कभर स्टोरी

एआरआइ मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक : १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी

सिभिल अस्पतालमा स्पेशिफिकेशन बनाउने बोयोमेडिकल प्राविधिक नभएका हैनन्। तर, सेटिङमा स्पेशिफिकेशन बनाउनकै लागि सशस्त्र अस्पतालबाट बायोमेडिकल इन्जिनियर ल्याइएको थियो। ती बायोमेडिकल इन्जिनियरले ६५ सेन्टिमिटर बोर साइजको सिङ्गल एमआरआई खरिद गर्नुपर्ने अडान राखेका


काठमाडौँ : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को नेतृत्वले सप्लायर्ससँग मिलेमतो गरी १५ करोडमा आउने एमआरआई मेसिन २३ करोडमा किन्ने तयारीमा छन्। सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल आफैँले यो खेलमा संलग्न भएको उकेराले प्राप्त गरेको प्रमाणले देखाउँछ।

बिरामीको स्वास्थ्य परीक्षणका लागि अत्यावश्यक परेको भन्दै ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्न अस्पतालले टेन्डर आव्हान गरिसकेको छ। अस्पतालमा तीन वटा सप्लायर्स कम्पनीले एमआरआई खरिदका लागि प्रस्ताव पेस पनि गरेका छन्।

स्रोतका अनुसार सरकारी अस्पतालमा सेटिङ मिलाउन माहिर विशाल पण्डितको ‘हस्पिटेक’, सार्थक न्यौपानेको ‘आरबी मर्चेन्ट’ र शेरसिंह श्रेष्ठको ‘इष्ट वेस्ट कन्सर्न’ ले खरिद प्रस्ताव पेस गरिसकेका छन्।

गङ्गालाल अस्पतालमा करिब एक वर्ष अघि ७० सेन्टिमिटर बोर साइजकै एमआरआई करिब २१ करोडमा खरिद गरेको थियो। हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन दिने प्रस्ताव पेस गरेको छ। अस्पतालले २३ करोडको सिलिङ तोकेको छ। तर पण्डितको कम्पनीले अस्पतालको बजेटको सिलिङ भन्दा बढी रकम प्रस्ताव गरेको छ।

आरबी मर्चेन्टले युनाईटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन दिने गरी प्रस्ताव पेस गरेको छ भने इस्टवेष्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिद गरेर दिने प्रस्ताव पेस गरेको छ।

हस्पिटेकले अस्पतालको सिलिङ भन्दा बढी रकम प्रस्ताव गरेकाले आरबी मर्चेन्ट र इष्टवेष्टमध्ये एउटाले टेन्डर पाउने देखिन्छ। आरबी मर्चेन्ट र इष्टवेष्टले अस्पतालको बजेट सिलिङ (करिब २३ करोड) भित्रै एमआरआई खरिद गरिदिनेगरी प्रस्ताव पेस गरेका छन्।

आरबिले करिब २२ करोड प्रस्ताव गरेको छ भने इष्टवेष्टले आरबिको भन्दा दुई लाख सस्तोमा एमआरआई ल्याईदिनेगरी प्रस्ताव पेस गरेको छ। इष्टवेष्टले ल्याउने जर्मन र आरबीले ल्याउने चिनिया कम्पनीको एमआरआई हो।

यी दुवै कम्पनीले करिब २३ करोडमा दिने भनेको एआरआई मेसिन ७० सेन्टिमिटर बोर साइजको हुनुपर्नेमा अहिले ६५ सेन्टिमिटरको बोर साइजको किन्ने खेल सुरु भएको छ। जानकार स्रोतका अनुसार ६५ सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन १२ देखि १५ करोडमा किन्न सकिन्छ।

जानकार श्रोतका अनुसार यो टेन्डर आव्हान गर्नु अगाडिदेखि नै आरबीलाई दिन मिल्ने गरी सेटिङ मिलाइएको छ। सोही अनुसार स्पेशिफिकेशन समेत बनाइएको स्रोतले उकेरालाई जानकारी दियो।

स्रोतका अनुसार आरबी मर्चेन्टले युनाइटेड कम्पनीको ६५ सेन्टिमिटरको ‘न्यारो बोर साइज’को एमआरआई खरिद गर्ने गरी प्रस्ताव पेस गरेको छ। इष्ट वेस्ट कन्सर्नले ७० सेन्टिमिटर ‘वाइड बोर साइज’को सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिद गर्ने प्रस्ताव पेस गरेको छ।

