'रुष्ट स्थानीय र एमालेमा भएको फुट नै जितको आधार'

'रुष्ट स्थानीय र एमालेमा भएको फुट नै जितको आधार'

सूर्यविनायक नगरपालिका वडा नं १ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार हुन्, मिलन थापा। यसअघि एमालेका कार्यकर्ता भए पनि यस पटक उनको मुख्य प्रतिस्पर्धी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी हो।

गठबन्धनको आडमा उनी यस पटक आफ्नो जित सुनिश्चित भएको दावी गर्छन्। यता प्रतिस्पर्धी एमालेले पुरानै अनुहारलाई वडाध्यक्षको उम्मेदवार बनाएकाले पनि त्यो आफ्नो जितको आधार भएको उनी बताउँछन्।

उनै थापासँग जितको आधार, सक्षमता र जनता समक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न नसके के गर्ने? लगायतको विषयमा उकेराकर्मी मोनिका वाइबाले गरेको कुराकानी:

तपाईंको उम्मेदवारी किन?
सम्पूर्ण वडाबासीमा परिचित र घुलमिल भएको कारण मलाई काम गर्न सहज हुन्छ। उहाँहरूले भोग्दै आउनुभएको सबै प्रशासनिक झमेला हटाउँदै   डिजिटल प्रविधि र पारदर्शी काम गर्न, पिउने पानी, सडक र सरसफाइको दीर्घकालीन समाधान गर्न, वडाभित्र छरिएका सबै विद्यालयहरू समेटेर एउटै र गुणस्तरिय उच्च मा.वि बनाउन, स्वास्थ्य चौकीमा आकस्मिक सेवाको विस्तार गर्दै एम्बुलेन्सको व्यवस्था गर्न मेरो उम्मेदवारी हो। 

सम्पदा तर्फ, सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धन गर्दै मठ मन्दिर, गुठी, जात्रा, धिमे बाजा लगायतको निरन्तर विकास गर्न मैले उम्मेदवारी दिएको हो।

जित्ने आधार के-के हुन्?
सर्वप्रथम त म शिक्षित व्यक्ति हुँ। जनतासँगको अन्तरक्रिया, स्वच्छ छवि र हामीले अघि सारेका योजनाहरू नै हाम्रो जित्ने आधार हुन्। 

यसअघिका वडा अध्यक्षले आफ्नो कार्यकालको अन्तिम वर्षसम्म पनि मुख्य सडक भद्रगोल गरेर राख्नुभएको छ। अहिले कसैको धारामा खाने पानी आउँदैन। 

उहाँहरूको बजेट पनि पारदर्शी नभएका कारण सबै स्थानीय रुष्ट छन्। ती रुष्ट मत र एमालेमा भएको विग्रहको मत पनि हामीले हाम्रोपट्टि आउने विश्वास गरेका छौं। 

जितपछिको योजना?
जितपछि सुरुमै हामी वडा र वडाबासीको विकासको लागि एउटा सर्वपक्षीय समिति बनाउने छौं। मासिक रूपमा हामी सार्वजनिक सुनुवाइ गर्दै सबै पक्षको सल्लाहमा वडाको समस्या समाधान गर्न तयार रहने छौं। 

नगरपालिकाको सबै वडामा आफ्नो वडा भवन बनिसकेको छ। अब हामी अपाङ्गमैत्री र ऊर्जामैत्री हुने एउटा भवनको निर्माण गर्नेछौं। 

खानेपानीको फिल्टर ४०/५० लाख हालेर बनाइएको छ। २,४ वटा ट्यांकीहरू निर्माण गरिएको छ। तर ती कुनै पनि सञ्चालनमा छैन। 

अहिले पनि हिलोसहितको पानी आउने गर्छ। हामी खानेपानीको व्यवस्थापन गर्नेछौं।

मुख्य सडक नै बन्न सकेको छैन। पानी पर्दा हिलोले गाडी मात्र होइन, मान्छे पनि हिँड्न सक्दैनन्। त्यसको व्यवस्थापन गर्ने योजना बनिसकेको छ। त्यस्तै स्वास्थ्य चौकी हिजो गाविसस्तरमा जे थ्यो, अहिले पनि त्यही नै छ। 

गएको ५ वर्षमा यसको कुनै स्तरोन्नति भएको छैन। सरसफाइको लागि पनि त्यस्तो उचित व्यवस्थापन हुन सकेको छैन। एउटा मान्छे राखेको छ, उसले के गर्छ भने घरको गेटबाट फोहोर उठाउँछ र त्यो छर्दै छर्दै लान्छ। 

