'गठबन्धनले कांग्रेसको मत बलियो हैन छरपस्ट भयो, केही स्वतन्त्रमा गयो, केही बिद्रोहमा' 

'गठबन्धनले कांग्रेसको मत बलियो हैन छरपस्ट भयो, केही स्वतन्त्रमा गयो, केही बिद्रोहमा' 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले कुल ७ सय ५३ स्थानीय तहमध्ये २ सय २९ अर्थात् ४४ प्रतिशत स्थानमा जित्यो। 

यसैलाई देखाएर पाँचदलीय गठबन्धनबाट निर्वाचनमा होमिएको कांग्रेसले ठूलो सफलता पायो भन्ने तर्क गरेको सुनिन्छ। तर कांग्रेसले प्राप्त गरेको यही नतिजालाई लिएर हौसिनुपर्ने अवस्था भने छैन। किनकी, एकल रुपमा चुनावमा गएको भए यो भन्दा कम सिट ल्याउने थिएन।

अहिलेको नतिजा हेर्दा, हिजो जितेका कतिपय ठाउँ पनि गठबन्धनकै कारणले कांग्रेसले गुमाउनुपरेको छ। गठबन्धनकै कारण कैलालीका अधिकांश स्थानीय तह गुमाएको छ। भोजपुरको षडानन्ददेखि धरानसम्म कांग्रेसले गुमाउन पुगेको छ। यो बलियो भएको हो त? यसले बलियो देखाउँछ ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हेर्ने भनेको ६ वटा महानगर हो। त्यसमा कांग्रेसको अवस्था हेरे पनि पुग्छ। कांग्रेस एक्लै बलियो भएको महानगर र उपपमहानगरमा पनि भागबण्डामा गरियो। त्यसले गठबन्धनमा रहेका अन्य दललाई फाइदा भयो। तर कांग्रेसलाई भएन किन ?

यसअघि कांग्रेसले विराटनगर र ललितपुरमा मेयर-उपमेयर दुवै जितेको थियो। अहिले काठमाडौं कांग्रेसलाई दिएर भाग लगाइयो। तर काठमाडौँमा कांग्रेस हार्यो। विराटनगर कांग्रेसको भागमा मेयर मात्र परेको थियो। त्यहाँ उपमेयर एमालेले लग्यो। गठबन्धनबाट जनता समाजवादी पार्टी पराजित भयो।

गत चुनावको परिणाम हेर्ने हो भने ललितपुरमा गठबन्धनबाट माओवादीले जित्नुपर्थ्यो, एमालेले जित्यो। पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीले मेयर जित्दा उपमेयरमा कांग्रेस पराजित भयो। काठमाडौंमा १९ वडा जितेर कांग्रेस सबैभन्दा ठूलो दल त भयो। तर मेयर र उपमेयर गुमायो। उमपेयर उसको भागमै परेन। काठमाडौमा हिजो कांग्रेसको उपमेयरसम्म थियो। आज शून्य भयो।

यसले के बुझाउँछ भने, गठबन्धनका कारण अन्य दलले आफ्नो शक्ति ‘गेन’ गरे। एकीकृत समाजवादीले पोखरा र माओवादीले भरतपुर प्राप्त गर्यो। उनीहरुले जुन-जुन भाग पाएका थिए, ती प्राप्त गरे। गुमाएको कांग्रेसले मात्र हो।

जसपाले उपमहानगर प्राप्त गर्न सकेन। तर कांग्रेस पनि ६ वटा महानगरमा हिजोको भन्दा खुम्चिएको देखिन्छ। पहिले जितेको धनगढी उपमहानगरपालिका कांग्रेसले गुमायो। त्यहाँ स्वतन्त्रले जिते। जनकपुरमा कांग्रेसका विद्रोहीले जिते। उनीहरुले जित्दा समान्य मतान्तरले होइन ‘मास मेजुरिटी’ले जिते।  

