२०५८ सालबाट मैले अक्षरसँगको व्यापारिक नाता गाँसेको हुँ। त्यतिबेला म राष्ट्रिय दैनिक पत्रिकाहरु बेच्ने गर्थें। जनआन्दोलनले पत्रिकाको माहोललाई झन उचाइमा लग्यो। लगत्तै २०६४ सालमा नारायण वाग्लेको पुस्तक 'पल्पसा क्याफे' बजारमा आयो।
म अक्षरको व्यापार गरिरहेको मान्छे। बजारले पल्पसा क्याफे निकै खोजेको देखें। त्यतिबेला नेपाली सहित्यका पुस्तक खासै चर्चामा थिएनन्। तर पल्पसा क्याफेले माहोल फेरिरहेको थियो। सोही सालबाट मैले भूगोलपार्कको पेटीबाट पुस्तकको व्यापार सुरु गरें।
अहिले पनि म यहीं छु। यही अक्षरको व्यपारले मेरो साहित्य पढ्ने भोक मेटाएको छ भने परिवारको सुखदु:खमा साथ दिन पनि सघाएको छ।

पुस्तक व्यापारीको नाताले भन्ने हो भने राम्रा र धेरै बिक्ने किताब नै मेरा मनपर्ने किताब हुन्। तर धेरै बिक्दैमा पुस्तक राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन। मेरो पहिचान पनि राम्रा किताब सजेस्ट गर्ने पसलेको रुपमा छ।
नेपाली साहित्यमा समय-समयमा पुस्तकको चर्चा र पाठकको आकर्षण बढ्छ। तर यो दीर्घकालको लागि भने हुन सकेको छैन।
मलाई लाग्छ, साहित्य ठूलो मासको लागि ग्राह्य हुनुपर्छ। नेपालको सन्दर्भमा भन्ने हो भने अमर न्यौपाने, बुद्धिसागर, सुविन भटराई लगायतका लेखकका किताब बजारमा बढी बिक्री भएका छन्।
मलाई चाहिँ बुद्धिसागरको उपन्यास 'कर्णाली ब्लुज' बढी मनपर्छ। यसो भनिरहँदा अरु कुनै पनि पुस्तक मन पर्दैन भन्ने होइन।
साहित्यले सस्तो मनोरञ्जन मात्र दिँदैन। त्यस्ता साहित्य पछिल्ला पुस्ताको रोजाइमा पनि छैन। पछिल्लो पुस्ता गैरसाहित्यमा झुकाब राखिररहेको छ। कोरोना यता त धेरै नै गैरसाहित्यका पुस्तक बेचिरहेको छु।
स्वदेशीभन्दा विदेशी गैरसाहित्यका पुस्तक हाम्रा पाठकको रोजाइमा छन्। हामी साहित्य नै पनि प्रशस्त समय लगायर लेख्न सक्ने अवस्थामा छैनौं। यसो भनिरहँदा अमर न्यौपाने, बुद्धिसागर, नयनराज पाण्डे लागायतका लेखकहरु पनि हुनुहुन्छ। उहाँहरुले रिर्सच गरेर लेख्नुहुन्छ।
हाम्रा पाठकको पठन स्तर धेरै बदलिएको छ। पछिल्लो समय व्यापारिक हिसाबले पनि र सरल, सरस साहित्यका रुपमा मैले धेरै बेच्नेमध्येको एक किताब 'कर्णली ब्लुज' नै हो।

त्यस उपन्यासमा जसरी सरल रुपमा सबैले बुझ्न सक्नेगरी कथा भनिएको छ। त्यहाँ भएका पात्रहरु हामीले देखे-भोगेका झैं लाग्छन्। हाम्रा पाठकले त्यस्ता साहित्य खोजिरहेछन् भन्ने मेरो अनुभव छ।
पढ्दा सरल तर गहिरो अर्थ बोक्ने शब्दशिल्पी, जिवन्त कथ्य साहित्य बजारले खोज्छ नै। यस्तै साहित्य हो बुद्धिसागरको पुस्तक।
पाठकलाई पठ्न सहज बनाउने र बाँधेर राख्ने पुस्तकले समग्र साहित्यलाई फाइदा हुन्छ। प्रकाशन गृहलाई, हामी व्यापारीलाई र लेखकलाई फाइदा हुन्छ। अनि पाठकको मनममष्तिस्कमा त्यस्ता पुस्तकले धेरै मूल्याङ्कन गर्ने, सोच-विचार गर्ने अवस्थाको विकास गराउँछ। ज्ञान बढाउँछ।
पाठकको समय सस्तो छैन। उनीहरु पुस्तकलाई दिएको समय वापत ज्ञानको अपेक्षा गर्छन्। केही सिक्न, बुझ्न खोज्छन्।
कोरोनापछि पठन संस्कार बढेको छ। तर स्वदेशी किताबका पाठक न्यून हुँदै गएका छन्। यो दुखद कुरा हो। हामीलाई आफ्नो साहित्य या आफ्नै देशमा लेखिएका गैरसाहित्यिक किताब बेच्न मन हुन्छ। तर यसमा मैले दुई समस्या प्रमुख रुपमा देखेको छु।
पहिलो, कर्णाली व्लुज जस्ता सरल रुपमा व्यक्त भएका गहन साहित्यका पुस्तक कम लेखिनु। अर्को, प्रकाशन गृहहरुले पुस्तकको मूल्य बढी राख्नु।
केही प्रकाशन गृह छन्, तिनका पुस्तक सधैं स्तरीय नै हुन्छन्। धेरैजसो प्रकाशन गृह कम गुणस्तरका पुस्तक निकाल्छन्। अनि तिनै धेरै महँगा पनि हुन्छन्।

सस्तोमा बेच्न सक्ने हो भने पुस्तकको बिक्री बढ्छ। बिक्री बढेपछि सबैलाई फाइदा हुन्छ। तर हामी त महँगोमा बेच्न प्रतिस्पर्धा गरिरहेका छौं।
अन्तत, यति बोलिरहँदा मेरो एकै उद्देश्य के हो भने, कणार्ली ब्लुज, पल्पसा क्याफे, सेतो धरती जस्ता पुस्तक धेरै आउन्।
बुद्धिसागरका जस्ता किताब धेरैभन्दा धेरै पाठकलाई किफायती मूल्यमा पढाउने मन छ। र, हाम्रो साहित्यसँग जोडिएका सबैको स्तर राम्रो भएको हेर्न मन छ यो राजेशलाई।