प्रधानमन्त्री देउवाद्बारा 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' लोकार्पण

प्रधानमन्त्री देउवाद्बारा 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' लोकार्पण

काठमाडौंः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)' पुस्तक लोकार्पण गरेका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तकको आज लोकार्पण भएको हो।

पुस्तक लोकार्पण गर्दै देउवाले कम्युनिष्टहरूले कांग्रेसबारे भ्रम फैलाएको र त्यसलाई चिर्न सो पुस्तक घरघरमा पुर्याउनुपर्ने बताए। उनले देशमा भएका सबै परिवर्तन कांग्रेसकै कारण भएको भन्दै त्यसबारे पार्टीको प्रचार नपुगेको स्वीकारे।

यस्तै उनले एमसीसीका सन्दर्भमा पनि पारित हुनुपर्ने र आफूहरू पारित गर्न लागिपरेको बताएका छन्।

पुस्तकका लेखक तथा कांग्रेस नेता केसीले १४औं महाधिवेशनअघि नै प्रकाशन गर्ने योजना भए पनि नसकिएको बताए। उनका अनुसार पुस्तकमा कांग्रेसको योगदान र उपलब्धि समावेश छ। यसमा कांग्रेसको समालोचना गरिएको छैन। उनले समालोचना गर्ने जिम्मा लेखक तथा समालोचकलाई नै दिएको बताए।

कांग्रेसका महामन्त्री गगन थापा पनि सो कार्यक्रममा उपस्थित थिए। उनले केसीको पुस्तक नयाँ पुस्ताका लागि अत्यन्तै लाभदायी हुने बताए। उनका अनुसार पुस्तकमा कांग्रेस आन्दोलनमा लागेका कतिपय नामै नसुनिएका व्यक्तिको चर्चा छ।

लोकार्पण कार्यक्रममा अक्सफोर्ड इन्टरनेशनल पल्ब्लिकेसनका प्रकाशक डोलिन्द्रप्रसाद शर्माले यति भव्य पुस्तक यसअघि प्रकाशित नभएको बताए।

यस्तै लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले आफूले अपेक्षा गरेको भन्दा उच्च कोटीको पुस्तक पाएको बताए। उनले शीर्षक भने मन नपरेको बताए।

५ फागुन, २०७८, ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।