नेपाली फिल्ममा समलैंगिकताको कथा : सामाजिक समस्या भन्दा 'सेक्स सिन' र मजाकै धेरै

नेपाली फिल्ममा समलैंगिकताको कथा :  सामाजिक समस्या  भन्दा 'सेक्स सिन' र मजाकै धेरै

काठमाडौँ : सन् २००० मा अमेरिकी राष्ट्रपति बिल क्लिनटनले जुनलाई 'प्राइड मन्थ'का रूपमा आधिकारिक रूपमा मनाउने छुट दिएका थिए। सन् १९६० ताका अमेरिकामा म्यानह्याटनमा गे बारहरू हुने गर्थे। त्यहाँ प्रहरीले प्रायः रेड मारिरहन्थ्यो। सन् १९६९ को जुन महिनामा त्यस्तै एक गे बारमा प्रहरीले छापा हान्यो। उनीहरूलाई अमानवीय व्यवहार गर्यो। यो समुदायका मानिसहरूलाई प्रहरीले गिरफ्तार गर्दै हिरासतमा राख्यो। हदै भएपछि यस्ता अत्याचारको यो समुदायले विरोध गर्यो। जसका कारण हरेक जुन महिना 'प्राइड मन्थ' मनाउन सुरु गरियो।

रेन्बो अर्थात् सप्तरङ्गलाई फरक यौनिकता भएकाहरूले आफ्नो रङ्ग मान्ने गर्छन्। गुलाबी रङले यौनको, रातो रङ्ग जीवनको, खैरो रङ्ग स्वास्थ्यको, पहेँलो रङ्ग तापको, हरियो रङ्ग शान्तिको, आकाशे रङ्ग कलाको, निलो रङ्ग सामान्जस्यताको र बैजनी रङ्ग आत्माको प्रतिकका रूपमा रेन्बो रङ्गको झन्डा प्रयोग गर्न सुरु गरिएको हो। त्यसै अनुरूपमा यो महिना नेपालमा एलजीवीटीक्यु समुदायले 'प्राइड परेड' भन्दै खुला रूपमा रमाएर मनाए।

नेपालमा एलजीवीटी समुदायका मानिसहरू खुल्ने क्रम जारी नै छ। विशेष गरेर मनोरञ्जन क्षेत्रमा आकर्षण राख्ने यो समुदाय नेपाली सिनेमामा पनि सहायक पात्रका रूपमा प्रयोग हुँदै आएका छन्। तर त्यसको प्रभाव त्यति सकारात्मक पर्न सकेको देखिँदैन।

दुई महिलाहरूको प्रेममा आधारित फिल्म 'सुनगाभा' बन्यो। यो फिल्म ओस्कारका लागि नेपालबाट नोमिनेसनमा समेत परेको थियो। तर नेपालमा भने यसको खासै चर्चा भएन। उल्लेख्य दर्शकलाई हलसम्म ल्याउन सकेन यसले।

फिल्ममा दुई महिला साथीहरू कसरी एक अर्काको प्रेममा परे, समाजमा के कस्ता समस्याहरू झेले, बिहे नगरेका आमाले बच्चा जन्माउनुपर्दाको पिडा र उनीहरूको प्रेमको अन्त्य कसरी भयो भन्नेजस्ता विषय उठान गरिएको थियो। यसलाई निर्माण पक्षले यो नेपालमा लेस्वियनबारे बनेको पहिलो फिल्म दाबी गर्यो।

लेस्वियनकै प्रेमकथामा आधारित सिरिज 'जष्ट अनादर लभ स्टोरी' नेपाली दर्शकले मन पराए। यसमा युवावस्थामा प्रवेश गरेका दुई युवतीहरूको मित्रतादेखि प्रेमसम्मका प्रसङ्ग उल्लेख गरिएका छन्। त्यस्तै फिल्म 'मारुनी'मा ट्रान्सजेन्डर महिलाको कथा भनिएको छ। हलमा खासै नजमे पनि युट्युबमा प्रदर्शन भएसँगै यसलाई दर्शकले मन पराएका थिए।

फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ। स्कुले जीवनदेखि साथी रहेका दुई केटा साथी हुन्छन्। एउटा केटो अर्को पुरुष साथीलाई मन पराउँछ तर उक्त पुरुष भने महिलालाई मन पराउँछ। प्रेम प्राप्त गर्नकै लागि कसरी त्यो पुरुष प्रविधिको प्रयोग गरेर महिला बन्छ? उसको प्रेमकथा सफल हुन्छ या हुँदैन फिल्म यिनै विषयवस्तु वरपर घुमेको छ।

