भारतीय कलाकारले नेपाली फिल्म खेल्दैमा स्तर बढ्छ र !

भारतीय कलाकारले नेपाली फिल्म खेल्दैमा स्तर बढ्छ र !

काठमाडौँ : प्रेम जोडी युवा ज्योतिष हरिहर अधिकारी अनि  नायिका निता ढुङ्गाना यति बेला भारतमा फिल्म बनाउन कम्मर कसेर लागेका छन्। उनीहरूको फिल्मको नाम छ 'ह्रस्व दीर्घ' राखेर प्राविधिक काम समेत सुरु गरिसकेका छन्।

उनीहरूले दक्षिण भारतीय फिल्म बाहुबलीको सुटिङ भएकै सेटमा आफ्नो फिल्मको छायाङ्कन गर्ने दाबी गरिरहेका छन्। फिल्ममा काम गर्ने प्राविधिकदेखि कलाकारहरू समेत भारतकै हुने उनीहरूको दाबी छ।

उनीहरूले अहिलेसम्म तीन जना चर्चित दक्षिण भारतीय कलाकार फिल्ममा अनुबन्धन भइसकेको सार्वजनिक गरेका छन्। उनीहरूले सार्वजनिक गरे अनुसार पुष्पा फिल्ममा खलनायकको भूमिका निभाएका चर्चित कलाकार प्रदीपसिंह रावत, ६ सय भन्दा धेरै फिल्ममा हास्य कलाकारको भूमिका निभाइसकेका सुनिल वर्मा र अनुहारको एक्प्रेसन, टाइमिङ र हास्य चरित्रमा अत्यधिक रुचाइएका अलि फिल्ममा अनुबन्धित भइसकेको उनीहरूको दाबी छ।

अब अर्का चर्चित हास्य कलाकार ब्रह्मानन्दलाई पनि फिल्ममा अनुबन्धन गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी दिइएको छ।

कलाकारहरूको चयनले उनीहरूले दक्षिण भारतीय फिल्मको बढ्दो क्रेजलाई हेरेर कलाकारहरू अनुबन्ध गरेको देखिन्छ। तर उनीहरूले अहिलेसम्म फिल्मको विश्वासिलो बजेट भने सार्वजनिक गरिसकेका छैनन्। न फिल्म प्रदर्शनको रणनीति।

पछिल्लो समय नेपाली बजारमा समेत दक्षिण भारतीय फिल्मको प्रभाव बढेको देखिन्छ। कलाकारहरूलाई नेपाली दर्शकले स्विकारेका छन्। उनीहरूले यही नेपाली बजार हेरेर भारतीय कलाकार अनुबन्ध गरिरहेका हुन् या भारतीय फिल्म बजारमै प्रभाव पार्ने प्रयास हो त्यो पनि देखिन्न।

फिल्म करिअर हेर्ने भने हो दुवैको औसत नै हो। हरिहरले त एक फिल्ममा अभिनय गरेका थिए जुन सुपर फ्लप भयो। निता लामै समयदेखि अभिनयमा संलग्न छिन्। तर सङ्ख्या बढी भए पनि उल्लेखनीय अभिनय भने देखिएन। त्यसैले पनि उनीहरूले गरिरहेका दाबी त्यत्ति विश्वसनीय देखिएको छैन।

त्यसो त, यसअघि पनि नेपाली फिल्ममा भारतीय कलाकारहरू अनुबन्धन नभएका होइनन्। माइतीघरका कलाकारै भारतीय थिए। पछिल्लो समय प्रदर्शनमा आएको 'द म्यान फ्रम काठमाडौँ'मा बलिउड कलाकार गुलशन ग्रोभरको अभिनय थियो।

त्यस्तै, 'पासवर्ड' मा सन्नी लियोनीले आइटम डान्स गरेकी थिइन्। 'एक्स ९' फिल्ममा सुनिल सेट्टी अनुबन्धन भएका छन्।

भारतीय कलाकार कसरी अनुबन्ध हुन्छन् ?

नेपाली फिल्मको बजारबारे भारतीय कलाकारहरू जानकारै देखिन्छन्। उनीहरूका लागि नेपाली फिल्म त्यति आकर्षक विकल्प बन्न सक्ने देखिएको छैन।

अन्तर्राष्ट्रिय विषयवस्तुमा भारतीय फिल्म क्षेत्रमा समेत परिचित भइसकेका कुनै नेपाली फिल्ममेकरको प्रस्ताव वा आफूले विश्वास गरेका एजेन्सीको अफर अस्वीकार गर्न अप्ठ्यारो भएर नै भारतीय कलाकारहरू नेपाली फिल्ममा अभिनय गर्न राजी हुने यसबारे जानकार एक निर्देशकले उकेरासँग दाबी गरे।

ती निर्देशकले भने, 'चर्चित कलाकारलाई एजेन्सीका मानिसको आवश्यकता परिरहन्छ। उनीहरू ती व्यक्तिले भनेका कुरालाई हार्न सक्दैनन्। आफूलाई परेको समयमा काम गर्ने यिनैले हो भनेर पिआर मेन्टेन गर्न उनीहरू नेपाली फिल्ममा अनुबन्धित हुन्छन्। पिआर जोगाउनै पैसाको लोभ नगरेर उनीहरूले फिल्ममा खेलिदिन तयार हुन्छन्।'

तर फिल्म 'एक्स ९' का निर्देशक मुकुन्द भट्ट भने फिल्मको स्क्रिप्ट मन परेकाले नै सुनिल सेट्टीले हस्ताक्षर गरेको दाबी गर्छन्।

