खोलानाला, जंगल पार गर्दै आउनुपर्थ्यो।’ 

ज्ञानुका बुबाको मासिक तलब करिब ५ सय हुन्थ्यो। गाउँमा जग्गा-जमिन भए पनि पैसाको खाँचो परिरहन्थ्यो। नयाँ लुगा लगाउन र मिठो खानेकुरा खान दसैं नै कुर्नुपर्थ्यो। आफ्नो बाल्यावस्था संघर्षमय बितेको सम्झना गर्दै उनी सुनाउँछिन्, ‘त्यो बेलामा ५ सय भनेको ठूलै रकम भए पनि बुबालाई हामी सात जनाको जीविका चलाउन मुस्किल पर्थ्यो। हामी गाउँमा गहुँको आटा, मकै र भटमास खान्थ्यौं। बदाम हाम्रो खाजा हुन्थ्यो। दु:खै थियो।’ 

लेखनाथ पौड्याल, भवानी भिक्षु र लक्ष्मीप्रसाद देवकोटाहरुले दिएको त्यो आर्शिवाद
पोखरामै जन्मे-हुर्केका उनका बुबा जनकवि केशरी धर्मराज थापा सानैदेखि लोकगीत गाइरहन्थे। विद्यालयको पाठ्यक्रममा समेत भएको कालजयी गीत ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ र ‘नेपालीले माया मार्यो बरिलै’, ‘धुरुधुरु नरोउ आमा’, ‘हाम्रो तेन्जिङ शेर्पाले चढेको हिउँचुली’ जस्ता कैयौं गीतमार्फत थापाले लोकप्रियता हासिल गरिसकेका थिए।

उनका गीतमा मौलिकता र सामाजिक मर्म जोडिएको हुन्थ्यो। उनका बुबाले त्यतिबेला २ सयभन्दा बढी गीत रेकर्ड गराइसकेका थिए। ज्ञानुको बाल्यकालमा गीत रेकर्ड गराउन उनका बुबा भारतको कलकत्ता पुग्थे। आफैं किताब लेख्ने, कविता लेख्ने, आफैं शब्द रचना जस्ता कार्यमा क्षमतावान् व्यक्ति थिए उनी।

बुबाकै कारण ज्ञानुको पारिवारिक माहोल साहित्य र संगीतमय बनिरहन्थ्यो। त्यतिबेला उनको डेरा पद्मकन्या स्कुलनजिकै डिल्लीबजारमा थियो। ज्ञानु त्यही स्कुलमा भर्ना भएकी थिइन्। उनको घरमा बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, पारिजात जस्ता दिग्गज साहित्यकारको घरमा आवतजावत चलिरहन्थ्यो। 

संगीतमा रुचि राख्ने र जेठी छोरी भएकोले पनि होला धर्मराजले छोरीलाई पनि आफूसँगै ती साहित्यकारसँग भेट गराइदिन्थे। त्यतिबेला ज्ञानु १४ वर्षकी हुँदी हुन्, बुबाले सिकाइदिएका भाका गुन्गुनाउने गर्थिन्।

‘म सानै थिएँ, उहाँहरु सबै जना बुबाका हितैसी मित्र हुनुहुन्थ्यो। बुबाले मेरो जेठी छोरी भनेर उहाँहरुको घरमा लिएर चिनाइदिनुहुन्थ्यो,’ ज्ञानु भन्छिन्, ‘लेखनाथ पौड्यालको सेतो र लामो दाह्री, बुढो मान्छे अझै झझल्को आउँछ। उहाँले मलाई सुरुमै ‘नानी गीत गाउँछ्यौ ?’ भन्दै सोध्दा मैले बुबाले गाउन सिकाउनु भएको लोकगीतको सानो टुक्रा गाएर पनि सुनाएको थिएँ। बालकृष्ण समलाई पनि गाएर सुनाएको थिएँ। उहाँहरुले राम्रो छ, अझै राम्रो गर भन्दै आर्शिवाद पनि दिनुभएको थियो। लक्ष्मीप्रसाद देवकोटाको घरमा गएर हरेक दसैंमा टीका पनि थाप्थ्यौं। त्यतिबेला मैले उहाँहरु सबैको आर्शिवाद पाएँ।’ 

बुबाले अरुलाई नै सिकाउँदा लुकेर गाएको ‘जाने कहाँ हो राजै बाटो देखाइदेउ’ बोलको लोकगीतले उनको सांगीतिक यात्रा सुभारम्भ भयो र त्यही गीतको कारण उनको स्वर र प्रतिभाले पहिचान पायो। 