कांग्रेस भित्रको गुटका कारण सोचेजस्तो नतिजा आउन सकेन भनेर बालुबाटारमा गठबन्धनको बैठकमा ब्रिफिङ भयो। त्यो ठिक पनि हो। कांग्रेसले भर कसको गर्नुपर्ने? माओवादी, समाजवादी वा जसपाको भरमामात्र गर्नुपर्ने कि आफ्नै भर गर्नुपर्ने भन्ने मुख्य कुरा हो। अन्य दलको भर गरेर हुन्न।

वास्तवमा स्थानीय निर्वाचनमा गठबन्धन गर्नुपर्ने नै होइन। पार्टीका नेताहरुको स्वार्थ छ भन्ने मात्र गठबन्धन हुन्छ। तर त्यो चिजले पार्टीलाई नाफा-घाटा के गर्यो भन्ने नतिजाले देखाउँछ। त्यो नतिजा भनेको स्थानीय तहको निर्वाचनमा गठबन्धनले कांग्रेसलाई फाइदा गरेन। 

अहिलेको अवस्था हेर्दा प्रदेश र संघीय संसदको निर्वाचनमा गठबन्धन वा तालमेल हुनसक्ने देखिन्न।

स्थानीय सरकार सिधै निर्वाचित सरकार हो। स्थानीय सरकार प्रमुखले स्थानीय ठाउँमा प्रधानमन्त्री सरहको तागत राख्छ। एमालेलाई भित्तामा पुर्याउन, टर्च बालेर खोज्ने अवस्थामा पुर्याउन गठबन्धन गरिएको भन्ने जुन कुरा छ, त्यो देखिएन स्थानीय तहको निर्वाचनमा।  यदि त्यसो भएको भए कांग्रेसले पहिले जितेको ठाउँ जित्नुपर्थ्यो। माओवादी दोस्रो पोजिसनमा हुन्थ्यो। गठबन्धनले काम गरेन। काठमाडौंमा कांग्रेसले १९ वडा एमालेले १२ वडा जित्यो। त्यो कहाँबाट आयो?

स्थानीय तह भनेको एउटा पार्टीको वर्चस्व हुने प्रणाली पनि होइन। कांग्रेसमा अन्तर्घात हुनु उसको विशेषता नै हो। एउटा उम्मेदवार टिकट नपाएर स्वतन्त्र बन्छ, पार्टी सबै उसको सपोर्टमा लाग्छन्। जनकपुरमा त्यस्तो देखियो। खुलेर लाग्नुपर्ने अवस्था पनि आयो। 

डडेल्धुराको गन्यापधुरामा कर्ण मल्लले कांग्रेस बिपी भन्दै देउवाकै वडामा कांग्रेसलाई हराए। तनहुँको व्यासमा दिपकराज जोशी स्वतन्त्र उम्मेदवार भए। उनी पनि कांग्रेसकै मान्छे हुन्। उनले थोरै मतले हारे। त्यो पनि कांग्रेसकै भोट हो। भरतपुरका जगन्नाथ पौडेलको १४ हजार ७ सय मत कांग्रेसकै हो।

कांग्रेसको मत कहाँ पुग्यो कहाँ? सबैभन्दा असुरक्षित भोट कांग्रेसको भयो। भोट छरपस्ट भयो। केही स्वतन्त्रमा गयो, केही बिद्रोहमा गयो। अनी कसरी पार्टी बलियो भयो। आफ्नै पार्टीको मत सुरक्षित गर्नु सबैभन्दा ठूलो कुरा हो राजनीतिमा। गठबन्धन गरेर माओवादीबाट यति भोट आउँछ, एकीकृत समाजवादीबाट यति भोट आउँछ भन्ने नै हुँदैन। त्यसले त लाखौं भोट विचलित मात्रै बनायो। 

कांग्रेसमा कृष्णप्रसाद सापकोटा जस्ता मान्छे कारबाहीमा परेका छन्। शेरबहादुर देउवाको भन्दा पहिलेदेखि सक्रिय सदस्यता होला उहाँको। पार्टी छोड्न तयार छु तर गलत भयो भन्ने उहाँजस्ता धेरै छन्।

