रामायणको अनुवादमा भानुको ठूलो योगदान : अध्यक्ष ओली

रामायणको अनुवादमा भानुको ठूलो योगदान : अध्यक्ष ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको सबैभन्दा ठूलो योगदान रामायणको नेपालीमा अनुवाद भएको बताएका छन्। 
 

आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपाली भाषामा सरलरूपमा साहित्य सिर्जना गरेर भानुले योगदान दिएको बताए। उनले जतिसुकै विद्वता भए पनि जनमानसले बुझ्न सक्नेगरी नलेखिए त्यसको अर्थ नहुने बताए। 

भानुभक्तका धेरै रचनाको सङ्कलन मोतीराम भट्टमार्फत भएको र मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरुभक्तिको दृष्टिले हेरेकाले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइएको उनले उल्लेख गरे। उनले ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै वा मोतीराम भट्टले लेखेको भन्नेमा थप अध्ययन आवश्यक रहेको टिप्पणी गरे।

एमालेका केन्द्रीय संस्कृति विभागका प्रमुख रघुजी पन्तले भाषिक एकीकरणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा भाषाविद् डा जीवेन्द्रदेव गिरीले भानुको व्यक्तित्वबारे चर्चा गरेका थिए। कार्यक्रममा कोमल वली, केशव भट्टराई, देवु लुइँटेल ज्ञानु विद्रोही, रत्नावली शर्मालगायतले रामायण वाचन गरेका थिए।

२९ असार, २०७९, २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।