टेन्डर आह्वान हुनुअघि बसेको स्पेशिफिकेशन समितिले ७० सेन्टिमिटरको बोर साइजकै एमआरआई मेसिन खरिद हुनुपर्ने स्पेशिफिकेशन तयार गरेको थियो। इष्ट वेस्ट कन्सर्नले गरेको प्रस्ताव र अस्पताले तोकेको सिलिङको मूल्य लगभग मिल्छ।

तर अहिले आरबी मर्चेन्टले पेस गरेको ६५ सेन्टिमिटरको बोर साइजको एमआरआई मेशिन खरिद गर्ने गरी प्रस्तावको मुल्याकंन प्रतिवेदन बनिरहेको छ।

स्पेशिफिकेशन समितिमा सहभागी एक सदस्यका अनुसार आरबिले खरिद गरिदिने भनेको ६५ सेन्टिमिटर ‘न्यारो बोर साइज’ को एमआरआइको तुलनामा इष्ट वेस्ट कन्सर्नले भने ७० सेन्टिमिटर ‘वाइड बोर साइज’को एमआरआई मेशिन गुणस्तरीय हो।

ती सदस्यले भने ,‘६५ सेन्टिमिटर बोर साइजको एमआरआई प्रयोगका लागि उपयोगिनै हुँदैन। ७० सेन्टिमिटर बोर साइजकै एमआरआई चाहिन्छ।’

तर, कार्यकारी निर्देशक डा. पौडेल भने आरबिले प्रस्ताव गरेको ६५ सेन्टिमिटर बोर साइजकै एमआरआई मेसिन खरिदको प्राविधिक प्रतिवेदन बनाएर सूचना जारी गर्ने तयारीमा छन्।

अर्कातर्फ स्पेशीफिकेशनलाई आधार मान्दा आरबिले एमआरआई मेशिन खरिदको टेन्डर पाउनै सक्दैन। किनकि टेन्डर आव्हान गर्दा नै न्यूनतम ७० सेन्टिमिटर बोर साइजको भनिएको छ। तर यसो गर्दा आरबि कन्सर्नले पेस गरेको प्राविधिक र आर्थिक प्रस्ताव पारित गर्नुपर्ने हुन्छ। पहिल्यै श्रेष्ठको आरबीलाई दिने सर्तमा टेन्डर आव्हान गरिएकाले अहिले प्राविधिक समितिलाई ६५ सेन्टिमिटर बोर साइजको मेसिन खरिद गर्न उपर्युक्त हुने गरी प्राविधिक प्रतिवेदन पास गर्न भनिएको छ।

स्पेशिफिकेशनमै खेल

एमआरआई मेसिन खरिदका लागि स्पेशिफिकेशन बनाउँदै खेल सुरु भएको थियो। एमआरआई खरिदका लागि भदौतिर स्पेशिफिकेशन तयार गर्नका लागि समिति बनेको थियो। जुन समितिमा ७० सेन्टिमिटर बोर साइजको ‘डबल आरएफ’ एमआरआई ल्याउने की ६५ सेन्टिमिटर बोर साइजको सिङ्गल आरएफको एमआरआई खरिद गर्ने भन्ने विवाद भएको थियो। स्पेशिफिकेशन समितिका अधिकांश सदस्य कम्तीमा पनि ७० सेन्टिमिटर बोर साइजकै गुणस्तरीय ‘डबल आरएफ’ को एमआरआई ल्याउनुपर्छ भन्ने पक्षमा उभिए।

डा. पौडेल पक्षधरले कम गुणस्तरीय ल्याउनुपर्ने तर्क राखेका थिए भने अन्यले गुणस्तरीय नै ल्याउनुपर्नेमा जोड दिएका थिए। स्रोतका अनुसार स्पेशिफिकेशन समितिमा सशस्त्र प्रहरी अस्पतालकी बायोमेडिकल इन्जिनियर डिना केसीलाई राखिएको थियो। 

सिभिल अस्पतालमा स्पेशिफिकेशन बनाउने बोयोमेडिकल प्राविधिक नभएका हैनन्। तर, सेटिङमा स्पेशिफिकेशन बनाउनकै लागि सशस्त्र अस्पतालबाट बायोमेडिकल इन्जिनियर ल्याइएको र उनले ६५ सेन्टिमिटर बोर साइजको सिङ्गल एमआरआई खरिद गर्नुपर्ने अडान राखेको समितिका एक सदस्यले उकेरासँग दाबी गरेका थिए।

