दुर्व्यवहार भएको भन्दै कबड्डीकी नायिकाले थप्पड हान्दा तनाव: धर्म जोडियो, फिल्म बहिष्कार गर्ने ट्रेण्ड सुरु भयो

दुर्व्यवहार भएको भन्दै कबड्डीकी नायिकाले थप्पड हान्दा तनाव: धर्म जोडियो, फिल्म बहिष्कार गर्ने ट्रेण्ड सुरु भयो

काठमाडौंः 'कबड्डी ४' को व्यापार राम्रै भइरहेको थियो। प्रदर्शनको एक सता पनि नबित्दै चलचित्रका निर्माताले लगानी उठाइसकेका थिए। तर सोमबार भएको एउटा प्रकरणले यतिबेला फिल्म बहिष्कार गर्ने, नायिका मिरुना मगरलाई बहिष्कार गर्ने भन्दै सामाजिक सञ्जाल विशेषतः टिकटकमा ट्रेण्डै चलिरहेको छ।

टिकटकमा एक भिडियो भाइलर भयो जसमा कबड्डी ४ कि नायिका मिरुना मगरले लामाको पोशाकमा रहेका एक दर्शकको गालामा झापड हानेकी छिन्। धेरै मानिसहरूको हुलमा झापड हान्दै चोरी औंलो देखाउँदै खबरदारी गरेकी छिन् मिरुनाले। भिडियोमा माफी माग्न लगाएको समेत देखिन्छ।

कुरा यतिमै सकिएन। उनले प्रहरी बृत्त जनसेवामा उजुरी पनि गरिन् र ती ब्यक्ती पक्राउ पनि परे।

भिडियो भाइरल भएसँगै त्यसका पक्ष विपक्षमा तर्क वितर्क आउन थाले।  'ब्याड टच' गरेका भनिएका पीडकको पक्षमा माहोल बन्दै गयो। लेखिका तथा महिला अधिकारकर्मी बबिता बस्नेतले आधा रातमा लेखिन्, 'एक नायिकाले दुर्व्यवहारको आरोप लगाएका भिक्षु भेषका युवाको निर्दोष मुहारले सुत्न दिइरहेको छैन। के भएको हो सुक्ष्म छानबिन होस्, कहिलेकाहिँ एक्सन गलत झैँ लागे पनि नियत गलत नहुन सक्छ।'

उनी झैँ धेरै भिक्षुको पक्षमा देखिएनन् मात्रै एक समूह त मिरुना अभिनित फिल्म कबड्डी ४ लागेको हल अगाडि प्रदर्शन गर्नै गए। यसले सिधै असर फिल्मको ब्यापारमा मात्रै हैन धार्मिक विवाद बढ्ने समेत देखाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आरोपीलाई तीन हजार धरौटीमा रिहा गरिदिए। धरौटीमा रिहा हुनु भनेको आरोपबाट मुक्ती हैन। उनको मुद्धा भने चल्ने नै छ प्रशासनमा।

घटना के हो?
सोमबार बिहान साढे ११ बजेको शो हेर्न गए फिल्मका सम्पूर्ण कलाकारको समूह। त्यहाँ सौगात मल्ल, दयाहाङ राई लगायत हल रिपोर्ट बनाउन पत्रकारहरू पनि साथै गए। सिभिल मलमा फिल्म सकिँदा साढे २ भयो। सबै हुल बाँधेरै कलाकारलाई घेर्दै बाहिर निस्कँदै थिए। सौगात मल्ल र दयाहाङ राइले सुरक्षा दिइरहेको जस्तो देखिन्छ भाइरल भिडियोमा।

तर एक्कासि मिरुनाले झापड हान्न पुगिन्, लामाको भेषमा रहेका युवकलाई। तामाङ थरका ती युवाले कान समातेर माफी समेत मागे। तर मिरुनालाई चित्त बुझेन। प्रहरीलाई खबर गरिन्।

मिरुनाका अनुसार ती युवाले उनलाई ‘ब्याड टच’ गरेका थिए। फिल्म हर्ने क्रममा हलभित्र ती युवाले नराम्रोसँग छोएको मिरुनाको भनाइ छ। उनले केही अन्तर्वर्तामा आफ्नो 'बट'मा तीन पटक कसैले समातेको अनुभव भएपछि नै प्रतिक्रियामा झापड हानेको दाबी गरेकी छिन्।

यतिबेला उनीसँग सम्पर्क गर्न नसकिए पनि उनी निकटमा स्रोतअनुसार ती युवाले हलमा फिल्म हेर्नेक्रममा मिरुनालाई नराम्रोसँग छोएको उनले बताएकी थिइन्। हल बाहिर आएपछि उनले झापड हान्नुका साथै माफी माग्न लगाएकी हुन्।

तर सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने लामाले मिरुनालाई ब्याड टच गरेको देखिँदैन। ब्याड टच गरेको भिडियो नदेखिनु र झापड हानेको मात्रै देखिनुले समेत यो घटनामा पीडकलाई साथ मिलेको हो।

धर्म जोडियो घटनामा
लामा पक्राउ परेसँगै बौद्ध धर्मावलम्वीहरूले भने आन्दोलन सुरु गरे। आन्दोलनकर्ता रोशन फ्युवाले भने, 'लामा वस्त्र लगाएको मानिसलाई थप्पड हान्नु भनेको हाम्रो सम्प्रदायमा थप्पड हान्नु हो।'

'हुलमुलमा छोइयो होला, झापड हानेर उल्टै माफी माग्दा समेत प्रहरीलाई पक्राउनु अति अन्याय हो', फ्युवाले भने। यदि मिरुनाले सार्वजनिक रूपमा माफी मागे मात्रै यो घटना सेलाउने नत्र फिल्म नै बहिष्कार गर्ने उनको भनाइ छ।

'हामीले केएल टावरमा सबै शोहरू बन्द गरायौं, अब अन्य हलमा पनि यसै गर्नेछौं', उनले भने। सार्वजनिक रूपमा माफी माग्ने र बिनासर्त पक्राउ परेका लामालाई छोड्ने माग रहेको उनको भनाइ थियो। उनीहरुको सर्त अनुसार लामा रिहा भएका छन् प्रहरी हिरासतबाट। तर विना सर्त हैन धरौटीमा।

सेलिब्रेटीको सुरक्षाको प्रश्न

अटोग्राफबाट सुरु भएको कलाकारप्रतिको क्रेज फोटोग्राफ हुँदै अहिले टिकटकसम्म आइपुगेको छ। कलाकार अब दर्शकसँग लुटपुट गर्न बाध्य पनि भएका छन्। उदाहरणका लागि 'म यस्तो गीत गाउँछु- २' को समयमा नायिका पूजा शर्माले दर्शकलाई अँगालोमा राखेर रुन बन्द गराउन परेको थियो।

दर्शक र कलाकारको दूरी घट्दै जाँदा सुरक्षाको विषयमा भने खासै ध्यान दिइएको पाइँदैन। फिल्मका निर्देशक रामबाबु गुरुङले भने, 'घटना थाहा नभएरै हुने हो। त्यसैले तयारी गर्न पाइएन।'

दर्शक खुशी बनाउन सेल्फी खिच्ने, नजिक गएर टिकटक बनाउने कुरा सामान्य हुँदै गइरहेका बेला यस्ता कुराले पाठ सिकाउने उनको भनाइ छ।

१७ जेठ, २०७९, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।