नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ। बुधवार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई सिंहदरबारमा भेटेर ज्ञापन पत्र बुझाउँदै ऐन ल्याउन माग गरेको हो।

चरम बेतिथिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै उनीहरूले तत्काल सुधारका कदम चाल्न समेत माग गरेका छन्।

२०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँ पटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने  उनीहरूको माग छ।

सामुदायिक शिक्षादेखि व्यवसायीक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरूको माग छ।

शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्टाउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको  अखिल क्रान्तिकारीको  माग पत्रमा उल्लेख छ।

'विभिन्न मानकहरूलाई आधार मानेर हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई संसारको उत्कृष्ट एक हजारको सूचिमा पनि पर्न निकै कठिन छ' क्रान्तिकारीले भनेको छ,'एकातिर, विश्वविद्यालय पढ्न चाहने उत्कृष्ट विद्यार्थीहरूको रोजाई त्रिभुवन विश्वविद्यालय बन्न सकिरहेको छैन भने अर्कोतिर, दक्ष जनशक्ति बिदेसिने ‘ब्रेन ड्रेन’को समस्या दिनप्रतिदिन बढिरहेको छ।शिक्षाका कुनै पनि क्षेत्र सन्तोषजनक छैनन्।'

प्राविधिक शिक्षा नाम मात्रको प्राविधिक शिक्षा जस्तो महसुस हुन थालेको भन्दै अखिल क्रान्तिकारीले पुरै शिक्षा क्षेत्र नै उद्धारको पर्खाइमा रहेको उल्लेख गरेको छ।

अखिल क्रान्तिकारीले आफ्नो मागको पहिलो बुँदामै नयाँ शिक्षा ऐनको तत्काल जारी गर्न भनेको छ।

उसले आंशिक प्रध्यापकहरुलाई स्वतः स्थायी गर्ने भनी आएका विभिन्न समाचारहरू प्रति गम्भीर आपत्ति जनाएको छ।।

'संविधानले नै ग्यारेन्टी गरेको अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षालाई व्यावहारिक रूपमा सुनिश्चित गरिनुका साथै सम्पूर्ण शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व बनाइयोस्।'अखिल क्रान्तिकारीले ज्ञापन पत्रमा भनेको छ,'चिकित्सा शिक्षाको क्षेत्रमा देखिएको नीतिगत त्रुटिलाई तत्काल सच्याएर यस क्षेत्रमा देखिएको ‘ब्रेन ड्रेन’को समस्याको यथाशीघ्र अन्त्य गरियोस्।'

अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्न पत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गरी यस्तो प्राज्ञिक बेथितिको पूर्णतया  अन्त्य गर्न माग गरेको छ।

'विश्वविद्यालयको एउटा महत्त्वपूर्ण पक्ष नै शैक्षिक क्यालेन्डर हो तर आज भोलि विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डरको अनियमितताले गर्दा लाखौँ विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको छ। तसर्थ, अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर नियमित बनाई सोही अनुरूप विद्यार्थी भर्ना, कक्षा सञ्चालन,परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने व्यवस्था मिलाइयोस्।'अखिल क्रान्तिकारीले भनेको छ,'त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिना भित्रमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयन गरियोस् ।'

त्रि.वि.लगायतका अन्य विश्वविद्यालयहरूमा पदाधिकारी लगायत विभिन्न नियुक्तिहरूमा हुने राजनीतिक भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्ने व्यवस्था गर्न समेत उसले भनेको छ।

प्रत्येक २/२ वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरूमा करिब १४ वर्ष देखि हुन सकिरहेको छैन भन्दै अखिल क्रान्तिकारीले पछिल्लो समय मिति २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरूमा पनि झन्डै ६ वर्ष देखि स्ववियुविहिन भएकोले तत्काल सबै विश्वविद्यालयहरूमा तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरी तनावरहित वातावरणमा निर्वाचन हुने परिपाटी मिलाउन माग गरेको छ।

१८ साउन, २०७९, २२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।