*तर  डिना यो दाबी गलत भएको तर्क गर्छिन्। स्पेशिफिकेशन कुनै एक कम्पनी लक्षित गरेर बनेपछि आफुले त्यसमा संशोधन गर्न माग गरेको तर समितिको संयोजकले नमानेपछि आफुले समितिबाटै राजिनामा दिएको उनले जानकारी दिइन्। उनले उकेरालाई पठाएको राजिनामा पत्रमा स्पेशिफिकेशनमा चित्त नबुझाएर राजिनामा दिएको उल्लेख छ। 

उनले राजिनामा दिइसकेपछि पनि एक पटक विज्ञ परामर्शदाताको रुपमा समितिको बैठकमा सहभागी भइन्। सो बैठकमा सहभागी भएपछि आफु समितिको बैठकमै नगएको उनको तर्क छ। उनले सो समितिको बैठकले ७० सेन्टिमिटर बोर साइजको मेसिन किन्नुपर्ने निर्णय गरेको दाबी गरिन्।

स्पेशिफिकेशन बनाउने प्रक्रियाकै चरणमा प्रधानमन्त्री कार्यालयका दुई जना खरिद विज्ञको पनि राय लिइएको देखियो। पौडेल र मुख्यसचिव शंकरदास वैरागी निकट मित्र हुन्। पौडेलले कानुन विपरीत अन्यत्र काम गरेको पुष्टीहुँदा समेत उनै वैरागीले जोगाउँदै आएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका विज्ञबाट समेत राय लिएको देखाएमा विवाद नहुने भन्दै उनै वैरागीको सहयोगमा पौडेलले विज्ञ झिकाएका थिए। उनीहरू आरबी मर्चेन्टकै सेटिङमा आएका थिए। उनीहरूले आरबीलाई नै मिल्ने किसिमले स्पेशिफिकेशन बनाउनुपर्ने राय दिएर गए।

त्यसपछि झन् एमआरआई खरिदमा विवाद बढ्दै गयो। डा. पौडेलको सेटिङमा बसेका सदस्य बाहेकका समितिका सबै सदस्यहरू ७० सेन्टिमिटर वा सो भन्दा बढी बोर साइजकै एमआरआई खरिद हुने गरी स्पेशिफिकेशन बनाउने पक्षमा रहे। तर, डबल वा सिङ्गलमध्येमा भने लचिलो भएर समितिले स्पेशीफिकेशन करिब तयार गर्‍यो।

आफूले एमआरआई खरिद गर्न चाहेको कम्पनीसँग स्पेशिफिकेशन नबनाइदिएपछि डा. पौडेल स्पेशिफिकेशन समितिसँग रुष्ट भए। त्यसपछि स्पेशिफिकेशन समितिमा रहेका चिकित्सक तथा सदस्यहरूले समितिबाट राजीनामा दिए। विवाद बढेपछि स्पेशिफिकेशन समिति समेत भङ्ग भयो।

पहिलो स्पेशिफिकेशन समिति भङ्ग भएपछि कार्यकारी निर्देशक डा. पौडेलले दोस्रो पटक स्पेशिफिकेशन समिति बनाए। जुन समितिमा सिभिल अस्पतालकै बायो मेडिकल प्राविधिक राखियो। दोस्रो पटक भने डा. पौडेलले अस्पतालबाहिरबाट स्पेशिफिकेशनका लागि विशेषज्ञ चिकित्सक तथा बायोमेडिकल इन्जिनियर पनि बोलाए। जसमा सशस्त्र प्रहरी अस्पतालका एक जना चिकित्सक र वीर अस्पतालका एक जना चिकित्सक र राष्ट्रिय ट्रमा सेन्टरका बायोमेडिकल इन्जिनियर समेत थिए। त्यसै गरी पहिलो स्पेशिफिकेशन समितिमा रहेकी सशस्त्र अस्पतालकी बायोमेडिकल इन्जिनियरलाई समेत समितिको परामर्शदाताका रूपमा राखियो।

सिभिल अस्पतालको रेडियोलोजी विभागको एक जना प्राविधिक बाहेक सबै सदस्य कार्यकारी निर्देशक डा. पौडेललेनै चाहेका सदस्य थिए। अस्पतालका ती बायोमेडिकल प्राविधिकलाई थाहै नदिई स्पेशिफिकेशन समितिको बैठक बस्थ्यो।

