पत्रकार महासंघको संस्थापक अध्यक्षको विवादले ओझेलमा परेको पुस्तक

पत्रकार महासंघको संस्थापक अध्यक्षको विवादले ओझेलमा परेको पुस्तक

काठमाडौं : अहिलेसम्म प्रमाणित तथ्य अनुसार नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार संघको स्थापना २०१२ चैत १६ गते भएको देखिन्छ।

२००७ सालमा प्रजातन्त्रको स्थापनापछिको खुला वातावरणमा पत्रकारिता क्षेत्र पनि फस्टायो। दैनिक, साप्ताहिक, पाक्षिक, मासिक जस्ता विभिन्न पत्रपत्रिका प्रकाशन हुने क्रम सुरू भयो।

नेपाली कांग्रेसको मुखपत्रका रुपमा परिचित नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद भट्टराई (उपाध्याय)को अग्रसरतामा नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासंघ) स्थापना भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको पुस्तक ‘अग्र अनुहार’मा उल्लेख छ।

तर एक पक्षले त्यसको विरोध गरेका छन्। उनीहरुले संस्थाको इतिहास तोडमोड गरेको दाबी गर्दै जातीय राजनीति सुरू गरे। पुस्तक विमोचनकै दिन च्यात्नेसम्मको निकृष्ट काम भयो। अनि त्यसको नेतृत्व पत्रकारहरूको संस्था भनिएकाहरुबाटै भयो।

तत्कालीन समयमा जसले विरोधको नेतृत्व गरेका थिए उनी अहिले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्नाले त्यो बेलामा इतिहासको आवरणमा राजनीति भएको देखाउँछ।

प्रतिष्ठान प्रदेश समितिका अध्यक्षसमेत रहेका पत्रकार बालकृष्ण अधिकारीको सम्पादनमा आएको १९२ पेजको उक्त पुस्तकमा २०१२ पुस १९ गते नेपाल समाचारका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारहरूलाई संगठित पार्न संस्था स्थापना गर्ने संकल्प गरेको उल्लेख छ।

पत्रकार एकतालाई सशक्त बनाउनुपर्ने अवस्थामा आएको संकल्पमा प्रतिक्रिया व्यक्त गर्न २०१२ चैत १६ गते बसेको अर्को भेलाले कृष्णप्रसाद भट्टराईको सभापतित्वमा फत्तेबहादुर सिंह उपसभापति, मणिराज उपाध्याय मन्त्री, राम सिंह सहायक मन्त्री, उदयराज शास्त्री कोषाध्यक्ष, हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मिश्र सदस्य रहेको कार्यसमिति गठन भएको पुस्तकमा उल्लेख छ।

भट्टराई नेतृत्वको यो संघले विभिन्न चरण पार गर्दै अविच्छिन्न नेतृत्वसहित ६८ वर्ष पूरा गरेर अग्रणी र लोकतान्त्रिक संगठनका रूपमा महासंघ स्थापित भएको छ। प्रेमराज शर्मा, भोजबहादुर न्यौपाने, रामहरि जोशी, रामराज शर्मा, नारायणप्रसाद भट्टराई, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टण्डनसहित २१ जना पत्रकारहरूले २००८ जेठमा सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ स्थापना गरेको पाइन्छ। तर, त्यसले निरन्तरता पाएको देखिँदैन।

संस्थापक अध्यक्ष भट्टराई हुन् भन्नका लागि संस्थाको निरन्तरतालाई मुख्य आधार मानेको देखिन्छ।

पछिल्ला वर्षहरूमा श्रेष्ठलाई संस्थापक अध्यक्ष मान्नुपर्ने माग उठ्न र उठाउन थालिएको छ। तर न त त्यसको माग गर्नेहरूले तथ्यलाई स्थापित गर्न सकेका छन् न उठेको विषयलाई सम्बोधन गर्ने निकाय नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले त्यसको निरुपण गर्न चासो देखाएको छ।

विषय गम्भीर भएपनि अध्ययनबाट निरुपण गर्नुको साटो राजनीतिक आग्रह र पूर्वाग्रहमा रुमल्लिदा त्यसको मारमा पुस्तक परेको देखिन्छ।

प्रतिष्ठान प्रदेशले नेपाल पत्रकार संघदेखि महासंघसम्म अर्थात् कृष्णप्रसाद भट्टराईदेखि विपुल पोखरेल सम्मका व्यक्तिगत जीवनीसहित पत्रकार, पत्रकारिता तत्कालीन राजनीतिक अवस्थाको जानकारी हुनेगरी पुस्तक तयार पारेको छ। यो नेपालको पत्रकारिताको इतिहास जान्न चाहनेहरूका लागि सबैभन्दा बलियो स्रोत बनेको छ।

