डा. रवीन्द्रभक्त जसले फर्काए एक सय ४० जनाको सुन्ने शक्ति

डा. रवीन्द्रभक्त जसले फर्काए एक सय ४० जनाको सुन्ने शक्ति

नाक, कान, घाँटी विशेषज्ञ डा. रवीन्द्रभक्त प्रधानाङ्गले सयौँ कान सुन्न नसक्नेको श्रवणशक्ति फर्काएका छन्। उनले हालसम्म एक सय ४० भन्दा बढी व्यक्तिको कक्लियर इम्प्लान्ट गरेका छन्। 

कक्लियर इम्प्लान्ट श्रवणशक्ति फर्काउने कृत्रिम कक्लिया(कान) हो। निश्चय नै कक्लियर इम्प्लान्ट गर्ने डाक्टरले आफ्नो पहिलो केस भुल्ने कुरै भएन। 

यस्तो भएको थियो
सन् २०१४ मा ‘इम्प्लान्टेशन अटोलोजी’ अध्ययन गर्न भारत पुगेका रवीन्द्रभक्त एक वर्षे फेलोशिपपछि नेपाल फर्किए। 

सन् २०१५ मा रवीन्द्र त्रिवि शिक्षण अस्पतालमा थिए। ३ वर्षका बालक विवेक जोशी बुवाको साथ लागेर उपचार गर्न आइपुगे। उनको श्रवणशक्ति थिएन।  

ठूलो आर्थिक हैसियत नभएकाले विवेकका बुवाले चाहेर पनि कक्लियर इम्प्लान्ट गराउन सकेका थिएनन्। तर 'भारतमा निशुल्क इम्प्लान्ट हुन्छ रे' भन्ने थाहा पाएपछि उनको बुवाले भारत पनि पुर्याएका रहेछन्। 

त्यहाँ पनि विवेको उपचार सम्भव भएन। भारतमा भारतीयलाई मात्रै निशुल्क रहेछ। छोरालाई कान सुन्ने बनाउने एउटा बुवाको सपना 'फेल' भयो। 

बुवा छोरा फर्किएर नेपाल आए। शिक्षण अस्पताल पुगे। त्यो बेला रवीन्द्रले भर्खर भर्खर  कक्लियर इम्प्लान्टको ज्ञान र सीप सिकेका थिए। उनको दक्षताले विवेकको श्रवणशक्ति त फर्काउन सक्थ्यो तर त्यस बेला नेपालमा इम्प्लान्ट राख्नका लागि अनुदानको व्यवस्था भइसकेको थिएन। 

भाग्यवश विवेकको ५० प्रतिशत उपचार खर्च एक संस्थाले सहयोग गर्ने भयो। विवेकका बुवाले अरू पैसा जोहो गरे। उपचार गरिने भयो।

रवीन्द्रका सिनियर डाक्टरले इम्प्लान्ट राख्ने कमाण्ड रवीन्द्रलाई नै दिए। 'तिमी पढेर आएका छौ, तिमीले नै सर्जरी गर्नुपर्छ' भने। रवीन्द्र पनि तयार भए। 

विवेकलाई अपरेसन थिएटर लगियो। सबैको ध्यान थिएटरमै थियो। दुई घण्टा बित्यो। रवीन्द्र बाहिर आए। उनको मुहारको चमकले नै बतायो- शल्यक्रिया सफल भयो।  
 
सबै छक्क परे। रवीन्द्रले अग्निपरीक्षामा आफूलाई सफल साबित गरे। विवेकले कान सुने। 

यति बेला विवेक तीन वर्षका थिए। विवेकका बुवालाई रवीन्द्रको पहिलो शल्यक्रिया हो भनेको सुन्दा डर पनि लागेको थियो। तर, शल्यक्रिया सफल भएपछि रवीन्द्रप्रति कृतज्ञ भए उनी। 

विवेक अहिले १० वर्षका भए। उनी राम्रोसँग कान सुन्न र बोल्न सक्ने भएको  रवीन्द्रले सुनाए। उनी अहिले पनि फलोअपमा आउँछन्। कक्लियर इम्प्लान्ट सम्बन्धी कार्यक्रमहरूमा पनि सहभागी हुन्छन्। 