तर, डा. पौडेलकै अनुकूलतामा गठन भएको स्पेशिफिकेशनका सदस्य वीर अस्पतालका चिकित्सकले पनि ७० सेन्टिमिटर भन्दा कम बोर साइजको एमआरआई खरिद गर्न नहुने अडान लिए। त्यसैले स्पेशिफिकेशन समितिले ७० सेन्टिमिटर बोर साइजकै एमआरआई खरिद गर्ने गरी स्पेशिफिकेशन तयार पारेर करिब तीन महिना अघि अस्पताल व्यवस्थापनलाई बुझाएको थियो।

सिभिलको एमआरआई खरिदको स्पेशिफिकेशनमा पाँच वर्षको वारेन्टी राखिएको समेत एक सदस्यले बताए। उनले भने,‘दुई वर्षको वारेन्टी राख्ने चलन छ। सिभिलको एमआरआईको स्पेशिफिकेशनमा पाँच वर्ष वारेन्टी राखिएको छ। राम्रो एमआरआई आओस् भन्ने हाम्रो चाहना हो।’

दोस्रो स्पेशिफिकेशन समितिले पनि डा. पौडेलले चाहेजस्तो आरबी मर्चेन्टलाई पर्ने गरी ६५ सेन्टिमिटर बोर्ड साइजको एमआरआई खरिद गर्ने गरी स्पेशिफिकेशन बनाएन। त्यसपछि बाध्य भएर अस्पतालले एमआरआई खरिदका लागि टेन्डर आह्वान गर्‍यो। टेन्डर मार्फत एमआरआई खरिदका लागि पेस भएका प्रस्ताव मूल्याङ्कनको चरणमा छन्।

चिकित्सकका अनुसार आजकाल ७० सेन्टिमिटर बोर साइजकै एमआरआई चलाइन्छ। जुन सुरक्षित र प्रभावकारी हुन्छन्। सो भन्दा कम बोर साइज (६५ सेन्टिमिटर बोर साइज) को एमआरआई चलाउँदा मोटा बिरामी एमआरआइको प्वालमा छिर्न असहज हुन्छ।

बिरामी एमआरआइमा छिरेर बस्न कठिन हुन्छ। बिरामीलाई हलचल गर्न समेत निक्कै असहज हुन्छ। त्यति मात्रै हैन ६५ सेन्टिमिटर बोर साइजको एमआरआइमा जाँच गर्दा आउने गुणस्तरमा समेत प्रभाव पर्छ। स्रोतका अनुसार सिभिल अस्पतालमा खरिद गर्ने भनिएको ७० सेन्टिमिटर बोर साइजको एमआरआई बालबालिका तथा मुटुसम्बन्धी एमआरआई गर्नका लागि समेत उपयोगी हुन्छ।

तर, गुणस्तरीय एमआरआई खरिद गर्नुको सट्टा कम गुणस्तर भएको एमआरआई खरिद गर्न डा. पौडेल कस्सिएका छन्।

'पौडेल अहिले कि टेन्डरै रद्द गर्ने कि आरबीलाई मिल्ने गरी दिने तयारीमा छन्,' जानकार श्रोतले भन्यो' उनीहरूले इष्टवेष्टसँग पनि कमिसनको कुरा गरेका छन्। तर पर्ने मूल्य हाराहारीकै आर्थिक प्रस्ताव गरेको भन्दै उसले पौडेलको प्रस्ताव मानेका छैनन्।' इष्टवेष्टले नमाने टेन्डरै रद्द गर्ने रणनीतिमा पौडेल रहेको देखिन्छ।

* डिनाको भनाई थप गरिएको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले भने २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। जिल्ला सरकारी वकिलको....

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए। एउटा मात्रै निश्चित कम्पनीको....

रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

उनले नेपाली राहदानी प्रयोग नगरेको दावी गरेका छन्। तर, अध्यागमन विभागको रेकर्डले उनले झुट बोलेका पुष्टि हुन्छ। उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा....

नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी, १३ वर्षदेखि 'फरार'

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी....

सहयोगको आवरणमा विकास बोर्डको बदमासी, आफू निकटलाई बाँड्छ हरेक वर्ष ५० लाख

उकेराले सूचनाको हक प्रयोग गरेर मागेको पाँच वर्षसम्मको कागजातअनुसार बोर्डले विभिन्न अवार्ड र महोत्सवका लागि कराेडौं रकम वितरण गरेकाे देखिन्छ। अधिकांश नामै नसुनिएका संस्था छन्। एकाध....