पार्टीभित्र पनि शेखर कोइराला र गगन थापाले गलत छ भनेकै हुन्। ४० प्रतिशत लिएर बसेको पक्षको पनि मतदाता त छन्। निर्वाचनमा उनीहरु चुप लागेर बसे भने के गर्ने? कारबाही गर्न मिलेन, भोटै हाल्न जाँदैन।

त्यसैले स्थानीय तहमा दुई गुटले एकै निर्णय गरेर गएको भए अर्कै नतिजा आउन सक्थ्यो। तर त्यसो हुन सकेन। त्यसको प्रभाव मतदानमा देखियो। 

उकुसमुकुस जनता
पार्टीहरुले काम गर्न सकेनन् भनेर भित्र-भित्रै जनता उकुसमुकुस छन्। सबै दल उस्तै रहेछन् भन्ने भयो अहिले। माओवादी बिद्रोह गरेर आयो। उसले रातारात देशलाई अर्कै बनाउँछ, युरोप बनाउँछ भन्ने थियो, ऊ त झन करप्ट निस्कियो।

गणतन्त्र, संघीयता त ललिपप नै रहेछ। रातारात जनताका भुँडी ठूला हुन्छन् भन्ने जस्ता कुरा गर्थे। तर नेताका भुँडी पो ठूला भए। देश र जनाताको अवस्था झन् कमजोर भएर गयो। त्यो बुझेपछि सहरका सचेत मत भएका मान्छेले विकल्प खोजे।

सन्तान सबै स्वतन्त्र उम्मेदवारको पक्षमा छन्, बाउ-आमा ठूला दल भनेर बसेका छन्। एक पटकलाई सन्तानले भनेको मान्दिउँ न त भनेर स्वतत्रलाई जिताए पनि। जितेकाले राम्रो काम गरे सन्तानको छनौट राम्रो हो भन्पुने ष्टी हुन्छ। बाबु-आमा सन्तानको सल्लाह मान्न थाल्छन्।

काठमाडौं, धरान, धनगढी, बर्दिबास लगायतका ठाउँको भोट सचेत भोट हो। अनी स्वतन्त्रले केही गर्न सक्दैनन् भन्ने होइन। स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले चाहेमा धेरै काम गर्न सक्छन्। उनीहरुले के गर्छन् त्यो भोलीका दिनमा देखिन्छ नै। आशा अनुसार राम्रो परिणाम दिए सहरी क्षेत्रमा दलहरु थप कमजोर हुनसक्छन्। स्वतन्त्र उम्मेदवार बलिया हुनसक्छन्।

स्थानीय तहको निर्वाचनको प्रभावले  संसदीय निर्वाचनमा  अहिलेदेखि उम्मेदवार घोषणा हुन थालिसकेको छ। त्यसैले संसदीय निर्वाचनमा यो पटक स्वतन्त्र उम्मेदवार र दलबाटै आए पनि नयाँ अनुहार बढ्ने देखिन्छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई तह लगाउने कुरा गर्नुभयो यो विचमा, यो स्वभाविक पनि हो। मेरो दम छैन, वाम एकता भयो भने हामी बर्बाद हुन्छौं, एमाले धेरै बलियो छ भन्ने कांग्रेसका नेतृत्वको भनाइले कांग्रेस पहिलेको भन्दा कमजोर रहेको पुष्टि गर्छ नै।

कांग्रेस भित्रको गुटका कारण सोचेजस्तो नतिजा आउन सकेन भनेर बालुबाटारमा गठबन्धनको बैठकमा ब्रिफिङ भयो। त्यो ठिक हो। कांग्रेसले भर कसको गर्नुपर्ने? माओवादी, समाजवादी वा जसपाको भरमामात्र गर्नुपर्ने कि आफ्नै भर गर्नुपर्ने भन्ने मुख्य कुरा हो।

