जिम्बावे 'ए' माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा

जिम्बावे 'ए' माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा
तस्बिर: क्यान

काठमाडौंः नेपालले जिम्बावे 'ए' विरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हात पारेको छ। जिम्बावेको टोलीलाई ९ विकेटले हराउँदै नेपालले शानदार जित हासिल गरेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको जिम्बावे ८७ रनमै समेटिएको थियो। ८७ रन बनाउन पनि जिम्बावेलाई ३१ ओभर १ बलसम्म कुर्नुपर्यो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११ ओभर २ बलमा केवल १ विकेटको क्षतिमा ८९ बनाएर खेल जितेको हो।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए। आसिफ शेखले ३४ र विनोद भण्डारीले ४ रन बनाए।

धमलाको विकेट जिम्बावेका ब्राण्डन माभुताले लिए।

उता जिम्बावेका लागि सर्वाधिक रन प्रहार गरे- जोनाथन क्याम्पबेलले। उनले २७ रन बनाए। ब्राड इभान्सले २०, सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए।

नेपालको जितमा सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे। यी दुईले ३/३ विकेट लिए। सन्दीप लामिछानेले २ विकेट लिँदा  सागर ढकालले १ विकेट लिए।

आजको खेलमा करण केसी म्यान अफ द म्याच भएका छन्। उनले नगद २० हजार पुरस्कार पाएका छन्।

आजको जितसँगै नेपालले श्रृङ्खलामा बराबरी गरेको छ। तीन खेलको श्रृङ्खला १-१ को अवस्थामा पुगेको छ। तेस्रो तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ।

यसअघि भएको तीन टी ट्वेन्टी खेल पनि १-१ को बराबरीमा सकिएको थियो भने एक खेल वर्षाले रद्द भएको थियो।

२४ बैशाख, २०७९, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।