समस्या भन्दा मजाक धेरै

नेपाली फिल्ममा एलजीवीटीक्युको चरित्र समेट्ने गरिए पनि चरित्र उनीहरूले भोग्नु परेको समस्यामा भन्दा उनीहरूलाई हास्य पात्र बनाउन बढी केन्द्रित देखिन्छ। एकाध फिल्म बाहेक मनोरञ्जनका लागि ती पात्रहरू राखिएको देखिन्छ। जसको प्रभाव समाजमा सो समुदायबारे सकारात्मक भन्दा नकारात्मक धारणा बढाउन सहायक बनेको देखिन्छ।

फिल्म 'लप्पन-छप्पन' र यसको सिक्वेल भनिएको 'लप्पन छप्पन-२' मा चमेरो उर्फ चन्द्र प्रकाश थापा नामको पात्र छ। अर्पण थापाले अभिनय गरेको त्यो पात्र फेमिनेन लवजमा बोल्छ, नङमा पालिस लगाउँछ। आँखामा गाजल लगाउँछ। उनको हरेक स्वभाव तेस्रो लिङ्गी समुदायमा पर्ने ट्रान्सजेन्डरको छ। उ फिल्ममा खलपात्र हो। मान्छे मार्नुलाई निकै सहज ढङ्गले लिने उ साउथ फिल्मका भुतिया फिल्ममा देखाइने तेस्रो लिङ्गी ट्रान्सजेन्डरको भूमिकामा छ। तर सारी र चुरा भने लगाउँदैन।

त्यस्तै लगानी उठाउन सफल फिल्म 'ए मेरो हजुर ४' मा पनि नेवारी समुदायबाट यस्तै पात्र राखिएको छ। तेस्रो लिङ्गी समुदायको ट्रान्सजेन्डर महिलाको भूमिका निभाएको त्यो पात्र फिल्मको नायक या अन्य केटा मान्छे देख्नै नहुने, उसको पछि परिहाल्ने स्वभावको छ। विशेष गरेर फिल्ममा उ नायकको साथीको भूमिका निभाएका सलोनमानसिंह बस्नेतलाई सताइरहन्छ।

'सायद फिल्मका कारण पनि आम मानिसले हाम्रो समुदायलाई हेर्ने नजर त्यस्तै हुन्छ। यौनका लागि तान्न आउने, अश्लील हर्कत गर्ने स्वभावका हुन्छन् भन्ने ट्याग हामीलाई लागेको छ। त्यसैले सार्वजनिक स्थानमा हिँड्दा मानिसहरू हामीदेखि टाढा भइरहेका हुन्छन्' 

मोडल तथा कलाकार अनुज राई गे हुन्। ब्लु डायमन्ड सोसाइटीसँग नजिक रहेर मानव अधिकारका क्षेत्रमा काम गरिरहेका अनुज नेपाली फिल्ममा एलजीबीटीक्युको स्थान हँसाउन मात्रै प्रयोग गरिएको बताउँछन्। उनले भने,' पहिले हामी यो विषयमा बोल्दैनथ्यौ। तर अहिले हामीलाई मजाकको पात्र बनाएकोबारे विरोध गर्न थालेका छौँ।'

फलस्वरूप 'ए मेरो हजुर ४' कि नायिका सुहाना थापाले माफी समेत मागिन्। उनले आफ्नो समुदायको विषयमा फिल्म बनाउने हो भने, धेरै मुद्दा रहेको बताए।

'हामी बिहे गर्न सक्दैनौँ, बाटोमा हातमा हात मिलाएर हिँड्न सक्दैनौँ, यो मेरो प्रेमी हो प्रेमीका हो भन्न सक्दैनौँ, बच्चा एडप्ट गर्न सक्दैनौँ' उनले भने,'हामीले सास फेर्न समेत डराउनुपर्ने वातावरण थियो, अब बिस्तारै खुकुलो हुँदै गएको समयमा सधैँ केटासँग चिप्किन खोज्ने, हिरोइनको चम्चे बन्ने, हाम्रा हाउभाउ, शारिर, हिँडाई बोलाई लगायतलाई हाँसोको रूपमा प्रयोग गर्ने बाहेक अन्य हुनै सकेन।'

अन्य देशहरूमा भने यी विषयमा राम्रा फिल्महरू बन्न थालेको पिटरको भनाई छ।

उनले भने, 'फिल्म भनेको सशक्त माध्यम हो। फिल्म हेरेरै धेरै मानिसहरूले एजीवीटीक्यु समुदायलाई जज गर्ने हुन्छ। एउटा फिल्म बनेको रहेछ, सुनगाभा भन्ने। जसमा लेस्वियन केटीका लागि परिवार भन्दा प्रेमिका ठुलो हो भन्ने देखाइएको छ। आफ्नै दाइले बहिनीको हत्या गरेको देखाइएको छ। उनीहरू बाँच्नका लागि गरेको सङ्घर्ष यी दृश्यका कारण हाम्रालाई फगत एक फिल्म मात्रै हो जस्तो लाग्छ। वास्तविकता नबुझेरै त्यस्ता फिल्म बन्नु दुखद हो।'

