पोखरा : पोखरा महानगरपालिकाले आगामी दुई वर्ष भित्र मुख्य सहरी क्षेत्रका बिजुली, टेलिफोनका तार हटाएर भूमिगत बनाउने भएको छ। बुधवार मेयर धनराज आचार्यले पोखरा महानगरको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दुई वर्ष भित्र पोखरा क्षेत्रका अव्यवस्थित तार लाई हटाएर भूमिगत बनाउने बताए।
स्थानीय सरकार
यस अघि पनि ०७४ सालमा पोखराको तत्कालीन मेयरमा मानबहादुर जिसी निर्वाचित भएपछिको नीति तथा कार्यक्रममा बिजुली र टेलीफोनका तार हटाएर भूमिगत बनाउने उल्लेख गरेका थिए। तर, उनले पाँच वर्षको कार्यकाल सकिएर बिदा हुँदा समेत पोखरा क्षेत्रका तार यत्रतत्र अस्तव्यस्त अवस्थामा रहेका छन्। अहिले नवनिर्वाचित मेयर आचार्यले पनि निवर्तमान मेयर जिसीको तार भूमिगत गर्ने योजनालाई निरन्तरता दिएका छन्।
मेयर आचार्यले आगामी दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्। उनले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा बिजुलीका तार भूमिगत गरी सहरी जोखिम न्यूनीकरण गरिने बताए।
त्यसैगरी मेयर आचार्यले महानगरले प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार दिने नीति तथा कार्यक्रम ल्याएका छन्। उनले प्रत्यक वर्ष प्लस टु तह अध्ययन सकेका युवालाई लक्षित गर्दै इलेक्ट्रिसियन, भेटेनरी, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, ह्यान्डलुम, ग्राफिक्स डिजायन, कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इम्ब्रोइडरी, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर लगायतका सीप तथा तालिम दिइने नीति तथा कार्यक्रममा उल्लेख गरेका छ।
त्यसैगरी मेयर आचार्यले पोखराका बसपार्क निर्माण गर्नका लागि अव्यवस्थित बसोवासलाई उचित व्यवस्था गरेर प्रक्रिया अगाडी बढाउने बताएका छन्। उनले आर्थिक वर्ष ०७९–०८० मा बसपार्कको क्षेत्रफल यकिन गरेर अव्यवस्थित बसोबासलाई बहुतले भवन बनाएर स्थानान्तरण गर्ने उल्लेख गरे।मेयर आचार्यले पोखरा ३३ लामे आहालमा रहेका बसपार्कलाई पोखरा बस पार्क र पृथ्बीचोकमा रहेको पुरानो बसपार्कलाई सिटी बसपार्कका रूपमा अगाडी बढाउने घोषणा गरे।
मेयर आचार्यले पोखराको अर्को बागलुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्कका रूपमा नामकरण गरिने बताए। त्यसैगरी मेयर आचार्यले पोखराका मुख्य र साँघुरा चोकहरूमा फ्लाई ओभर, अन्डरपास बनाउने लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरेका छन्। उनले जनगुनासो सुन्न र समाधान गर्नका लागि हेल्लो मेयर कार्यक्रम एक महिनाभित्र सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
त्यस्तै मेयर आचार्यले प्रत्येक सार्वजनिक विद्यालयहरूले आफ्नो प्राङगणमा अनिवार्यरुपमा फलफूलका बिरुवा रोप्नु पर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।
२०७९ असार ०८ गते १६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।