रूपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक

रूपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक

काठमाडौँ : कवि तथा लेखक रूपक अलङ्कारको महाकाव्य 'विश्रान्त' सार्वजनिक भएको छ। शनिवार एक कार्यक्रमका बिच  नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले कृति सार्वजनिक गरेका हुन्।

फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्।

सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र नगरी काव्यिक तरिकाले झापड हानेको बताए।

समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको सङ्घर्षलाई वृहत् रूपमा प्रस्तुत गरेको बताए।

पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीको तर्क थियो।

समालोचक पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए।

नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पारे। 'समग्रमा भन्दा यस कृति साधुले सुनाएको वृत्तान्त नै महाकाव्यको मुख्य विन्दु हो', पौड्यालले भने।

पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए।

लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्त्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नुपर्ने धारणा व्यक्त गरे।

महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य ३ सय ७५ राखिएको छ।

२१ फागुन, २०७८, २२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।