पहिलो सफल केस त्यसमाथि पनि अहिलेसम्म आफ्नो सम्पर्कमा नै बसेको हुँदा विवेकलाई देखेर रवीन्द्र आफ्नो सफलता देखेर दंग पर्छन्। 

अर्को केस पनि छ रवीन्द्रलाई दंग बनाउने। 

केही वर्षअघि खाडी मुलुकबाट एक जना कान नसुन्ने भएर नेपाल फर्किए। उनको उपचार गर्ने जिम्मा पनि रवीन्द्रकै काँधमा आइपुग्यो।  

इम्प्लान्टपछि उनी कान सुन्ने भएका थिए। पछि रवीन्द्रलाई उनले ' म त कान सुन्ने भएँ नि' भन्दै फोन गरे। यो सुनेर रवीन्द्र खुशीले गद्गद् भए।

विशेषगरी बच्चाको श्रवणशक्ति फर्काउन पाउँदा अभिभावकहरू निकै कृतज्ञ हुने र आफूलाई पनि सन्तुष्टि मिल्ने उनले बताए।

स्वास्थ्यमन्त्री गगनको सहयोग
डा. रवीन्द्र भारतमा कक्लियर इम्प्लान्ट अध्ययन गरेको समयमा नै त्यहाँ इम्प्लान्ट निशुल्क गरिएको रहेछ। 

त्यसपछि त भारतमा कक्लियर इम्प्लान्ट गर्नेको संख्या ह्वात्तै बढेछ। रवीन्द्रले पनि त्यहाँ धेरैको इम्प्लान्ट गरिदिएका रहेछन्। 

त्यसैले रवीन्द्रभक्त र केही चिकित्सकहरूले नेपालमा पनि यो प्रविधि निशुल्क हुनुपर्छ भनेर पहल गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशुल्क गराउन प्रस्ताव पनि लगे। सुरुसुरुमा त धेरैले बुझेनन्। 

रवीन्द्रले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापासँग यो विषयमा छलफल गरे। अनि रवीन्द्रको टीमको प्रस्तावलाई मन्त्री थापाले स्वीकृति दिए।

मन्त्रालयले २०७४को बजेटमा यसका लागि व्यवस्थापन गरिदियो। त्यसपछि अडियोलोजिष्ट सुरेश्वरलाल कर्ण, स्पीच थेरापिष्ट कविराज खनाल र रवीन्द्रको पहलमा २०७४ मा कक्लियर इम्प्लान्ट कार्यक्रम बन्यो। उनीहरू तीनै जना शिक्षण अस्पतालमा कार्यरत थिए।  

त्यसपछि त शिक्षण अस्पतालमा कक्लियर इम्प्लान्ट जडानका लागि प्रतिव्यक्ति पाँच लाख अनुदान आउन थाल्यो। अहिले सो अनुदान रकम बढेर साढे ६ लाख पुगेको रवीन्द्रले सुनाए। 

यो इम्प्लान्ट गर्न कम्तीमा १२ लाख खर्च हुन्छ। बाँकी रकम बिरामीले नै जोहो गर्नुपर्छ। त्यसैले अनुदान बजेट बढ्नुपर्ने उनी बताउँछन्। 

निकै संघर्ष गरेर ल्याइएको कार्यक्रमबाट हाल शिक्षण अस्पतालमा मात्र एक वर्षमा करिब ४० जना लाभान्वित हुने गरेका छन्। 

तर, अहिले पनि इम्प्लान्ट महँगो र तीन वटा कम्पनीले मात्र उत्पादन गर्ने भएकाले सबैको पहुँचमा पुग्न नसकेको उनले सुनाए।

यद्यपि अहिले कानको उपचारका लागि विदेश धाउन नपर्ने रवीन्द्र बताउँछन्।

के हो त कक्लिया?
मान्छेको दुई वटा कान हुन्छन्। कानभित्र जाली छ भन्ने धेरैले सुनेको हुन्छौं। तर, जालीले नै आवाज सुनिन्छ भन्नु भ्रम मात्र भएको रवीन्द्र बताउँछन्। 

डा. रवीन्द्रका अनुसार कानभित्र कक्लिया हुन्छ। यसैले सुन्ने काम गर्छ। सुनाइसँग सम्बन्धित प्रमुख अङ्ग नै कानभित्र हुने कक्लिया हो। कक्लिया बिग्रियो भने व्यक्तिको  श्रवणशक्ति गुम्छ। कान सुन्न सकिँदैन। 