उनले भने, 'हामीले अरू कलाकारहरू पनि अप्सनमा राखेका थियौँ। उहाँलाई स्कृट सुनायौँ, कथा राम्रो लागेकाले फिल्ममा अनुबन्धन हुनुभयो।'

स्टोरी पिच गर्दा, यस्तो फिल्म नेपालमा पनि बन्छ भनेर सुनिल सेट्टीले प्रश्न गरेको समेत उनको दाबी छ। उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म लैजान भारतीय कलाकार लिनु परेको दाबी गरे।

देखाउने दाँत मात्रै

नेपाली फिल्ममा विदेशी कलाकार हात्तीको देखाउने दाँत जस्तै मात्र देखिन्छ। लकडाउनमा प्राविधिक समेत भारतबाट ल्याएर काम गर्न तयार भएका दिवाकर भट्टराई यसको जल्दो बल्दो उदाहरण हुन्।

निर्देशक भट्टराइले 'तिमीसँगै हुने मन छ' नामको फिल्ममा बलिउडको टिम नै भित्र्याएका थिए। चर्चित टेलिसिरियल 'ए रिस्ता क्या केहेलाते है' मा काम गरेर चर्चा कमाएका कलाकार रोहित सुचान्ती सहितको प्राविधिक टोली फिल्म सुटिङका लागि नेपाल आएको थियो।

तर लकडाउन सुरु भएको भन्दै ११ दिन नेपाल बसेर भारतीय टोली भारत फर्कियो। ११ दिनको होटेल बसाइ र ती कलाकार प्राविधिकको खुवाइ धान्नै धौधौ परेपछि फिल्म फासफुस भयो।

अहिले उनै भट्टराई अर्को फिल्म 'हनीबनी' बनाउन लागिपरेका छन्। जसका नेपाली कलाकार अनमोल केसीले अभिनय गर्ने भनेर पक्का भए पनि पछि कुरो मिलेन।

'ड्रिम्स'मा अनमोलसँगै काम गरिसकेका दिवाकरले यो फिल्ममा अनमोल दोहोर्याउन चाहेका थिए। तर अनुबन्धन भइसकेपछि पनि उनीहरूबिच कुरा मिलेन। अहिले अनमोललाई बलिउडकै मोडल अभिमन्यु तोमरले रिप्लेस गर्ने भएका छन्।

नेपाली बजारमा बढ्दो प्रभाव

नेपाली फिल्म बजारमा भारतीय कलाकारहरूको राम्रो प्रभाव छ। पहिला बलिउडका कलाकारहरूको बोलवाला थियो। पछिल्लो समय दक्षिण भारतीय कलाकारहरूको पनि प्रभाव बढ्दो छ।

नेपाली दर्शकहरू नेपाली फिल्ममा भारतीय कलाकारको अभिनय हेर्न लालायित नै देखिन्छन्। अनि फिल्मी पत्रकारहरू पनि। नेपाल घुम्न आउने हरेक भारतीय कलाकारहरूले एक प्रश्नको सामना गर्नै पर्छ' नेपाली फिल्म खेल्ने अफर आए के गर्नुहुन्छ?'

उनीहरूको रेडिमेड जवाफ हुन्छ स्क्रिप्ट राम्रो भए खेल्छु। केही कलाकारहरूले अभिनय पनि गरे। तर त्यसको त्यति ठुलो प्रभाव परेको देखिएन निर्माताहरूलाई।

पुष्पा, आरआरआर र केजीएफले नेपाली दर्शकमाझ बढाएको दक्षिण भारतीय फिल्मी शैली अनि कलाकारको क्रेजले नेपाली फिल्म निर्माताहरू पनि दक्षिण भारतीय कलाकारतिर आकर्षित भएको देखिन्छन्। तर नेपाली फिल्मको स्क्रिप्ट अनि बजेटका कारण यसले निरन्तरता पाउन ग्राहै देखिन्छ।

तर नेपालमा सधैँ अनि सबै दक्षिण भारतीय फिल्म चलेका छैनन्। भलिमाईले भारतमा राम्रो व्यापार गर्दा नेपालमा आशा गरे अनुसार चल्न सकेन। अहिले पनि हलमा साउथका डब फिल्म '७७७ चार्ली' चलिरहेको छ। यसले त नेपालमा प्रिमियर सो नै गर्यो।

मानिस र कुकुरबिचको सम्बन्ध देखाउने उक्त फिल्मको प्रिमियरमा अधिकांश मारवाडी समुदायका दर्शकहरू हल पुगेका थिए। हलमा फिल्म लाग्यो पनि। तर खासै दर्शक फिल्मप्रति आकर्षित भएनन्।

तर नेपाली दर्शकको मनोभाव साउथ फिल्मले बुझेको छ। त्यसैले उनीहरूले नेपालको बजार कसरी तान्न सकिन्छ भन्ने उपायहरू प्रयोग गरिरहन्छन्।

नेपाली दर्शक तान्नकै राधेश्याम फिल्मका नायक प्रभासले छुट्टै भिडियो सन्देश बनाएका थिए। नायिका स्वस्तिमा खड्का, आँचल शर्मा लगायतलाई फिल्मको आइटम गीतमा नचाएर पनि फिल्म चलाउने कोसिस गरे।

त्यो रूपमा नेपाली निर्माताले मिहिनेत गरेको देखिन्न। उनीहरूको लक्ष्य फलानो भारतीय कलाकारको अभिनय रहेको नेपाली फिल्म भनेर दर्शकहरूलाई हलमा तान्न चाहन्छन्। तर अब यो फण्डा डेटएक्सपाएर भइसक्यो।

२८ जेठ, २०७९, १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।