रिपोर्टर डायरी : 'ओइ फोटो खिच्छेस्' भन्दै जब हुलै कुट्न आयो

रिपोर्टर डायरी : 'ओइ फोटो खिच्छेस्' भन्दै जब हुलै कुट्न आयो

लमजुङको बेशिसहरको ११ चिति। श्री जनकल्याण माध्यमिक विद्यालय। तेस्रो पटक मतदान गर्न जाँदै थिए त्यहीँ। आफैँ पढेको विद्यालय। न्यास्रो पनि मेटाउने भयो स्थानियतहको निर्वाचनले।

घरबाट हिँड्दा त्यस्तै २० मिनेटमै पुगिन्छ मतदान केन्द्र। यस अगाडि २ पटक मतदान गरिसकेको थिए त्यहीँ। हरेक पटक केन्द्रमा केही न केही विवाद भइनै रहन्थ्यो।

जो जहाँ मतदान गर्न पुग्ने हो त्यही रिपोर्टिङ गर्ने असाइनमेन्ट थियो कार्यालयको। त्यसैले म यो पटक मतदाता मात्रै हैन रिपोर्टर समेत भएर मतदान केन्द्र पुग्दै थिएँ।

OOO

१ हजार ९ सय मतदाता थिए केन्द्रमा। मतदानको दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको बुलेटिन यता काम लागेन। १२ बजे चर्को घाम लागेको थियो। आफ्नो मनले खाएको मतदातालाई मत दिन मतदाता लाममा थिए। मतदान केन्द्रमा समूहमा बसेर एमाले कार्यकर्ताहरू हल्ला गरिरहेका थिए। बुथमा यति त भइनै हाल्ने भयो।

त्यही थिए २०७४ मा एमालेबाट वडामा निर्वाचित अच्युत बगाले थापा। यसपालि कांग्रेसले सुरेशबाबु पाण्डे र एमालेले शिव जोशीलाई उठाएको थियो। दुवै प्रतिस्पर्धी तर मिल्ने साथी।

मतदानको वैशाख ३० गते बिहानै गाउँमा स्याउतका एक हजुरबुबाको निधन भयो। स्याउतका धेरै युवा मलामी गए बिहानै ६ बजे। मलामी पुग्नुपर्ने मर्स्याङ्दीको किनार। झन्डै एक-डेढ घण्टा लागिहाल्छ।

मलामीहरू तिलाहारमा मत खसालेर घर फर्कने भन्दै मतदान केन्द्रमा आए। मतदान गर्न क्रियापुत्री पनि आएका थिए। १३ दिनसम्म कसैलाई छुन नहुने धार्मिक मान्यताका कारण केही युवाले क्रियापुत्रीलाई छेकेका थिए।

दुई जना युवाले क्रियापुत्रीलाई छेकेर मतदान केन्द्रभित्र लैजान खोजे। बाटो छेकिरहेका थिए सुदिप पन्त( नीराजन) ले। एक्कासि एमालेबाट निर्वाचित बेशिसहर ११ का अच्युत बगाले थापाका भान्जाले पन्तलाई टाउकामा कुटे। एक्कासि एमाले कार्यकर्ता हुर्रिएर आएर क्रियापुत्री छेकिरहेका पन्तलाई मरणासन्न हुने गरी कुटे।

उनलाई छेक्न गएकालाई पनि एमाले समर्थकले कुट्न थाले। प्रज्वल पन्तले मरणासन्न हुने गरी कुटाई खाए। उनलाई नालिमा धकेलेर कुटे। कांग्रेस समर्थकहरू पनि मिसिए। दोहोरो झडप सुरु भयो।

झडप हुनु अगाडिसम्म मतदाता थिए। झडप भएपछि रिपोर्टर मन ब्युँझियो। मोबाइल निकालेर फोटो खिच्न थाले।

निर्वाचन आयोग अनि गृह मन्त्रालयले निर्वाचनको सुरक्षा प्रबन्ध चुस्त बनाएको भन्दै पटक-पटक भनेको थियो' तीन घेराको सुरक्षा छ निर्धक्क भएर मतदान गर्नुहोला।'