स्वर सम्राटहरुसँग युगल गीत
किशोरावस्थामा थिइन् ज्ञानु। उनी आफूले गाएका अन्तराहरुको भाव नबुझे पनि गाइरहन्थिन्। गायन प्रतिभाकै कारण नारायण गोपालले एक दिन ‘ज्ञानु मलाई तिमीले गाएको लोकगीत मनपर्छ, तिम्रो बुबाको लोकगीत मनपर्छ’ भन्दै आफूसँग युगल गीत गाउन प्रस्ताव गरेका थिए। सुरुमा त उनलाई स्वर सम्राटको छवि बनाइसकेका नारायण गोपालले गरेको प्रस्ताव पत्यार लागेको थिएन। तर पनि सो प्रस्ताव स्वीकार्दै ४० वर्षअघि आफ्ना बुबा धर्मराजको शब्दमा सजिएको ‘सिरिमा सिरी, बतासै चल्यो’ गीत गाइन्। जसले उनको चर्चा चुलियो।

नारायण गोपाललाई दाइ सम्बोधन गर्छिन् ज्ञानुले। स्वरको मामिलामा उनले नारायण गोपाल, बच्चु कैलाश र लता मंगेशकरलाई उच्च स्थान दिन्छिन्। भन्छिन्, ‘नारायण दाइ जत्तिको सरल व्यक्तित्व र मनमा अहंकार नबोकेको व्यक्ति सायद मैले भेटेको छैन। मलाई नारायण दाइ र बच्चु कैलाश अनि लता मंगेशकरको स्वर औधी मनपर्छ। नारायण दाइले गाएका कालजयी गीतहरु अमर रहे तर बच्चु कैलाश दाइले भने बीचमै गाउन छोड्नु भयो। उहाँहरुको स्वर र प्रतिभाले धनी हुनुहुन्थ्यो।' 

त्यतिबेला महिला र पुरुषको लागि छुट्टाछुट्टै माइक राखिएको हुन्थ्यो। लहरै संगीतकार हुन्थे। अहिलेजस्तो ट्र्याकमा गाउने चलन थिएन। एक पटक ज्ञानुले नारायण गोपालसँग ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’ गीत गाउँदा धेरै पटक बिग्रियो। तर पनि नारायण गोपालले ज्ञानु निराश नबन भन्दै प्रोत्साहन थपिरहे। 

त्यो क्षण सम्झिदै ज्ञानु सुनाउँछिन्, ‘गीत गाउँदा ध्यानपूर्वक भावमा डुबेर गाउनुपर्थ्यो। धेरै अभ्यासपछि रेकर्डका लागि तयार भइन्थ्यो। तैपनि, कहिले म आफैं बिगार्थें, कहिले संगीतकारहरुले बिगारिदिन्थे, कहिलेकाहीँ जोडले श्वास फेर्दा गीत बिग्रिन्थ्यो। र, पनि नारायण दाइले मलाई, ‘ए, तिमी एकदम राम्रो गाइराछौ, ढुक्क भएर गाउ, केही बिग्रेको छैन’ भन्दै प्रोत्साहन दिनुहुन्थ्यो। रेकर्डिङ नभएका बेला मलाई नारायण दाइले न्युरोडमा रसवरी खुवाउन लैजानुहुन्थ्यो।’ 

नारायण गोपालले कार्यक्रमहरुमा ज्ञानुलाई सँगै लिएर जान्थे। २०३७ सालमा पोखरामा आयोजित सांगीतिक कार्यक्रममा दुवैले सिरिमा सिरी बतासै चल्यो र मान्छेको माया यहाँ खोलाको पानीजस्तो बोलको गीत गाएर माहोल तताएका थिए। भीडले ‘वान्स मोर’ भन्दै निरन्तर चिच्याएपछि दुवैले एउटै गीतलाई तीन पटकसम्म पनि गाएका थिए।

ज्ञानुले गोपाल योञ्जन, कुमार बस्नेत, तारा देवी, अरुणा लामा, प्रेमध्वज प्रधान, पाण्डव सुनुवारसँग युगल आवाज पनि दिएकी छिन्।

ज्ञानुले विभिन्न चलचित्रको लागि पनि गीत गाइन्। ऊबेला अहिलेजस्तो प्रतिस्पर्धा गर्नुपर्दैनथ्यो। जसले संगीत क्षेत्रमा प्रवेश गर्यो उसले लोकप्रियता कमाएकै हुन्थ्यो। एकले अर्कालाई सम्मान गर्ने प्रचलन थियो। 