कांग्रेस नेतृत्वको मनोबल खस्केको पनि छ। सभापतिले नै एमाले बलियो छ, वाम एकता हुँदा पहिले के भएको थियो, त्यस्तै हुन्छौं, सरकारको नेतृत्व बचाउनुपर्छ, प्रदेश र संघीय निर्वाचन आफ्नै हातले गराउनुपर्छ भन्ने मानसिकताबाट ग्रसित भएको देखिन्छ। 

यो भनेको दल वा राष्ट्रको हित हैन नेताको स्वार्थ हावी भएको देखिन्छ। प्रचण्डको स्वार्थ भनेको भरतपुरमा छोरी (रेनु दाहाल) जितोउने पछि त्यहीँ ठाउँबाट आफू सांसद जित्ने हो नै। त्यसमा प्रचण्ड सफल पनि भए।

साँच्चै भन्ने हो भने एक्लाएक्लै लड्दा सबैभन्दा ठूलो क्षति माओवादीलाई हुन्थ्यो। रुकुम रोल्पामा केही सिट मात्र ल्याउथ्यो। १ सय २१ सिटमा सय सिट बढी हो। सय सिट घटाइयो भने ठिक्क हुन्छ।

विभाजन खप्दा-खप्दा उसको १०/१२ जना नेता एमालेमै टाँसिएर बसे। माओवादी एकदमै ‘डिक्लाइण्डिङ कण्डिसन’मा छ। उ एक्लै निर्वाचनमा जाने हो भने उसले औंलामा गन्ने सिटमात्र जित्न सक्छ। त्यसैले उ गठबन्धन भनिरहेको छ। 

जसपालाई वास्तवमा गठबन्धनबाट ठूलो चोट पुगेको छ। मधेशवादी दलहरु जसपा र लोसपालाई यो पटक झापट नै हो। जातीय-क्षेत्रीय मुद्दा उठाएर हारेको यो पहिलो निर्वाचन हो उनीहरुले। पहाडले मधेशलाई थिच्यो, मिच्यो भन्ने कुरालाई यस पटकको नतिजाले सबक सिकाएको हुनुपर्छ। 

पहाडेले मधेशलाई थिच्छ भन्ने कुरा गलत हो भन्ने सन्देश मधेशका साहले काठमाडौंको मेयर जितेर पुष्टि पनि गरे। यसले अब जातीय अनी क्षेत्रीय हैन विकासको अजेण्डा के हो भन्ने प्रमुख हो भन्ने देखायो। मधेशवादी दलले भन्दै आएका कुरा असत्य सावित हुँदैछन् विस्तारै।

गठबन्धन सफल भन्नु लाज पचाउने कुरा
गठबन्धन र कांग्रेस स्थानीय तहको निर्वाचनमा सफल भयो भन्नु लाज पचाउने कुरा मात्र हो। पार्टीले गठबन्धनबाट आएको नतिजा साँचो अर्थमा के हो? ७७ वटै जिल्लामा कांग्रेसले गठबन्धन नगरी कति उठायो, गठबन्धन गरेर कति उठायो? यसमा जितेका कति, हारेका कति? जनतालाई नढाँटी भन्नसक्नुपर्छ। तर कांग्रेसले यसमा प्रष्ट बोलेन।

स्थानीय तहमा बहुपद छ। एउटा हारे अर्कोमा आउन सक्छ। तर संघीयमा हारेपछि हार्यो, हार्यो। कांग्रेस एक्लै स्थानीय तहमा लडेको भए उसको तागत थाहा हुन्थ्यो। अन्य दल विभाजन भएको अवस्थामा उसले फाइदा लिन सक्थ्यो।

माओवादीको सबै प्रष्टै छ, एमालेको पनि प्रष्टै छ। गठबन्धन गरेर यो उपलब्धि भयो भनेर भनेको छ तर, खुसीसँग भनेको छैन। कांग्रेसका नेताहरुले तथ्य लुकाएर गठबन्धनको निर्णय सही थियो र जस्तो सोचेको त्यस्तै नतिजा आयो भन्ने स्थापित गराउन खोज्दैछन्। तर दुनियाँले त्यो कुरा मान्दैन।