भित्री घेरामा नेपाल प्रहरी अनि सहयोगी म्यादी प्रहरी, त्यो भन्दा बाहिर सहयोग गर्न सशस्त्र प्रहरी। अनि त्यसले पनि नधाने सेना। बाहिर क्रियापुत्री बोकेर मत हाल्न आएका भकाभक कुटिदा पनि त्यहाँ न प्रहरी आइपुग्यो न सशस्त्र नै। पेट्रोलिङको जिम्मा पाएको सेना त कता हो कता।

कुटकुटकाक्रममा मतदान केन्द्रतिर गएन हुल। बजारतिर गयो। फोटो खिच्दाखिच्दै एक हुल म तिर आएका थिए। तर अन्यले बिचैमा रोक्दा उनीहरू म सम्म आइपुगेनन्। उनीहरू मलाई झम्टिन आएझैँ लागेकै थिएन। किनकि मैले जे गरेको थिए पेसागत कर्म गरेको थिए।

००००

घरबाट निस्कँदा मतदाता परिचय पत्र बोके। पैदल जान किन चाहियो सूचना विभागको कार्ड भनेर लगिन। कार्यालयले रिपोर्टिङ नि गर्नु भनेर मत हाल्न पठाएको घरमा भनेको थिए। बा ले सम्झनु भएको रहेछ।

'भित्र फोटो खिच्न जाँदा कार्ड काम लाग्दा। लगे भइगो नि' भन्नुभएपछि कार्ड बोकेको थिए। मतदान गर्न जाँदा मेरो गाउँका धेरै भए मलामीका कारण पनि।

क्रियापुत्रीलाई मतदान केन्द्रमा त थप सुविधा सहित छिर्न दिनुपर्नेमा उल्टो अवरोध भएको दृश्य समाचारयोग्य नै विषय भएकाले मैले फोटोसँगै भिडियो पनि खिँचे।

एक सुरमा फोटो र भिडियो खिचिरहेको मैले म तिर भिड आएकै देखिन। केही एमाले समर्थक 'भिडियो खिच्न पाइँदैन' भन्दै मैतिर आइरहेका रहेछन्। क्रियापुत्रीलाई मत हाल्न जान नदिनु अनि मतदान केन्द्रमा आएकालाई भकुर्नु गैर कानुनी काम भएकाले पोल खुल्ला भनेर भिडियो र फोटो खिच्न अवरोध गर्न खोजेका रहेछन्।

हिजोआज मोबाइलबाट जसले पनि फोटो अनि भिडियो खिच्छ नै। सार्वजनिक स्थानमा भएको गतिविधि जसले पनि खिच्न पाउँछ। अब मूर्खसँग दैव त डराउँछ भन्छन्। भिडसँग के विवाद भनेर मैले 'म पत्रकार हो' भनेर कार्ड देखाए। त्यो बेला स्वर पनि ठुलै निस्कियो मेरो।

'जे भए नि नखिच' भन्दै भिड मैतिर पो आयो । क्रियापुत्रीलाई घेरा हालेकालाई मराणाशन्न  हुने गरी कुट्न चैँ हुने भिडियो खिच्न नहुने भन्दै खिचिरहे।

भिड वरवर आउँदै मोबाइल थुत भन्न थाले। मेरो फुपूको छोरा निरोज विष्ट नजिकै थिए। भिडले कुट्ने तयारी गरेपछि उहाँ 'मेरो बहिनिलाई छोइस् भने' भन्दै मेरो अगाडि आउनुभयो।।

भिड नथामिने देखेपछि अन्य पनि मिसिए मलाई छेक्न। छक्क परे, मैसँग पढेका एक क्लास मेट पनि मैतिर कुट् कुट् भन्दै आइरहेका थिए। उनी उही निवर्तमान वडा अध्यक्षका छोरा थिए।