सिक्किममा गीतको मर्मसँगै आएको त्यो असिना पानी २०३५ सालमा ज्ञानुले नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरको अवसर पाएकी थिइन्। प्रतिष्ठानले विभिन्न खाले कार्यक्रम आयोजना गरिरहन्थ्यो। जागिरकै क्रममा उनले विभिन्न चलचित्रको लागि गीतहरु गाउने गर्थिन्। विभिन्न कलाकारहरुसँग गफगाफ चलिरहन्थ्यो। 

कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य उनलाई भेट्न प्रज्ञा भवनमै पुग्ने गर्थे। फुर्सदको समयमा उनीहरु चिया पिउँदै लामो समयसम्म गफिँन्थे।

एक पटक प्रज्ञा प्रतिष्ठानले सिक्किममा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। २०४५ साल, हिउँद मासको महिना थियो। ज्ञानु, तारादेवी, कुमार बस्नेत, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायत थुप्रै कलाकार सिक्किम पुगेका थिए। कार्यक्रम हेर्न ठूलो संख्यामा दर्शक उपस्थित भएका थिए। सिक्किमका तत्कालीन मन्त्री नरबहादुर भण्डारी कार्यक्रमका प्रमुख अतिथि बनेका थिए।

कार्यक्रम सुरु हुने बेलादेखि नै मौसम पनि मनमोहक बनेको थियो। जाडोमा पारिलो घाम लागिरहेको थियो। मौसम र माहोलको आनन्द दर्शक र कार्यक्रममा उपस्थित सबैले लिइरहेका थिए।

कार्यक्रममा नेपालबाट गएका यी सबै कलाकारले आ-आफ्नो कला प्रस्तुत गर्ने तालिका थियो। तालिका बमोजिम तारादेवी, मदनकृष्ण श्रेष्ठ र हरिवंश सबैले पालोअनुसार आफ्नो प्रस्तुति दिइसकेका थिए।

ज्ञानुको गीत गाउने पालो आइसकेको थियो। उनको लागि मञ्च तयार थियो। जसै ज्ञानुले तयारीअनुरुप ‘आज पानी परेन किन नि, इन्द्र होकी बादलु बेमानी’ बोलको गीत गाउन सुरु मात्र के गरेकी थिइन्, एक्कासि आकाशमा कालो बादल मडारिएर आयो। गीत नसकिँदै ठूल्ठूलो असिनाको दाना र पानी बर्सिन थाल्यो। सबैलाई चकित पार्ने गरी भएको त्यो दृश्य ज्ञानुको लागि जिन्दगीकै अविष्मरणीय क्षण बनिदियो।

‘म स्टेजमा पुग्ने बेलासम्म चहकिलो घाम लागिरहेकै थियो। जब मैले स्टेजमा पुगेर ‘आज पानी परेन किन नि, इन्द्र होकी बादलु बेमानी, साइको घर कहाँ हो कहाँ’ गाउन सुरु गरेको थिएँ, एक्कासि आकाशमा बादल मडारिएर आयो र जीवनमा कहिल्यै नदेखेको असिना पर्यो। दर्शकको भागाभाग भयो,’ उनी भन्छिन्, ‘माहोल जमिरहेका बेला त्यस्तो भइदियो। अझै पनि सम्झिँदा छक्क पर्छु?’

कार्यक्रममा गएका सबै कलाकारले त्यो घटनालाई लिएर लामो समयसम्म ज्ञानुलाई जिस्क्याइरहे। अहिले भेट हुँदा पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य त्यही घटनालाई लिएर ‘क्या हो ज्ञानु दिदी, गीत गाएरै असिना पार्दिने' भनेर जिस्क्याउने गर्छन्।

चिनियाँ र रुसी भाषामा गीत गाउँदाको हुटिङ
प्रज्ञा प्रतिष्ठानमा जागिरे भएपछि ज्ञानु प्रज्ञाले विभिन्न मुलुकमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने मौका पाइन्। जापान, चीन, रुस, बंगलादेश, पाकिस्तान जस्ता मुलुक गइन्। उनी जुन-जुन देश पुग्थिन्, त्यहाँको राष्ट्रिय भाषामा गीत गाएर सुनाउँथिन्।

