चुनावी तालमेल : विचार र दर्शनको अवसान

चुनावी तालमेल : विचार र दर्शनको अवसान

संविधान अनुसार नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ। दलीय व्यवस्थामा अधारित शासन प्रणाली बालिग मताधिकारको आधारमा एक व्यक्ति एक मतको सिद्धान्त अनुसार गोप्य मतदानद्वारा प्रतिनिधि चुनिने व्यवस्था संविधानले परिकल्पना गरेको छ।

राजनीतिक दलहरु प्रजातान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिन्छन्। दलीय व्यवस्थामा हरेक दलहरूको आफ्नो नीति, सिद्धान्त, विचार कार्यक्रम र कार्यदिशा हुन्छन्। दलहरुको पहिचान भनेकै उसको सिद्धान्त र विचार हो। हरेक दलले जनतारलाई आफ्ना विचार र सिद्धान्तको आधारमा आफूतिर आकर्षित गर्न विचार आम जनतासामु लिएर आफ्नो दलको भावी कार्यक्रम सहित चुनावी एजेन्डा सार्वजनिक गर्छन्। त्यसकै आधारमा आम जनताको मन जित्छन्। जनताको जनमत लिएर सरकार चलाउछन्।

चुनावी कार्यक्रम सार्वजनिक गरिएको प्रतिबद्धता अनुसार कार्यान्वन गरेन र जनताको जनादेश विपरीत गतिविधि गरेमा अर्को आउने आवधिक चुनावमा त्यस्तो दललाई पराजित गराउँछन्।

बहुदलीय व्यवस्थामा हरेक दलको आआफ्नो झन्डा र चुनावमा प्रतिस्पर्धा गर्नको लागि चुनाव चिह्न रहेको हुन्छ। दललाई चिन्नको लागि झन्डा रहन्छ। झन्डासँगै विचारले निर्देशित हुन्छन्।

विचार, सिद्धान्त बिनाको दल हुन सक्दैन। विचार, सिद्धान्त छैन भने त्यो एउटा भीड मात्र हो। देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको संवाहक भनेको राजनीतिक दलहरु हुन्। समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूको समष्टि नाम नै राजनीतिक दल हो।

बहुदलीय व्यवस्थामा देशको प्रचलित कानुनको अधिनमा रही राजनीतिक दलको गठन गरी दलको विचारधारा, दर्शन र कार्यक्रमहरु जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नको लागि त्यसको प्रचारप्रसार गरी जनतालाई आफ्नो विचार, सिद्धान्तमा बढीभन्दा बढी व्याक्तिलाई पार्टीमा आबद्ध गराउन सक्नु नै पार्टीको सफलता मानिन्छ।

हरेक  दलको आफ्नै राजनीतिक दर्शन हुन्छ। जस्तै: आर्थिक प्रणाली कस्तो बनाउने? शिक्षा क्षेत्रमा राज्यको भूमिका कस्तो रहने? निजी वा सरकारी कसरी व्यवस्थापन गर्ने? स्वास्थ्य प्रणाली राज्यको नियन्त्रणमा रहने वा निजी क्षेत्रको भूमिकालाई नियन्त्रणभित्र राख्ने वा उदार  खुला बजारीकरणमा संचालित गर्ने? वैदेशिक सम्बन्ध, रोजगारी सिर्जना गर्ने। औद्योगिक नीति इत्यादि राज्य प्रणालीका महत्वपूर्ण कुराहरु  दलको राजनीतिक दर्शनले निर्देशित गर्छ। यस्तै कार्यक्रमहरु बेचेर दलहरुले आफूलाई लोकप्रिय बनाउनुपर्छ।

देशको विकास र समृद्धिका वाहक नै दलहरू हुन्। कुनै पनि दलहरुको उद्देश्य चुनाव जित्नु मात्र होइन। देशको परिवर्तनको खातिर भएको क्रान्ति आन्दोलनहरुको मर्मलाई बोक्न सक्नुपर्छ।