धन्न सबैले छेकिदिए र कुटाइबाट जोगिइयो। नत्र मलाई पनि नालीमा पारेर कुट्ने रहेछन्। समूहले नै छेकेपछि उनीहरू मुर्मुरिदै बजारतिर गए।

निवर्तमान वडा अध्यक्षको घर मतदान गर्ने विद्यालयको गेट नजिकै। एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हान्न भनेर पहिल्यै छतमा इट्टाढु-ङ्गा लगेर राखेका रहेछन्। प्रहरीलाई थाहा रहेछ। ढिलै भए पनि आए धन्न। अनि भिड पन्छाए। ढुङ्गा-इट्टा हटाए.

सधैँ भइरहन्छ झडप

यो बुथमा सधैँ यस्तै हुन्छ। तर कहिल्यै न प्रशासन चनाखो देखिन्छ न सुरक्षाकर्मी नै। भनाभन त कति हो कति। मतदान स्थलमा भनाभन हुनु सामान्य नै हो भन्ने लाग्थ्यो। तर यो पाली त कुटाकुटै भयो।

गाउँघरमा को कताको मतदाता भन्ने छुट्टिइहाल्ने। स्याउतका धेरै मतदाता कांग्रेस निकट। अनि धेरैजसो बस्ने पनि काठमाडौँ। मत हाल्न भने पुगिरहन्छन्। अहिले गठबन्धन र एमाले भन्ने भावले दुस्मनी पनि बढाएको छ।

जब स्याउतका मतदाताहरू एकै पटक हुलमा आए अनि एमाले समर्थकहरूले भाँड्ने योजना बनाएर आक्रमण गरे। त्यसमा मिसियो एमाले वडा अध्यक्षमाथि मौन अवधिमा पैसा बाँडेको आरोप।

एक त गठबन्धनका कारण एमाले अलि कमजोर देखियो। दोस्रो पहिल्यै पोल खुल्दा उम्मेदवारले पैसा पनि बाँड्न पाएनन्। तेस्रो समूह बाँधेरै कांग्रेसका मतदाता आए भनेर झोक चल्यो उनीहरूलाई। क्रियापुत्री समेत बोकेर ल्याए मत हाल्न भन्ने पर्यो होला। उनीहरूले मलामी गएर आउँदा सबै एकै पटक आएझैँ भएको भन्ने पक्ष नै हेरेनन्। हेर्नै चाहेनन्।

अनि निहुँ खोज्ने बहाना बन्यो मतदान केन्द्रभित्र क्रियापुत्रीलाई एक जनाले लैजाने कि दुई जनाले भन्ने। त्यही निहुँमा आक्रमण भयो। मतदान केन्द्र बाहिरको सुरक्षामा प्रहरी अलि चनाखो भएको वा झडप लगत्तै आएको भए पक्कै २ जना मरणासन्न हुने गरी कुटिने थिएनन्। कुटिए कुट्ने समातिन्थे।

तर भएन। यो सब व्यवस्था हेर्ने त निर्वाचन अधिकृतले हो नि। अधिकृत थिए हरि बहादुर लोहनी। उनीसँग यसबारे जिज्ञासा राख्दा 'बाहिरको हल्ला भित्र आउन पाएन। हामीले मत पेटीका सुरक्षित राख्न सक्यौँ। यही ठुलो कुरा भयो' पो भने।

मत पेटिकाको सुरक्षा भयो राम्रो भयो। तर मतदाताको सुरक्षा भयो र!

निवर्तमान वडाध्यक्ष थापालाई पनि सोधे,'यत्रो झडप भयो। आफै हुलमुलमा मिसिएर कुट्न थाल्नुभयो नि।'।

उनले 'अब साम्य भयो यसलाई नगिजलौँ' भन्दै पन्छिए।

कुटाइ खानेप्रति कुनै सहानुभूति थिएन। पत्रकारमाथि आक्रमणको प्रयास हुनुप्रति कुनै संवेदनै देखिएन।

धन्न भोट हाल्न  पाइयो।

३१ बैशाख, २०७९, २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।