'धनीहरूको क्लब'बाट पहिचान फेरेर विपन्न र समाजको सेवामा केन्द्रित रोटरी क्लब

'धनीहरूको क्लब'बाट पहिचान फेरेर विपन्न र समाजको सेवामा केन्द्रित रोटरी क्लब

बुटवलः कुनै समय रोटरी क्लब, रोट्याक्ट क्लबलाई 'धनीका क्लब' भनिन्थ्यो। उनीहरू पैसा उठाउने अनि खानपिनमा रमाउनका लागि क्लब खोलेका हुन् भन्ने धारणा आम जनमानसमा थियो।

अधिकांश उच्च आय भएका मानिस आबद्ध हुने यी क्लबमा न्यून, मध्यम आय भएका वर्ग आबद्ध हुन हच्किन्थे।

अहिले यी क्लब समाजका सेवक बनेका छन्। हरियाली प्रवर्द्धन, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम यी क्लबका प्राथमिकतामा परेका छन्।

रुपन्देहीका रोटरी, रोट्याक्ट क्लबहरूले अहिले करोडौं खर्चेर सामाजिक कार्य गरिरहेका छन्। 

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, मुटु अस्पतालमै मिर्गौला डाइलाएसिस उपचार केन्द्र यिनै रोटरीको सहयोगमा सम्भव भएका हुन्।

यस्तै बुटवलको हरियाली प्रवर्द्धन, विभिन्न विद्यालयका अति विपन्न, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर, प्राकृतिक प्रकोपबाट पीडित बनेकाहरूमा रोटरी क्लबले साथ दिइरहेको छ।

यस क्षेत्रमा रोटरी क्लबले ‘ड्रिम प्राजेक्ट’ का रूपमा गौतमबुद्ध मुटु अस्पताललाई लिएको छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवलले ११ करोड बढी लागतमा मुटु अस्पताल स्थापनासँगै विभिन्न जिल्लामा डायलायसिस सेवा समेत प्रदान गर्दै आएको छ।

दाङको लमही, पाल्पा, स्याङजाको वालिङमा पनि मिर्गौला डायलायसिस सेन्टर स्थापना भएको छ। त्यहाँ डायलायसिस सेवा उपलब्ध भएसँगै बहुसंख्यक मृगौलाका रोगीहरू उपचारका लागि बुटवल आउनुपर्ने बाध्यता हटेको छ। 

क्लबले शिक्षा, सरसफाई लगायतका क्षेत्रमा पनि काम गर्दै आएको क्लबका संस्थापक अध्यक्ष एजाज आलमले बताए।

‘हामीले रोटरी क्लबबाट नयाँ काम गर्नुपर्छ भनेर टिम बनायौँ। मुटुको उपचार यहाँ हुने थिएन। पश्चिम क्षेत्रमै पहिलो पटक मुटुको अस्पताल बनाउन सके यस क्षेत्रका धेरैले सेवा पाउँछन् भन्ने ठानेपछि एउटा अभियान चाल्यौँ र यसको स्थापना गर्न सफल भएका हौ’, उनले भने।

मुटु अस्पतालमा बिरामी निःशुल्क बोक्न बस समेत रोटरीको सहयोगमा सञ्चालनमा आएको छ। त्यस बाहेक पश्चिम क्षेत्रकै नमूनाको रूपमा आईसीयूसहितको एम्बुलेन्स र शव वाहन पनि रोटरी क्लबकै सहयोगमा खरिद गरी सञ्चालनमा रहेका छन्।

अस्पतालले समय समयमा दूरदराजका गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ। विश्व मधुमेह दिवस लगायतका अन्य दिवसमा समेत अस्पतालले ओपीडी शुल्क १ रुपैयाँ, निःशुल्क सुगर, पिसाब जाँचका साथै समय–समयमा रक्तदान कार्यक्रम पनि रोटरीकै सहयोगमा गर्दै आएको छ।

रोटरी क्लब अफ बुटवलले मात्र यहाँ चार करोड रुपैयाँ बढी सामाजिक सेवामा खर्चेको छ। क्लबका पूर्वअध्यक्ष नारायण पन्थले सामाजिक कार्यमा क्लबले शिक्षा, स्वास्थ्य र उद्यमलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताए।

क्लबले बुटवलको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था (मुटु अस्पताल)मा एक करोडको क्याथ ल्याब निर्माणमा सहयोग गरेको छ। क्याथ ल्याब निर्माणमै रोटरी इन्टरनेशनलबाट चार करोड रुपैयाँ सहयोग भएको छ। 

क्लबले शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा ५० लाखको लागतमा बाल रेल सञ्चालनमा ल्याएको छ। 

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले बाल रेलले बालबालिकाहरू आकर्षित गरको बताए।

त्यस्तै क्लबले बुटवलको आम्दा अस्पतालमा ६० लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा ४० लाखको लागतमा अक्सिजन प्लान्ट जडान भएको छ। 