परिवर्तित व्यवस्था अनुसारको शासन प्रणालीलाई सुदृढीकरण गरी जन अकांक्षा र जनभावनालाई राज्य प्रणालीसँग जोडी देशमा जनताको आश र भरोसा भएको राष्ट्रहित र जनमैत्री शासन व्यवस्था प्रत्याभूत गर्नसक्ने शासन प्रणाली स्थापित गर्न पनि राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहन्छ।

नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास गरिरहेको छ। नेपालको संविधान २०७२ अनुसार स्थानीय चुनावको दोस्रो कार्यकालको लागि २०७९ वैशाख ३० गते चुनाव हुन गइरहेको छ। राजनीतिक दलहरु पार्टी प्रवेश, चुनावी जनसभा, राजनीतिक भेटघाट लगायतका जनपरिचालनका कार्यक्रम सञ्चालन तीव्र रुपमा गरिरहेका छन्।

पार्टीको विचार सिद्धान्त र आगामी कार्यक्रमहरु लिएर घरदैलो गरी जनमत आफ्नो पक्षमा देखाउन कसरत गर्नु दलीय व्यवस्थाको सुन्दर पक्ष हो। यसो हुँदै गर्दा नेपाली राजनीतिमा ऐंजेरु प्रवृत्ति पनि मुखरित भएको देखियो।

ऐंजेरु एउटा बनस्पति हो जो अर्को रुखमा उम्रने गर्छ। त्यसको आफ्नो अस्तित्व जोगाउन अर्को रुखको सहारा लिनुपर्छ। त्यस्तै नेपाली राजनीतिमा पनि दलीय ऐंजेरुको संस्कार मौलायो। आफू-आफू ठडिन नसक्ने, अर्काको आड भरोसामा आफ्नो अस्तित्व बचाउने राजनीतिमा यो संस्कृति गलत हो। आफ्नो आकारभन्दा छाया ठूलो देखिनु नक्कली कुरा हो। सुन्निनु ठिक हुँदैन। हरेकको आफ्नै आकार हुनुपर्छ।

तालमेल गरेर चुनाव जित्ने, जितेसँगै अस्थिरताको खेल सुरु गर्ने। नेपालको शासन व्यवस्था विगत १०/१५ वर्षसम्म मेरै वरिपरि घुनेको छ, सत्ताको मिँयो मै हुँ भन्दै नाक फुलाउने प्रवृत्ति हावी भइरहेको छ।

देश स्थानीय चुनावमा जाँदै गर्दा चुनावी गठबन्धनको चर्चा/परिचर्चाले छापाहरुमा खुबै स्थान पायो। सत्तारूढ गठबन्धनभित्र कांग्रेस, नेकपा यस, नेकपा माओवादी केन्द्र लगायत दलहरु छन्। गठबन्धनको गाँठो चुनावमा पनि तालमेलको रुपमा कस्नुपर्ने नत्र एमालेसँग तालमेलको गाँठो कस्ने भन्दै एउटालाई देखाई अर्कोलाई तर्साउने प्रवृत्ति पनि देखियो।

दलहरूले आफूलाई जनमुखी पार्टी देखाउन आफ्नै मौलिक विचार र दर्शनलाई आम मतदाता समक्ष खुला रुपमा लिएर चुनावी एजेन्डा बनाउने हो तर दृश्य भिन्न देखियो। जोगीलाई भैंसीको डर, भैंसीलाई जोगीको डरको परिदृश्य देखा पर्यो।  

कांग्रेस सभापति शेरबहादुर देउवा २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर कांग्रेसको लज्जास्पद हारको दृश्य सम्झेर फेरि यिनीहरु मिलेर त्यस्तै नियति भोग्नुपर्छ कि भनेर त्रसित छन् भने अर्कोतिर एमालेबाट अलग्गिएर बनेको नेकपा यस समाजवादी र नेकपा माओवादी केन्द्रलाई कांग्रेसको साथ तालमेल बनाएर चुनावमा जाने हो भने धुलो चाटिन्छ कि भन्ने डर।

