अभिनेत्री निताको विवाहमा आशीर्वाद दिन गएका आफन्त चित्त दुखाएर फर्किए

अभिनेत्री निताको विवाहमा आशीर्वाद दिन गएका आफन्त चित्त दुखाएर फर्किए
तस्बिर : निताको फेसबुक पेज

काठमाडौँ : दिदीलाई कन्यादान दिनेदेखि अन्माउनेसम्म अनि आएका अतिथिको स्वागत सत्कार गर्न भ्याई नभ्याई हुन्छ नि भाइलाई। अभिनेत्री निता ढुङ्गानाको विवाहमा पनि उनको भाइ व्यस्त थिए। तर यत्ति काममा लागि मात्रै हैन। उनको थप जिम्मेवारी थियो विवाह समारोहमा आएकालाई फोटो खिच्नै नदिने।

विवाह समारोहमा निम्ता गरिएकाहरूले दुलाहा-दुलहीसँगै तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै शुभकामना दिनु त सामान्य नै हो नि। तर निता र ज्योतिष हरिहर अधिकारीको शुक्रवारको विवाह समारोहमा गर्जो बोकेर गएका सेलिब्रिटीदेखि अन्य पाहुनाले पनि मोबाइल गोजीबाट निकाल्नै पाएनन्। उनीहरूले मोबाइल निकाले कि निताको भाइ आइहाल्थे छोप्न।

यतिसम्म कि आएका पाहुनाहरू दुलाहा-दुलहीको नजिक समेत जान पाएनन्। कसैले मण्डपमा बसेका दुवैको अपहरणै गर्न सक्छन् भनेझैँ व्यवहार गरिरहेका थिए निताका परिवारका सदस्यहरूले।

सेलिब्रिटीको विवाहमा आउनेहरूले फोटो खिचेर बाधा पार्न सक्छन्। यो सत्य हो। त्यसैले त उनीहरूले सीमित परिचितलाई मात्रै निम्ता गरेका थिए। अब निम्ता गरेकाहरूमाथि पनि त्यति धेरै शङ्का थियो भने विवाहमा नबोलाई सिधै रिसेप्सन पार्टीमा बोलाएको भए पनि भइहाल्थ्यो।

यी दुवैको विवाहको तस्बिर खिच्ने जिम्मा टौवा क्रियशनले पाएको थियो। त्यसको मतलब विवाह समारोहमा सम्मानका साथ बोलाइएका निम्तालुहरूलाई अपमान गर्ने भन्ने त हैन। त्यसमा पनि आएका पाहुनाहरूले निता र हरिहरको तस्बिर खिचेर लाखौँमा त पक्कै बेच्ने थिएनन्।

अफिसियल फोटो टौवाले खिचे पनि अनअफिसियल फोटो त पाहुनाहरूले पनि खिचिहाल्छन्। कि त निमन्त्रणा पत्रमै तस्बिर खिच्ने कष्ट नगर्नुहोला, हामी तपाईँलाई पछि तस्बिर उपलब्ध गराउने छौँ भनेर लेखिदिएको भए विवाह समारोहमा आउनेहरूले जवर्जस्ती पक्कै तस्बिर खिच्ने थिएनन् होला।

यसरी अभिनेत्री रेखा थापादेखिका कलाकारहरूले सामान्य रूपमै तस्बिर खिच्न मोबाइल झिकेकै आधारमा निताका भाइ लगायतकाले मोबाइल खोस्नेजस्तो एक्स्ट्रा जिम्मेवारी बेहोर्नुपर्ने पनि थिएन क्यार।

निता र हरिहरले आफ्नो चार वर्षको प्रेम सम्बन्धनलाई जीवनसाथीमा रूपान्तरण गरे। उनीहरूको यो नयाँ जीवनको सुरुवातमा उत्साह नहुने कुरै भएन। दुवै खुसी नै देखिएका थिए। तर विवाह समारोहमा आफन्त र पाहुना बोलाउनु भनेको आफ्नो खुसीमा सहभागी हुने र आशीर्वाद दिने पनि पनि हो नि। तर मोबाइल खोस्ने हर्कतले आशीर्वाद कम गुनासो बढी पाए कि निता र हरिहरले !

आज आइतबार एक होटलमा यी दुवैको रिसेप्सन पार्टी राखेका छन्। त्यसमा विवाहमा भन्दा बढी पाहुना पक्कै बोलाएका होलान्। त्यहाँ फोटो खिच्न नदिने हो भने त परिवारका सदस्यले नभ्याउलान्। बाउन्सरै पो बोलाएका छन् कि !

जे होस् विवाह समारोहमा अलि बढी स्वाङ गर्दा आएका पाहुनाको चित्त दुखेछ। तर यी दुवैको सम्बन्धमा भने चित्न दुखाउने काम नहोस्। भव्य होस् विवाह यात्रा।

२६ असार, २०७९, १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।