अनुज आफै कलाकार हुन्। उनलाई धेरै फिल्महरूले सँगै काम गर्न अफर समेत गर्छन्। तर छुटाइएका रोलहरूमा त्यस्तै मजाक मात्रै हुन्छ। त्यसैले उनी त्यस्ता प्रपोजल अस्वीकार गर्छन्। उनीहरू कथावस्तु परिवर्तन गर्नतिर नलागेर कलाकार परिवर्तन गर्नतिर लाग्छन्।

मेकअप आर्टिष्ट समेत रहेकी ट्रान्सजेन्डर महिला सोफी सुनुवार फिल्म हेरेरै समाजले धेरै कुरा निर्धारण गर्ने बताउँछिन्। फिल्ममा जसरी ट्रान्स ओमनलाई पोर्टेट गर्छन्, त्यसले केटा मान्छे देख्नै नहुने, उनीहरूलाई झम्टिन गइहाल्ने खालका हुन्छन् भन्ने गलत सन्देश गएको उनको धारणा छ।

'सायद फिल्मका कारण पनि आम मानिसले हाम्रो समुदायलाई हेर्ने नजर त्यस्तै हुन्छ। यौनका लागि तान्न आउने, अश्लील हर्कत गर्ने स्वभावका हुन्छन् भन्ने ट्याग हामीलाई लागेको छ। त्यसैले सार्वजनिक स्थानमा हिँड्दा मानिसहरू हामीदेखि टाढा भइरहेका हुन्छन्,' उनले भनिन्।

सोफीले सबै कुरा नकारात्मक नहुने भन्दै भनिन्,'हामी रमाइलो गर्न रुचाउने स्वभावका हुन्छौ। हाम्रो कारण मानिसहरू हाँसेको राम्रो लाग्छ। तर यसो भन्दैमा रमाइलोका लागि केटा मान्छे देख्नै नहुने, झम्टिहाल्ने, केटा मान्छेले छुँदैमा शरीरमा बिजुली दौडिने भन्ने चाहिँ हैन।'

अहिले बलिउड, हलिउडतिर एलजीवीटीक्यु समुदायका बारेमा निकै गम्भीर फिल्म बन्ने गरेको भन्दै उनले भनिन्, 'हाम्रा पिडा, दुःख कस्ता हृदयबिदारक हुन्छन् भन्ने कुरा नेपाली फिल्ममा हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ। सधैँ मजाकका रूपमा मात्रै देखाउँदा भने नराम्रो लाग्छ।'

लेस्वियन, गे, ट्रान्सजेन्डर बाइसेक्सुअल, क्वेर लगायत ४५ भन्दा धेरै प्रकारका यौनिकता भएका मानिसहरू जन्मने गर्छन्। यी सबैले आ–आफ्नै सङ्घर्ष झेलिरहेका हुन्छन्। नेपालमा एलजीवीटीक्यु समुदायका अधिकारबारे बोलिरहेकी भावना श्रेष्ठ ट्रान्सजेन्डर महिला हुन्। उनले नेपाली फिल्ममा तेस्रो लिङ्गीमा पनि ट्रान्सजेन्डर समुदायलाई मात्रै देखाउने गरेको बताउँछिन्।

'हाँसो, मजाकको पात्रका रूपमा ट्रान्सजेन्डर देखाइएको हुन्छ, अन्य यौनिकता बोकेकाहरूको तुलनामा ट्रान्सजेन्डरले सामाजिक रूपमा हेलाँ झेलिरहेका हुन्छन्। यसको देन नेपाली फिल्मले ट्रान्सजेन्डरलाई देखाउने तरिकाका कारण पनि होला जस्तो लाग्छ,' उनले भनिन्।

आफूहरूले यस विषयमा सेन्सर बोर्डहरूमा पनि छलफल गरिरहेको उनको भनाई छ। भन्छिन्, 'हाम्रा समुदायलाई आक्षेप लाग्ने, नराम्रो लाग्ने दृश्यहरू भए हटाउन सेन्सर बोर्डसँग छलफल गरिरहेका छौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ।'

त्यस्तै यस्ता पात्र राख्नुअघि केही फिल्म निर्माताहरू आफूहरूकहाँ छलफल गर्न समेत आउन थालेको उनले बताइन्।

भूमिकालाई एलजीवीटीक्यु समुदायका कलाकारहरू पनि मुख्य भूमिका निभाउन सक्षम छन् जस्तो लाग्छ। जसले अनुभव गरेका छन्, उसको अनुभूति चलेका कलाकारले भन्दा उत्कृष्ट तरिकाले पर्दामा उतार्न यही समुदायका कलाकार सक्षम छन्। तर निर्माता निर्देशक चलेका कलाकारलाई यस्ता भूमिकामा अनुबन्धन गर्दा त्यो इमोसनल भन्दा हाँसोको पात्र बन्ने गरेको उनको भनाई छ।

१६ असार, २०७९, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।