संघ र प्रदेशको चुनावमा गठबन्धन गर्ने कुरा आइरहेको छ। हिजो पनि राम्रो भयो, भोलि पनि राम्रो हुन्छ भन्न खोजिएको छ। यसैका लागि नै कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे सत्य लुकाइरहेको छ।

स्थानीय तहमा सबै ठाउँमा उम्मेदवार उठाएको भए आधा आकांक्षीले उम्मेदवार बन्न पाउँथे। सबै ठाउँमा उम्मेदवार उठाएकाले नै एमालेको मत बढी देखिएको हो। तर कांग्रेसमा जगन्नाथले पाएको १४ हजार ७ सय भोट त जोडिएन नि। त्यो कांग्रेसकै भोट त हो। तर प्राविधिक रुपमा स्वतन्त्र उम्मेदवारको मत पार्टीमा जोडिदैन।  

जसपाले गठबन्धनबाट फाइदा लिन सकेन। भोलिको दिनमा पनि फाइदा उठाउन सक्दैन भन्ने देखियो। फाइदा नहुने गठबन्धनमा किन जाने भन्ने प्रश्न पनि उठ्छ। उनीहरु धर्मसंकटमा छन्। एक्लै जाउँ पत्तासाफ भइन्छ। त्यसैले अहिले लोसपा र जसपा मिलेर चिर्वाचनमा जाने अभ्यास शुरु भएको देखिन्छ। 

अबको संसदीय निर्वाचनमा २०७४ मा जसले जुन स्थानमा जसले जितेको छ त्यही स्थानमा पाउने भनियो भने कांग्रेसले  त जम्मा २३ ठाउँमा जितेको न हो। माओवादीको प्रत्यक्षमा ३६ सिट छ। एकीकृत समाजवादीलाई एमालेले जितेको ठाउँमा दिने हो भने मधेशमा मधेशवादीले कांग्रेसकै सिट घटाउँछन्। माओवादीका पोलिटब्युरो सदस्यहरुले जितेको ठाउँमा क्लेम गर्न कांग्रेसलाई गाह्रो छ। ती ठाउँमा उनीहरुलाई दिने कि आफू लिने?

माओवादीले आफूले जितेको ठाउँ यथावत राखेर एमालेले जितेको ठाउँमा जान भन्छ। त्यो हुँदा रेनु दाहालले जितेको ठाउँमा हिजो पनि माओवादीको हुन्छ, भोलि पनि उसैको हुन्छ।

त्यसैले त  यो गठबन्धन बडो विचित्रको छ। यसले पार्टीका केही नेतालाई फाइदा होला। तर कांग्रेस जस्तो ठूलो पार्टीलाई घाटा गर्छ। म कहाँ छु भन्ने थाहा नै हुँदैन। १० वर्षसम्म मिलेर लडेको हुन्छ। केही गडबड हुँदा बिग्रन्छ।

झलनाथ खनाल वाम एकता भन्न थालिसके। उनी एमालेसँग कुरा पनि गरिरहेका छन्। एमालेका मान्छेहरु प्रचण्डसँग कुरा गरिरहेका छन्। वाम गठबन्धन हुन पनि सक्छ। तर अहिलेसम्मको अवस्थामा यही गठबन्धन कायम रहने सम्भावना बलियो देखिन्छ। किनभने, माओवादीललाई राहत दिने त कांग्रेस रहेछ भन्ने माओवादी नेताहरु नै छन्। एमालेमा गयो केपी ओलीले टिक्न दिँदैनन् भन्ने त भोगी सके नै। 

