'चिसो मान्छे' का निर्देशक खनालको आरोप : मेरो फिल्म सक्काउन डलरै खर्च गरेर पछि लागे

'चिसो मान्छे' का निर्देशक खनालको आरोप : मेरो फिल्म सक्काउन डलरै खर्च गरेर पछि लागे

काठमाडौँ :  फिल्म 'चिसो मान्छे'का निर्देशक, लेखक तथा छायाकार दीपेन्द्र के खनालले आफ्नो फिल्म सक्काउन केही अनलाइन मिडिया हात धोएर लागिपरेको आरोप लगाएका छन्। फिल्मको समीक्षा सकारात्मक नआएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो आरोप लगाएका हुन्।

उनले केही अनलाइन मिडियाहरू 'चिसो मान्छे'लाई सक्काउन हात धोएर पछि लागेको र लेखेर मात्रै नपुगेर डलरै खर्च गरी गरी बुस्टको सहारा लिएको आरोप लगाए। केही अनलाइन मिडियामा फिल्म चिसो मान्छेबारे प्रकाशित समीक्षा बुष्ट भएको छ। उनले त्यसैलाई सङ्केत गर्दै आफूलाई सक्काउन डलरै खर्च गरेर पछि लागेको हास्यास्पद कुतर्क गरेका छन्।

उनको आरोपबारे आएका प्रतिक्रियाहरूमा भने 'काग कराउँदै गर्ने र पिना सुक्दै गर्ने' भएकाले हरेस नखाई अघि बढ्न सुझाइएको छ। फिल्मको समीक्षा मिश्रित आइरहेपछि केही समर्थकहरूले समीक्षकहरूमाथि समेत प्रश्न उठाइरहेका छन्।

'पशुपति प्रसाद', 'आमा' जस्ता फिल्म निर्देशन गरिसकेका खनालको 'चिसो मान्छे'को व्यापार खासै राम्रो भइरहेको छैन। समीक्षा मिश्रित आइरहेको छ। निर्माण टिमका अनुसार फिल्मले दुई दिनमा १ करोड ४ लाखको ग्रस कलेक्सन गरेको थियो।

७ असार, २०७९, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।