धुलो धुँवा त्यत्तिकै छ। ढल व्यवस्थापन हुन सकेको छैन। सबै ठाउँमा बन्यो हाम्रोमा बनेन। शिक्षाको क्षेत्रमा भन्नुहुन्छ भने, अहिलेसम्म कुनै पनि शिक्षालयलाई उच्च शिक्षालयमा परिणत गर्न सकिएको छैन। यसअघिको वडा अध्यक्षको असक्षमता ठ्याक्कै देखियो। अब आफ्नो सक्षमता देखाउने मौका छ।

कसरी हुन्छ त समाधान?
स्रोतको व्यवस्थापन गर्न नसकेको हो खासमा। यसको बजेट हुन्छ। यसलाई सही रूपमा परिचालन गरी व्यवस्थापन गर्छौं। 

पहिलो प्रयास हाम्रो खानेपानीको समाधान नै हुन्छ। अर्को, सडक हुनेछ। त्यसलाई तुरुन्तै मर्मत गरेर फोहोर व्यवस्थापनमा ध्यान दिनेछौं। 

यहाँको प्रशासनिक कामहरू पनि छन्, पूरा गर्नुपर्ने। स्थानीयले गुनासो गर्दै आएका छन्। त्यसलाई पन्छाउँदै पारदर्शी र छिटो छरितो ढंगले डिजिटलाइज गर्नेछौं। 

चुस्त सेवाको लागि पनि कार्यहरू डिजिटल प्रक्रियामा लानेछौं। खर्चमा  पनि पारदर्शिता देखाउने छौं। 

समाधानको लागि सक्षम छु जस्तो लाग्छ?
म एकदमै सक्षम छु जस्तो लाग्छ। पहिला पनि वडाको शिक्षा र स्वास्थ्य लगायतका सामाजिक कार्यमा सक्रिय व्यक्ति हुँ। पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै भएकाले केही हदसम्म समस्याको समाधान गर्ने योजनाबारे तयारी अवस्थामा छु। 

कार्यालयहरूको व्यवस्थापनमा पनि मेरो अनुभव छ। मैले स्नातकोत्तरसम्म पढेको छु। त्यसैले यी सानो-सानो कुराहरूको एकदमै छिटो र सरल तरिकाले समाधान गर्नसक्छु भन्नेमा स्थानीय जनताहरूलाई विश्वास दिलाउन चाहन्छु।

यसअघिको वडा अध्यक्षभन्दा तपाईं कसरी फरक?
व्यक्तिगत रूपमा भन्नुपर्दा त एक नम्बरमा म युवा जोश र जाँगर भएको उम्मेदवार हुँ। त्यसपछि मेरो शैक्षिक योग्यता हो। मेरो काम गर्ने शैली र समाजसेवामा भएको अनुभव, माध्यमिक तह्सम्मको विद्यार्थीहरूमाझ गरेको शैक्षिक स्वयम् सेवा। 

त्यसबाट शिक्षाको लागि आवश्यक र विद्यार्थीहरूको मागबारे प्रत्यक्षरूपमा घुलमिल हुन पाएँ। स्वास्थ्यमा पनि महामारीको बेला धेरै जनासँग गरेको प्रत्यक्ष सहकार्य। 

यसअघिका जनप्रतिनिधिले गर्न नसकेका कामहरू, उहाँको शैक्षिक स्तर र उहाँको ढल्कदो उमेरलाई हामी ट्याकल गर्न सक्छौं। हामीमा भएको स्वच्छ छविको कारण पनि हामी उहाँभन्दा फरक छौं भन्न मिल्छ। 

प्रतिबद्दता भएको कुरा भएन भने?
हामी सकेसम्म गुनासोहरू नआउने गरेर काम गर्नेछौं। यदि केही गुनासो आइहाल्यो भने पनि तत्काल समाधान गर्न प्रयत्न हुनेछौं। 

त्यसपछि हामी सार्वजनिक सुनुवाइ गर्नेछौं। नत्र व्यक्तिगत रूपमा पनि मलाई मेरो घरमा आएर गुनासो व्यक्त गर्न सक्नुहुनेछ। 

कुनै काम भनेबमोजिम नभए र ढिला भए मलाई गाली गर्न पनि सबैलाई छुट छ।

२५ बैशाख, २०७९, ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।