जसरी हृदयघात भएर मुटुले एक्कासि काम गर्न छाड्छ त्यसैगरी एक्कासि कक्लियाले काम गर्न छाड्दा व्यक्तिको श्रवणशक्ति गुम्छ। 

वंशाणु समस्याका कारण कक्लियाले काम नगर्न सक्छ। राम्रोसँग कक्लियाकै विकास नभएको खण्डमा पनि यसले काम नगर्न सक्छ। विभिन्न कारणले संक्रमण भएको खण्डमा समेत कक्लियामा समस्या निम्तन सक्छ। 

सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्नसक्छ। 

बढी ज्वरो आउने, मेनेन्जाइटिस हुने, हाँडे आउने जस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ। 

कान पाक्नेलगायत विभिन्न समस्याले पनि श्रवणशक्ति गुम्न सक्छ। कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कक्लियर इम्प्लान्ट गर्नुपर्ने हुन्छ।

कक्लियर इम्प्लान्ट भनेको मान्छेले बनाएको कृत्रिम कान हो। जुन कानले प्राकृतिक रूपमा बनेको कान जस्तै काम गर्छ। कक्लियर इम्प्लान्ट संयन्त्र कानको शल्यक्रिया गरी फिट गरिन्छ। 

यसले बाहिरको ध्वनिलाई कानको कक्लियामा फिट गरेको कक्लियर इम्प्लान्टको इलेक्ट्रोडमा पुर्याउँछ। यसले प्राकृतिक कक्लियाले जस्तै काम गर्छ। व्यक्तिले आवाज सुन्न सक्छ।

टिमको आवश्यकता
त्यसो त शल्यक्रिया मात्रै गरेर कक्लियर इम्प्लान्ट हुँदैन। कक्लियर इम्प्लान्ट (डिभाइस)को व्यवस्थापन गर्ने, ध्वनिको व्यवस्थपन गर्नका लागि अडियोलोजिष्टको आवश्यकता हुन्छ। जन्मजात नसुन्ने बच्चाहरूमा कक्लियर इम्प्लान्ट जडानपछि सुन्न सक्ने बनाएर बोली तथा भाषाको विकास गर्नका लागि स्पीच थेरापिष्ट पनि चाहिन्छ। 

सर्जरी गरेर मात्रै हुँदैन। यी तीनै जनाको विशेषज्ञको टीमले मिलेर व्यक्तिलाई कान सुन्ने बनाउन सकिन्छ। 

कुनै समस्या भए पुनः इम्प्लान्ट गर्न सकिन्छ। तर, नेपालमा एउटा कानका लागि एक पटक मात्र अनुदान सुविधा पाइन्छ।

१४० जनालाई इम्प्लान्ट हाले
डा. रवीन्द्रले अहिलेसम्म करिब एक सय ४० जनाको कानमा कृत्रिम कक्लिया इम्प्लान्ट गरेर कान सुन्ने बनाइसकेका छन्। यसमध्ये करिब ७० प्रतिशत बच्चा हुन्। 

हालसम्म उनले इम्प्लान्ट गरेका दुई जनाबाहेक सबैमा सफलता मिलेको छ। 

उनले अधिकांश ६ वर्षभन्दा कम उमेरका बालबालिकाको कक्लिया इम्प्लान्ट गरेका  छन्। सबैभन्दा पाकोमा ६८ वर्षसम्मको इम्प्लान्ट गरेको उनी सुनाउँछन्। 

अध्ययन, जागिर र इम्प्लान्टको सीप
डा. रवीन्द्र भक्तपुरको मध्यपुर ठिमि नगरपालिकाको नगदेशमा जन्मिएका हुन्। सानो ठिमिको हर्मन माइनर विद्यालयबाट २०४९मा एसएलसी उत्तीर्ण गरे। त्यो पनि जिल्ला टप।  

त्यसपछि भक्तपुरकै वीरेन्द्र सैनिक महाविद्यालयबाट २०५१मा आइएस्सी सके। 

उनलाई डाक्टर बन्ने रहर थियो। त्यसैले त्रिचन्द्रमा बीएस्सीमा भर्ना भए पनि एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिइरहे।  

