ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने

ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने

एजेन्सीः युरोपेली मुलुक वेल्सका राष्ट्रिय फुटबल टोलीका कप्तान ग्यारेथ बेल अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन्। क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने सहमति भएको बताइएको छ।

यसबारे बेलले शनिबार ट्वीट गर्दै पुष्टि गरेका हुन्। उनले लेखेका छन्, ‘लस एन्जलस, चाँडै भेटौंला।’ उनले सोही पोस्टमा लस एन्जलस फुटबल क्लबलाई मेन्सन पनि गरेका छन्।

बेल र क्लबबीच एक सिजनको सम्झौता हुने बताइएको छ। यसअघि बेल स्पेनिस क्लब रियल मड्रिडमा थिए। त्यहाँ छोडेपछि उनी क्लबविहीन थिए।

बेल सन् २०१३ मा संसारकै सबैभन्दा महँगा खेलाडी पनि भएका थिए। उनलाई रियल मड्रिडले ८५ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो।

बेलको राष्ट्रिय टोली यसपटकको कतार विश्वकपमा छनोट भइसकेको छ।

१२ असार, २०७९, ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।