प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट कोभिडको समयमा बिरामीहरूलाई निकै सहज भएको थियो। 

यसका अतिरिक्त क्लबले शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। वसन्तपुर खैरेनीमा रहेको फूलबारी आधारभूत विद्यालयमा पाँच लाखको लागतमा छात्रामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको पूर्वअध्यक्ष पन्थले बताए।

त्यहाँ प्रत्येक वर्ष पोशाक र शैक्षिक सामग्री समेत क्लबले वितरण गर्दै आएको उनको भनाइ छ।

रोटरी क्लब अफ बुटवलले प्रत्येक २/२ वर्षमा दुई लाख राशिको रोटरी सेवा पदक प्रदान गर्दै आएको छ। आविष्कार केन्द्रका महाविर पुन, साधना महिला विद्यालय, सुवर्णकुमारी श्रेष्ठ, डा. नन्दु पाठक, डा. निरु पाठक यो पदकबाट सम्मानित समेत भइसकेका छन्। 

त्यस्तै क्लबले प्रत्येक वर्ष पाँच लाख राशिको नगद छात्रवृत्ति पनि विद्यार्थीहरूलाई विभिन्न अक्षयकोषमार्फत प्रदान गर्दै आएको छ।

यता रोटरी क्लब अफ डाउनटाउनले पनि यस क्षेत्रमा धेरै सामाजिक कार्य गरेको छ। बुटवलको मुटु अस्पताल स्थापना गर्न ५२ लाख रुपैयाँ यो क्लबले सहयोग गरेको हो। 

आम्दा अस्पताल बुटवललाई १५ लाख बराबरको अप्रेशन मेसिन सहयोग गरेको क्लबले विभिन्न समयमा देशमा हुने गरेका विपत्तमा सहयोग गर्दै आएको क्लबका निर्वातमान अध्यक्ष जमिन कक्षपतीले बताए। 

गुल्मीको ठूलोलुम्पेक, सत्यवतीमा पहिरो जाँदा क्लबले तीन लाख ५० हजार बराबरको औषधी र खाद्यान्य सहयोग गरेको उनले बताए। यस्तै क्लबले बाढीपीडित र औषधि उपचार गर्न नसक्ने बिरामीका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ।

क्लबले सात लाखको लागतमा मिलनचोकदेखि मिलनहलसम्म हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत डिभाडर समेत निर्माण गरेको क्लबका पूर्वअध्यक्ष जीवन अधिकारीले जानकारी दिए।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले बुटवलको मुटु अस्पतालमा सिटी स्यानमा सहयोग गरेको छ। रोटरी क्लब भैरहवा र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवल सत प्रतिशत पीएचएफ क्लब हुन्। यिनले पनि स्वास्थ्य, शिक्षाको क्षेत्रमा सामाजिक कार्य गरेका छन्।

रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा सेमरा बजारमा रहेको मातृशिशु केन्द्रलाई एक करोड २० लाख बराबरको एक्सरे, अल्टासाउण्ड, बेडहरू उपलब्ध गराएको छ। 

त्यस्तै तिलोत्तमा रहेको शिवपुर माध्यमिक विद्यालय र जनभावना माध्यमिक विद्यालयलाई प्रतिविद्यालय एक लाख ४० हजार लगानी गरी आवश्यक पूर्वाधार निर्माणसँगै विद्यालयलाई अनलाइन शिक्षा सञ्चालन गर्न पनि सहयोग गरेको छ।

यस्तै रोटरी क्लब अफ बुटवल साउथले गौतमबुद्ध मुटु अस्पतालमा डायलाइसिसका लागि ७६ लाख रुपैयाँ लगानी गरेको छ। वृक्षारोपण, शैक्षिक सामग्री वितरण पनि क्लबले गरेको क्लबका निवर्तमान अध्यक्ष ध्रुव धितालले बताए। 

त्यस्तै केउली रोटरी खानेपानी आयोजना र रोटरी सूचना केन्द्र स्थापनाको पनि काम भइरहेको उनको भनाइ छ। रुपन्देहीमा यस्ता रोटरी र रोट्याक्ट दुई दर्जनभन्दा बढी छन्।

अमेरिकामा पहिलो पटक स्थापना भएको रोटरी क्लब सन् १९५८ नोभेम्बरमा नेपालमा पनि स्थापना भएको थियो।

हाल नेपालमासहित विश्वभरमा ३४ हजार रोटरी क्लब छन्। तिनमा १५ लाख रोटरियन सदस्यहरू रहेको बताइन्छ।

नेपालमा डा. जैन गिरी, किरणशमशेर जबरा, गोपालराज भण्डारी र डा. देवरथ लगायतको पहल र नेतृत्त्वमा रोटरी अभियानको सुरुवात भएको थियो। हाल नेपालभर ८७ वटा रोटरी क्लब छ।

१५ साउन, २०७९, ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।