विभिन्न देशका भाषामा गीत गाउँदा खुब मिहिनेत गर्नुपर्थ्यो। तर उनी पछि हट्दिनथिइन्। उनको गीत सुन्ने जोकोही फ्यान बनेर निस्किन्थे। उनीसँग अटोग्राफ लिन्थे र तस्बिर खिचाउँथे।

विभिन्न भाषामा गाउने गीतहरुको शब्द र लय ज्ञानु स्वयंले भने तयार गर्दिनथिन्। प्रज्ञा प्रतिष्ठानबाट सँगै गएका लिडरले उनलाई शब्दको अर्थ, शब्द, लय सबै सिकाइदिएका हुन्थे। कार्यक्रममा जानुअघि ‘ज्ञानु तिमी कार्यक्रमको लागि जुन देश जान्छौ त्यही देशको भाषामा गीत तयार गरेर आउ’ भन्दै उनलाई निर्देशन दिएका हुन्थे। सोही बमोजिम उनी क्यासेट ल्याएर महिना दिनसम्म अभ्यास गर्थिन्। र, सुरिलो भाकामा गाएर सुनाइदिन्छिन्। 

‘एक पटक चीनमा आयोजित कार्यक्रममा मैले र दीप श्रेष्ठले संयुक्त रुपमा चिनियाँ भाषाको गीत गाएर सुनाएका थियौं,’ ज्ञानु भन्छिन्, ‘गीत गाइसकेपछि कार्यक्रममा सहभागी चिनियाँहरु फूलको गुच्छा लिएर दौडिँदै स्टेजमा आएर मलाई फूल दिए। अटोग्राफ र मसँग फोटो खिचाउन आएका थिए।’ 

पहिलेका संगीत दमदार, अहिलेका खहरेको भेलजस्तै
पहिले-पहिले हरेक गीतको आफ्नै मौलिकता हुन्थ्यो। तर अहिले त्यो मौलिकता र मार्मिकता हराएको ज्ञानुलाई महसुस हुन्छ। ‘ऊ बेला बुबाले मलाई सिकाएका तीजका गीतमा मौलिकता हुन्थ्यो, व्यावहारिकता हुन्थ्यो। अरु गीतहरु पनि मार्मिक हुन्थे, शब्दहरुको गहिरो अर्थ हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर अचेल, एउटा कोठा बाहिर ननिस्की गीत रचना गर्छन्। जे मन लाग्यो त्यही रचना गर्छन्। आफ्नो लोकगीत, लोक संस्कृति कता लानुपर्छ, गीतको मौलिकता हराएर गइसक्या छ।’

सुविधा  र स्वतन्त्रता हुँदाहुँदै गीतको मार्मिकता र गुणस्तर खस्किएजस्तो ज्ञानुलाई लाग्छ। पहिलेका गीतमा मिहिनेत गरिएकोले दमदार हुने र अहिलेका गीतमा मिहिनेतै नहुने हुँदा खहरेजस्तो बन्ने गरेको उनी बताउँछिन्।

‘पुराना गीतमा शब्दहरु गहकिला हुन्छन्। संगीतमा मिहिनेत हुन्छ। गायक-गायिकाले पनि लामो अभ्यास गरेका हुन्छन्। शब्दको भावनामा डुबेर, भाव बुझेर र अरुलाई पनि भावना मग्न हुनेगरी गाएका हुन्छन्,’ उनी भन्छिन्, ‘तर अचेल स्टेज, ट्र्याक सबै तयार हुन्छ र गायकले सर्रर गीत गाउँछ। न भाव हुन्छ, न गीतको मर्म बुझेको हुन्छ। यस्ता गीत उर्लंदो खहरे खोलासरह हुन्छन्।’

पहिले रचनाकारले गाउँघर डुलेर, नेपाली सुगन्ध, नेपाली जनजीवन, प्रकृतिसँग रमाएर, आफूले देखेभोगेका कथावस्तुलाई गीतमार्फत पस्किने गर्थे। तर अहिले सतहमै गीतहरु उत्पादन गर्ने र संगीत पनि विकृतितिर धकेलिरहेको जस्तो उनलाई लाग्छ। ‘पछिल्लो समय संगीतको नाममा भइरहेको विकृति, विसंगतिले हाम्रा झर्रा, मौलिक संगीतहरु मर्दै गइसके। यस्तै अवस्था रहने हो भने नेपाली संगीत चिन्न र भेट्न नपाइने दिन आउने निश्चित छ,’ उनी चिन्ता व्यक्त गर्छिन्।

१९ साउन, २०७९, १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।