एक वर्षपछि एमबीबीएस अध्ययनका लागि उनको नाम निस्कियो। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा सन् १९९६ मा उनी एमबीबीएस अध्ययन गर्न पुगे। 

२००१मा एमबीबीएस सकियो। छाउनीको सैनिक अस्पतालमा उनले इन्टर्नसीपको मौका पाए। त्यही वर्ष अत्तरखेलको नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतका रूपमा प्रवेश गरे। एक वर्ष काम गरे। 

त्यहाँ काम गर्दागर्दै चिकित्साशास्त्र अध्ययन संस्थानमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। पास भए। र अध्ययनका लागि उनको रोजाइको विषय बन्यो- नाक, कान, घाँटी। 

सन् २००७ मा उनको यो अध्ययन पनि पूरा भयो। यो विषयलाई ‘मास्टर्स इन सर्जरी (एमएस) अटोराइनोल्यारिङ्गोलोजी तथा हेड एण्ड नेक सर्जरी’ भनिन्छ। अध्ययनपछि उनी नाक, कान, घाँटी विशेषज्ञका रूपमा काम गर्न थाले। 

विशेषज्ञ भएपछि उनी नेपालगञ्ज मेडिकल कलेज पुगेर एक वर्ष काम गरे। त्यही समयमा शिक्षण अस्पतालमा नाक, कान, घाँटी विशेषज्ञको माग भयो। 

रवीन्द्रले पनि आवेदन दिए। जागिरका लागि छनोट भए। सन् २००८ मा जागिरेको रूपमा प्रवेश गरेका रवीन्द्र करिब १४ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा नै कार्यरत छन्। 

शिक्षण सहयोगी (टिचिङ असिस्टेण्ट)बाट रवीन्द्र बढुवा हुँदै सह–प्राध्यापकको तहमा छन्। 

अस्पतालको विभागभित्र नाक, कान, घाँटी र बच्चाको गरी चार वटा युनिट छन्। सुरुसुरुमा ६/६ महिना सबै युनिटमा काम गर्नुपर्थ्यो। 

५/६ वर्ष यसरी काम गरेपछि एउटा युनिटमा बस्ने चलन रहेछ, शिक्षण अस्पतालमा। उनी पनि यो चक्र पार गर्दै हाल कान युनिटमा छन्। 

सन् २००४ बाट नै शिक्षण अस्पतालमा कक्लियर इम्प्लान्ट जडान गर्ने प्रविधिको सुरु भएको रहेछ। यसको सुरुआत गर्ने विशेष श्रेय डा. राकेशप्रसाद श्रीवास्तवलाई दिन्छन् उनी। 

त्यो समयमा रवीन्द्र पनि शिक्षण अस्पतालमा स्नातकोत्तर तहको नाक, कान, घाँटी विषयको अध्ययन गरिरहेका थिए। सुन्दै नसुन्ने मान्छेलाई पनि प्रविधि जडान गरेर कान सुन्ने बनाएको देख्दा रवीन्द्रलाई पनि त्यो प्रविधिप्रति आकर्षण भइसकेको थियो। 

तर २०१४ सम्म आइपुग्दा पनि वर्षमा ४/५ जनाको मात्र कक्ल्यिर इम्प्लान्ट गरिन्थ्यो। धेरैजसो बिरामी विदेशै गएर यो सेवा लिन्थे। डा. श्रीवास्तव र डा. हरि भट्टराईले शिक्षण अस्पतालमा इम्प्लान्ट राख्ने यस्तो सर्जरी गर्थे।

पछि रवीन्द्रले कान सम्बन्धी थप अध्ययन गर्ने योजना बनाए। सन् २०१४ मा भारत पुगे। ‘मद्रास इएनटी रिसर्च फाउण्डेशन’बाट ‘इम्प्लान्टेशन अटोलोजी’ विषयमा एक वर्षे फेलोशिप गरे। 

उनले कान सम्बन्धी पथ विशेषज्ञता (सुपरस्पेसियालिटी) हासिल गरे। डा. श्रीवास्तवकै सल्लाहमा उनी कक्लियर इम्प्लान्ट सर्जरी विषयको अध्ययन गर्न पुगेका रहेछन्।

१७ पुस, २०७८, २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।