तर उनीहरुको अबको चुनौती कांग्रेसको भोट सिफ्ट गर्नु हो। स्थानीय तहकै निर्वाचनमा त्यो गाह्रो काम हो भन्ने देखायो नै। कम्युनिष्टहरु जहाँ भए पनि किताब त एउटै पढेका हुन् नि। कांग्रेसको स्कुलिङ नै फरक छ।

वास्तवमा हुनुपर्ने दुई पार्टीबीच निर्वाचन हो। हाम्रो संविधानले तीन वटा पार्टी हुने वित्तक्कै बहुमतको सरकार हुन दिँदैन। तीन/चार पार्टी हुने बित्तिक्कै अस्थिरता हुन्छ। त्यसैले कम्युनिष्ट एकातिर अनी डेमोक्रेट एकातिर भए सहज हो। गठबन्धन भने पनि यो पाली प्रतिष्पर्धा त दुई दलिए जस्तै नै देखिएको हो नी। आज समूह भए भोली दल हुन पनि सक्छ। भए राम्रो।

गठबन्धनको नाफा-घाटा हेर्ने हो भने एकीकृत समाजवादीलाई फाइदा नै भएको देखिन्योछ। गठबन्धन नभएको भए पोखरा र हेटौंडा जित्ने उसको एकल शक्ती थिएन। जसपाले केही नपाएको अनी ऊ दबाब परेकाले नै देउवाले लोसपासँग कुरा अघि बढाइरहेको देखिन्छ। त्यो भनेको जसपासँग के हुन्छ भन्ने थाहा नभएर हो। मधेशमा एउटा शक्तिसँग भएन भने अर्को शक्तिसँग तालमेल हुनसक्छ भन्ने हो यो संकेत। 

वाम गठबन्धन भयो भने कांग्रेसलाई गाह्रो हुने भए पनि हिजोको जस्तो २३ सिटमा सीमित हुँदैन। संसद भंगदेखि पार्टी विभाजनले कांग्रेस बलियो देखिन्छ। तर संघीय निर्वाचनमा गठबन्धन भयो भने कांग्रेसलाई अझ बढी घाटा हुने देखिन्छ।

स्थानीय तहमा बहुपद छ। एउटा हारे अर्कोमा आउन सक्छ। तर संघीयमा हारेपछि हार्यो, हार्यो। कांग्रेस एक्लै स्थानीय तहमा लडेको भए उसको तागत थाहा हुन्थ्यो। अन्य दल विभाजन भएको अवस्थामा उसले फाइदा लिन सक्थ्यो।

भोलि सरकार बनाउनुपर्छ। सबैभन्दा ठूलो पार्टी हामी नै हुन्छौं, अर्को हुन सक्दैन भन्ने हुन्छ। संघीय निर्वाचनपछि पनि आफ्नै सरकार बन्छ भन्ने सोचाइ कांग्रेसको छ। त्यसैले आगामी निर्वाचनपछि बन्ने सरकारका लागि पनि गठबन्धनका दलले जे-जे माग्छन्, त्यही-त्यही दिएर थामथुम पार्नुपर्ने बाध्यतामा कांग्रेस छ।  यसले गठबन्धनको बलको आधारमा शेरबहादुर देउवा प्रधामन्त्री हुन सक्छन्। तर जुनसुकै बेला हुत्याउन सक्ने कमजोर प्रधामन्त्री हुन्छन्। उनी मात्र कमजोर हुने हैन नेपाली कांग्रेस समेत कमजोर बनाउने छ गठबन्धनले।

त्यसैले संसदीय निर्वाचनमा हुने गठबन्धन पार्टीको हितमात्र हेर्दा पनि कांग्रेसलाई फाइदा छैन अनी राष्ट्रीय स्वार्थ हेर्दा पनि फाइदा छैन। फाइदा छ त माओवादी र एकिकृत समाजवादीलाई मात्र।

(कांग्रेसबारे विद्यावारिधि गरेका डा. कार्कीसँग उकेराकर्मी दिपेन्द्र अधिकारीले गरेको कुराकानीमा आधारित।)

३० जेठ, २०७९, १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।