गोल्डेन माइक विनर राजकुमारले आइडलमा चिट चोरे, जज सुगमलाई मन परेन

गोल्डेन माइक विनर राजकुमारले आइडलमा चिट चोरे, जज सुगमलाई मन परेन

राजकुमार परियार जसले गोल्डेन माइक पाएका थिए उनको पछिल्लो  एपिसोडका प्रस्तुति कमजोर देखिँदै आएको छ। बिहीबारको टप ११ को गायनमा पनि उनी जम्न सकेनन्।

गेस्ट आनन्द कार्कीको स्वरमा सजिएको ' यी हल्लाहरू हुन्' गाएका उनमा निकै हल्का मन देखियो। गायनमा गम्भीरता देखिएन नै। लयमा समेत उति ध्यान दिएको झैँ सुनिएन राजकुमारले। बेलाबखत शब्द हेर्दै गाइरहेका थिए उनले। यसले उनले तयारीमा त्यति ध्यान नदिएझैँ देखियो।

गीतको शब्द हेर्दै गाउनु गायक सुगम पोखरेलको शब्दमा चिट चोर्नु हो रे। चिट चोर्नु पक्कै राम्रो काम त हैन नै। यो मानेमा राजकुमारले नेपाल आइडलको मञ्चमा चिट चोरे। बटम थ्रीमा परेर झन्डै बाहिरिएका सुरेश लामाले आनन्द कार्की 'जनम जनम जिउँला सँगै' बेजोड गाए। जज र कार्कीबाट राम्रो प्रशंसा पाए।

उनी बटममा परेको शम्भुजित बास्कोटालाई मन परेको रहेनछ। उनले छानिएकामध्ये जो कोही पनि नेपाल आइडल हुनसक्ने भए पनि प्रतिभाको कदर गर्दै राम्रालाई भोट दिन दर्शकलाई आग्रह गरे। सुगमले भने' हाम्रोलाई हैन राम्रोलाई भोट गर्नुस्।'

सङ्गीत बाहिरिएकोमा चित्त दुखाए
बुटवलका सङ्गीत अडिसन राउन्डदेखि नै राम्रो गायन कला देखाउँदै टप १२ सम्म आइपुगे। तर भोटले साथ नदिँदा उनको आइडल यात्रा अलि छोटो भयो।

बिहीबार प्रसारण भएको कार्यक्रममा प्रस्तुति हेर्दा पनि उनीमाथि अन्याय भएकै देखियो। उनी अझै अगाडि बढ्नसक्ने प्रतियोगी थिए। तर भोटले साथ दिएन। सुगमले आग्रह त गरे हाम्रालाई हैन राम्रालाई भोट दिउँ भनेर। तर हाम्रामा बानी परेकाको सङ्ख्या बाक्लै छ नेपालमा।

प्रतिभा भएर पनि भोटले साथ नदिएर कार्यक्रमबाट बाहिरिएकालाई दोस्रो मौका दिने सिस्टम पनि हुन्छ आइडलमा वाइल्ड कार्ड। आइडल युट्युब च्यानलका प्रतिक्रिया हेर्ने हो भने पनि धेरैले सङ्गीत बाहिरिएकोमा मन कुँडाएको देखिन्छ। जजहरूको चित्त नबुझेको त कमेन्टमै देखियो। हेरौँ कतै वाइल्ड कार्ड लागिहाल्छ कि।

६ माघ, २०७८, ०१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।