जापानबाट नेपाल फर्कँदा सात करोडको जग्गा अर्कैको नाममा, मालपोत जाँदा शान्तादेवीले भेटिन् आफ्नै मृत्यु दर्ता प्रमाणपत्र

जापानबाट नेपाल फर्कँदा सात करोडको जग्गा अर्कैको नाममा, मालपोत जाँदा शान्तादेवीले भेटिन् आफ्नै मृत्यु दर्ता प्रमाणपत्र

काठमाडौँ : २४ वर्षदेखि जापान बस्दै आएका एक व्यक्तिको कीर्तिपुरमा रहेको सात करोड बराबरको जग्गा नक्कली कागजपत्र बनाएर अर्कैलाई विक्री गरेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जीवित व्यक्तिको मृत्यु भएको भन्दै जग्गा नामसारी गराएर अर्कै व्यक्तिलाई विक्री गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले महावीर चन्द, गणेश बहादुर खनाल, बाबुराम कार्की र प्रेमप्रसाद खनाललाई पक्राउ गरेको हो। ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार शान्ता देवी लोहनीको परिवार सहित  २४ वर्षदेखि जापानमा बस्दै आएको थियो। उनीहरू बेलाबखत मात्रै नेपाल आउने गर्थे।

२०६१ माघ १३ गते नेपाल आएका उनीहरूको नाममा कीर्तिपुर नगरपालिका, वडा नं २ मा ३६१.९५ वर्ग मिटरको जग्गा किनेर जापानै फर्किए। उनीहरू २०७९ जेठ १३ गते मालपोत कार्यालय कलङ्कीमा गएर सक्कल पुर्जा देखाएर बायोमेट्रिक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा सो जग्गा त अर्कैको नाममा नामसारी भइसकेको खुल्यो। सो जग्गा सुनिता कर्माचार्यको नाममा देखियो।

मालपोतमा रहेका कागजपत्र हेर्दा जग्गाधनी शान्तादेवी लोहनीको नामबाट सो जग्गा २०७७ पुस १५ मा उनको श्रीमान् तारानिधि लोहनीको नाममा नामसारी भएको देखियो। त्यसका लागि शान्तादेवीको मृत्यु नामसारी गरिएको थियो। नामसारी भएको २ महिनामै सो जग्गा सुनिता कर्माचार्यलाई विक्री गरेको देखियो।

अनुसन्धानमा सक्कल धनी पुर्जा विना नै तारानिधि लोहनीको नाममा शान्ता देवी लोहनीको २०७७ भदौ १३ मा कालगतीले मृत्यु भएको निवेदनसँगै परेको किर्ते मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणितको प्रमाण पत्र, तारानिधिको नक्कली नागरिकताको आधारमा जग्गा नामसारी र किनबेच भएको थियो।

ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार अर्कोको जग्गा ठगीमा सक्रिय रहेकाहरूले सो जग्गा धनी नेपाल बाहिर रहेको सूचनाको आधारमा शान्तादेवीको मृत्युको नक्कली कागजपत्र बनाएर महावीर चन्दको तस्बिर टाँसेर तारानिधि लोहनीको नागरिकता र नाता प्रमाणित बनाएका थिए।

त्यही किर्ते कागजपत्रको आधारमा उनीहरूले सबैभन्दा पहिला नक्कली तारानिधि बनेका चन्दको नाममा जग्गा नामसारी गरे। अनि सो सफल भएपछि उनीहरूले सो जग्गा भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्माचार्यलाई तीन करोड सत्तरी लाखमा बिक्री गरे। सात करोडको जग्गा तीन करोडमा पाउने भएपछि कर्माचार्यले सहजै सो जग्गा किनेकी थिइन्।

सो जग्गा विक्री गर्न चन्दसहित सिन्धुपाल्चोक मेलम्चीका गणेशबहादुर खनाल ठगीको मुख्य योजनाकार र आर्थिक व्यवस्थापन गर्ने, बाबुराम कार्की नक्कली कागजपत्र बनाउने र प्रेमप्रसाद खनाल जग्गा खरिद गर्ने व्यक्ति खोज्ने गरेको ब्युरोले जानकारी दिएको छ।

पेस भएको कागजपत्रको भेरिफाइ नै नगरी अर्काको नाममा रहेको जग्गा भटाभट नामसारी हुनुमा मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो देखाए पनि यो घटनामा मालपोतका कुनै कर्मचारी पक्राउ भने परेका छैनन्।

५ असार, २०७९, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।