यदि त्यस्तो स्थिति खडा भयो भने आसन्न प्रदेश र स्थानीय तहको चुनावमा कार्यकर्ताहरु एमालेतिर आकर्षित भई आफ्नो अस्थित्व नै संकटमा पर्छ कि भन्ने डर र त्रासको कारण जसरी पनि गठबन्धनको गाँठो भित्र चुनावी तालमेल नगरी नछाड्ने प्रचण्डहरुको हठको कारण शेरबहादुर देउवा पार्टीभित्रको फरक धारको विरोध हुँदा पनि चुनावी तालमेल गर्न बाध्य 
छन्।

तालमेल गरेर चुनाव जित्ने, जितेसँगै अस्थिरताको खेल सुरु गर्ने। नेपालको शासन व्यवस्था विगत १०/१५ वर्षसम्म मेरै वरिपरि घुनेको छ, सत्ताको मिँयो मै हुँ भन्दै नाक फुलाउने प्रवृत्ति हावी भइरहेको छ।

यो शासन व्यवस्था ल्याउनको लागि जनताको  रगत,पसिना त्याग, बलिदान र संघर्षको अथाह लगानी छ। परिवर्तन भनेको के चुनाव जित्ने, सत्तामा जाने, राज्य स्रोतमा ढलीमली गर्ने मात्र हो? ठूलो भाग पाउन सरकार फेरबदल गर्ने, एकले अर्कोलाई खुट्टा तान्ने मात्र हो?

गठबन्धनको नाममा आफूलाई मन नपरेको पार्टीलाई जबर्जस्ती मतदान गर्न लगाउनु स्वयं पार्टीको विचार र दर्शनको अवसान हो। गठबन्धनको नाममा विचारलाई बन्धक बनाउन पाइँदैन।

देश दोहन गर्न किन चुनावी तालमेल? देश निर्माण गर्ने कार्यक्रम खै? हातमुख जोर्न खाडीमा हेलिएका युवाहरूको लागि कार्यक्रम खै? चुनाव नै जित्नको लागि हो भने र सत्ताको तर मिलिभगत गरी खाने हो भने किन अलग-अलग दल? मौलिक विचार, सिद्धान्त, दर्शन केही छैन भने एउटै दलमा आउने, चुनाव जित्ने, सत्तामा जाने, मिलेर खाने गरे भैगो नि।

मेरो पार्टीको देश विकासको दृष्टिकोण यो हो, त्यस कारण मलाई भोट दिनुहोस् भन्नुको साटो कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीले चुनावी तालमेल गरेका छन् भन्दै एकले अर्कोलाई भोट हाल्नुपर्ने अवस्था किन?

२०७४ सालको प्रदेश र संघीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलबाट झन्डै दुई तिहाइ बहुमत आयो। त्यसकै बलमा दुई अध्यक्षको सत्ताको भागबन्डा र पदीय व्यवस्थापनको स्वार्थमा दुवै पार्टीबीच एकता भयो। परिणामस्वरूप नेकपा नामको दल बन्यो।

कहिल्यै पनि गलत कर्मको परिणाम सही आउँदैन। यो एकता कुनै राजनीतिक, सैद्धान्तिक र वैचारिक कार्यदिशाको आधारमा भएको थिएन। सत्ता स्वार्थ चुनाव जित्ने उद्देश्यले तालमेल र एकता भएको थियो। यस एकताको जग नै बालुवा माथि थियो। स्वार्थ बाझियो, सामान्य कारणले गर्ल्यामगुर्लुम भयो।

गठबन्धनको लागि वा तालमेल गर्नको लागि साझा राजनीतिक एजेन्डा हुनुपर्छ। साझा कार्यक्रम लिएर चुनावी मैदानमा जनतासँग प्रतिबद्धता जाहेर गर्दै मत माग्नु पर्छ। विचारै नमिल्ने दललाई भोट हाल्न लगाएर फर्जी प्रतिनिधित्वको विकास किन गर्न खोज्दैछ्न दलहरू ? 

गठबन्धनको नाममा आफूलाई मन नपरेको पार्टीलाई जबर्जस्ती मतदान गर्न लगाउनु स्वयं पार्टीको विचार र दर्शनको अवसान हो। गठबन्धनको नाममा विचारलाई बन्धक बनाउन पाइँदैन।

२१ चैत, २०७८, ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।