सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको उद्घाटन

सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको उद्घाटन

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो मर्जरको उद्घाटन भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार थालेको थियो।

असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले थुप्रै चुनौतीका बावजुद छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गरेको हो।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ। यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ।

एकीकृत कारोबारपछि सूर्यज्योतिको जीवन बीमाकोष २२ अर्ब रूपैयाँ, लगानी २८ अर्ब रूपैयाँ र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ।

उद्घाटन समारोहमा उपस्थित नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै कम्पनीलाई धन्यवाद दिए। उनले कम्पनीको उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिनेसमेत बताए।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले मर्जरका लागि सोचेजति जटिलता नआएको भन्दै दुवै पक्षले निश्पक्ष रूपमा काम गर्दा समस्या नपरेको प्रष्ट पारे।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए। दुवै कम्पनीको एक्चुरीयल मूल्यांकन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे।

१२ पुस, २०७९, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।