काठमाडौँ : डा.खगराज बरालद्वारा लिखित पुस्तक ‘‘मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ। शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकापर्ण समारोहका प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्व सचिव किशोर थापा, गीता काफ्लेले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
शब्दमाला
पुस्तकमाथि आफ्नो धारणा राख्ने क्रममा डा.शोभाकर पराजुलीले पुस्तक एक पटक होइन पटक पटक पढ्नु पर्ने र पढे पछि नवीन सिकाई थपिँदै जाने बताए। पुस्तकका विषय वस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताए।
यस्तै किशोर थापाले मालामा नउनिएका फूलहरू पुस्तक अनुभव र भोगाइमा पाइने र यस्ता अनुभव तथा भोगाइबाट धेरै सिकाइ गर्न सकिने बताए। सिकाइबाट व्यवहारमा परिवर्तन तथा रूपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरीकन मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताए।
नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले वैचारिक तथा व्यवहारिक रूपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताइन्। प्राध्यापक डा.जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम रहेको बताए। गैर आख्यान अनुभूति भनिएको पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ। शिखा बुक्सद्वारा प्रकाशित पुस्तक हो।
२०७९ जेठ ०८ गते १७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।