‘अग्र अनुहार’ कथा अग्रजको गाथा महासंघको नाम दिएर प्रकाशित पुस्तक संस्थापक अध्यक्ष को भन्ने विषयमा ओझेलमा पारिनु न्यायोचित देखिँदैन। महासंघको विधान र उसैले हाम्रा अध्यक्ष-सभापति यी हुन् भनेर ठम्याइएका व्यक्तिका बारेमा पुस्तक तयार पारिएको देखिन्छ।

सत्यनारायणबहादुर श्रेष्ठले पुर्याएको योगदानबारे केही हदसम्म पुस्तकमा समेटिएको पनि छ।

स्थापनाको ६८ वर्षमा २३ अध्यक्षहरू रहेका महासंघमा उनीहरूका व्यक्तिगत जानकारीहरू एकै पुस्तकमा अटाउनु नै यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो।

कृष्णप्रसाद भट्टराई, दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँ, महेन्द्र विष्ट, गोविन्द आचार्य हुँदै बिपुल पोखरेलसम्म अटाएका छन्।

पुस्तकमा महासंघका पूर्वअध्यक्ष-सभापतिको पत्रकारितासँगै पारिवारिक र राजनीतिक पृष्ठभूमि समेत उल्लेख छ।

त्यतिबेलाको पत्रकारिता, पत्रकार महासंघका सामु रहेका चुनौती र अनुभूति पनि पुस्तकमा समेटिएका छन्। राजनीतिक अवस्था र त्यतिबेला महासंघका नेतृत्वले भए गरेको कामको पनि एकसरो विवरण पुस्तकमा छ।

पत्रकार बालकृष्ण अधिकारी, यम बिरही, चेतन पाण्डे, पोषनाथ अधिकारी, भाषा शर्मा, शेखर अधिकारी, विष्णु नेपाल, रुक्मिणी पोखरेल, शिवहरि घिमिर, केशव बोहोरा,सुभाषप्रसाद साह, शिवराज रेग्मी, अशोक घिमिरे, अनिताकुमारी घिमिरे, नरेन्द्र मानन्धर, वीरेन्द्र ओली र देवेन्द्र बस्नेतले उनीहरूका बारेमा पुस्तकमा लेखेका छन्।

२०१२ सालमा नेपाल पत्रकार संघ स्थापना यता पञ्चायतपूर्व, पञ्चायत, बहुदल, गणतन्त्र गरी चारैवटा राजनीतिक व्यवस्था र सामाजिक परिवेशमा पत्रकारको भूमिका के-कस्ता थिए भन्ने जानकारी पुस्तकमा पाउन सकिन्छ।

पञ्चायतपूर्वका दुई, पञ्चायतकालका दश, बहुदलकालका छ र संघीय गणतन्त्र स्थापना भएपछि पाँच अध्यक्षहरूले पत्रकारको पेसागत अधिकार, व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कसले कति योगदान दिए भन्ने पुस्तकमा समेटिएको छ।

नेपालको मात्र होइन, विश्व पत्रकारिताका बारेमा सामान्य जानकारी पुस्तकबाट पाउन सकिन्छ।

६८ वर्ष लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ र त्यसको नेतृत्वकर्ताका बारेमा सामान्य जानकारी पाउनसमेत नसकिने अहिलेको अवस्थामा पत्रकार महासंघ र नेपाली पत्रकारिताका बारेमा थप अध्ययनका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको उक्त पुस्तक सहयोगी बन्ने देखिन्छ।

साथै, संघीयताको औचित्यमाथि नै प्रश्न उठिरहेका बेला प्रदेशहरूले केन्द्रले गर्न नसकेको काम पनि गर्नसक्छ है भन्ने उदाहरण नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति बन्न पुगेको छ।

संस्थापक अध्यक्ष को हो भन्ने निर्क्योल गर्ने निकाय प्रतिष्ठान प्रदेश हैन। सँगै सभापतिका बारेमा मात्र लेखिएको अनि हालसम्म महासंघको नेतृत्वमा कुनै महिला नपुगेको अवस्थामा महिला पत्रकार छुट्नुमा पनि प्रतिष्ठान दोषी हुन सक्दैन।

तर महासंघका पछिल्लो समय प्रयोगमा आएको वरिष्ठ उपाध्यक्ष पदमा केही महिला पत्रकारहरू चुनिन सफल भएका थिए। उनीहरूबारे एक च्याप्टर मात्रै समावेश गर्न सकेको भए सुनमा सुगन्ध समान हुनसक्थ्यो।

तै पनि ‘अग्र अनुहार’ पत्रकार महासंघ र पत्रकारिताका बारेमा चासो राख्नेहरूका लागि निकै उपयोगी छ।

पत्रकारिताका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहनेका लागि उक्त किताब एउटा आधार बन्ने देखिन्छ।

पत्रकारिताका विद्यार्थी र नवप्रवेशीलाई अझ उपयोगी हुने उक्त पुस्तकको मूल्य व्यक्तिगत ३७५ र संस्थागत ५५५ राखिएको छ।

१० चैत, २०८०, १५:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।