'कीर्तिपुरको समस्या त्रिवि हो, समाधान गर्न म सक्षम छु’

'कीर्तिपुरको समस्या त्रिवि हो, समाधान गर्न म सक्षम छु’

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंका उपसभापति राजकुमार नकर्मीले दोस्रो पटक कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित नकर्मी यस पटक भने आफ्नो जित सुनिश्चित भएको दावी गर्छन्। 

'पार्टीले मलाई विश्वास गरेर टिकट दियो। पार्टीले अगाडि सारेका मुद्दा लिएर मतदातामाझ जान्छु। म नै मेयरका लागि योग्य उम्मेदवार हुँ। चुनाव जित्छु,' उनको दावी छ।

नगरपालिका र त्रिविबीच तितो सम्बन्ध 
कीर्तिपुर नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच तितो सम्बन्ध भएको नकर्मी बताउँछन्। त्रिविको कारणले कीर्तिपुरको नाम संसारभर फैलिए पनि यहाँका स्थानीयको समस्या झन् बढ्दै गएको उनको तर्क छ।

'त्रिविले कीर्तिपुरको करिब ६५ सय रोपनी जग्गा अधिग्रहण गरेको छ। अहिले पनि धेरै जग्गाको मुआब्जा कीर्तिपुरबासीले पाएका छैनन्,’ उनी भन्छन्, 'त्रिविले जग्गा अनावश्यक रुपमा अधिग्रहण गरेर व्यापारिक संस्थाहरुलाई दिइरहेको छ। त्यहाँका प्राध्यापक, सञ्चालक, कर्मचारी र विभिन्न निकायहरुलाई जग्गा भाग लगाएर, घर बनाएर डेरामा दिंदै कमाइ गरिराखेको छ। यो विषयलाई जोडतोडले उठाउँछु।’

नकर्मीले त्रिवि कीर्तिपुरबासीको किसानमारा संस्था भएको आरोप पनि लगाए। त्रिविले आफ्नै सम्पत्ति संरक्षण गर्न नसकेको बताउँदै उनले भने, 'अहिले गएर हेर्नुभयो भने पनि लथालिंग देख्न सकिन्छ। कीर्तिपुरसँग खोसेर लिएको जग्गा समेत संरक्षण गर्न सकेको छैन त्रिविले।’

सो समस्याका लागि आफ्नो नेतृत्वले पहल गर्ने उनले बताए। स्थानीयले पाउने सुविधाको बारेमा छलफल र सम्झौता भइसकेको भए पनि त्रिविले सम्झौता अनुरुप काम नगरेको नकर्मीको आरोप छ।

पढाइमा नगरपालिकाले कुनै हतक्षेप नगरे पनि त्यसको भवन निर्माणमा भने सिधा हस्तक्षेप गर्ने उनले चेतावनी दिए। सम्झौता अनुसार त्रिवि परिसरमा हुने हरेक निर्माण कार्यमा कीर्तिपुरबासीले रोजगारी पाउनुपर्ने र समयमै उनीहरुले मुआब्जा पाउनुपर्ने भए पनि त्यस्तो केही नभएको उनले बताए।

मेयर उम्मेदवार नकर्मीले त्रिविको काउन्सिल/परिषदमा नगरको कुनै पनि प्रतिनिधि नभएको कारण त्यहाँ नगरपालिकाको तर्फबाट एक जना सदस्य राख्नुपर्ने माग गरेको पनि उनले बताए।

कीर्तिपुरको चुनौती 
कीर्तिपुर नगरपालिकाका अनगिन्ती चुनौती भएको नकर्मी बताउँछन्। उनी भन्छन्, 'शिक्षा, स्वास्थ्य, सडक, सरसफाइ, यातायात, खानेपानी जस्ता समस्या कीर्तिपुरमा छन्। यहाँ त्रिविकै कारण ७७ जिल्लाकै मानिसको बसोबास छ। त्रिविकै कारणले हामीले सबैसँग राम्रो सम्बन्ध बनाउन पाएका छौं। तर त्रिविकै कारण कीर्तिपुरबासी खुसी छैनन्।'

त्रिविकै कारण चक्रपथ कीर्तिपुरसम्म आउन नसकेको उनको भनाइ छ। नकर्मी भन्छन्, 'त्रिवि यहाँ भएको कारण रिङरोड नै भित्र पुग्यो। त्रिवि यहाँ नभएको भए कीर्तिपुरको डाँडामै चक्रपथ हुन्थ्यो। चक्रपथ कीर्तिपुरमा भएको भएको यहाँको आर्थिक गतिविधि झन् राम्रो हुन्थ्यो।'

त्रिवि बीचमा भएकै कारण कीर्तिपुरमा कुनै कलकारखाना नआएको, वस्ती विकास हुन नसकेको, हजारौं रोपनी जग्गा खाली भएको नकर्मीको तर्क छ। 

यी सबै समस्या समाधानको लागि आफू सक्षम भएको उनले बताए। 'नगरपालिकाले त्रिविको आन्तरिक कुरामा हस्तक्षेप नगरी समस्या समाधानको उपाय खोज्नुपर्छ। त्यसका लागि म पहल गर्छु,' उनले भने।

गुठी र सम्पदाको संरक्षण
कीर्तिपुर पुरानो वस्ती हो। यहाँका सारा वस्ती स्थानीय कच्चा पदार्थबाट निर्मित थिए। भूकम्पले गर्दा क्षतिग्रस्त भएपछि भने सम्पदाहरु आधुनिक किसिमको बने।

गुठी कीर्तिपुर नगरपालिकाको अभिन्न अंग भएको नकर्मी बताउँछन्। 'गुठी यहाँको जग्गा सँगसँगै सामाजिक र व्यक्तिगत परम्परा पनि भइसकेको छ। जन्मदेखि मृत्युसम्ममा यसको ठूलो भूमिका हुने गरेको छ। त्यसको संरक्षण सबैको जिम्मेवारी नै हो,' उनी भन्छन्, 'यसको लागि नगरपालिकाले छुट्टै रणनीति बनाउनुपर्छ जस्तो भने मलाई लाग्दैन। किनकी, गुठी नेवार समुदायको जीवनशैली हो। उनीहरुको जीवनशैलीमा कसैले आएर केही गर्न सक्दैन।' 

संस्कृति सम्पदाको संरक्षणका लागि नगरपालिकाले छुट्टै योजना बनाएर अघि बढ्ने उनले बताए। उनका अनुसार त्यसको लागि घोषणापत्र अनुसारकै मुद्दामा अघि बढ्ने र सांस्कृतिक कार्यक्रमका लागि छुट्टै कोषहरु बनाएर त्यसको मौलिकतालाई जोड दिइने नकर्मी बताउँछन्।

उनी भन्छन्, 'यहाँ पर्यटनका पूर्वाधारहरु छैनन्। पर्यटन सूचना केन्द्र, पर्यटकलाई चाहिने रेस्टुरेन्ट, गाइडहरुको कमी छ। त्यसको लागि छुट्टै योजना बनाएर काम गर्छौं।'

२३ बैशाख, २०७९, ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।