अध्यागमन कटे लगत्तै पक्राउ परे सन्दीप

अध्यागमन कटे लगत्तै पक्राउ परे सन्दीप

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। कतार एयरबाट काठमाडौं आएका उनलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेको हो।

बिहान १० बजे काठमाडौंमा अवतरण हुने गरी दोहाबाट उडेको कतार एयरवेजको जहाज मौसमका कारण अवतरण हुन नसकेर आकाशमा ओभर सुट गरेर फन्को मार्दै बसेको थियो।

मौसम सुधारिएपछि विमान अवतरण सफल भयो। सन्दीपले फेसबुकमा लेखे अनुसारै उनी प्लेनमा रहेको सूचनापछि सादा पोसाकको प्रहरीले उनलाई अध्यागमनसम्म ल्याएको थियो। भित्रै उनको हातमा हतकडी लागिसकेको थियो। 

अन्तर्राष्ट्रिय टर्मिनलबाट उनी बाहिरिए लगत्तै विमानस्थल बाहिर तयारी अवस्थामा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर गयो। उनी हतकडी र अनुहार लुकाउने प्रयास गर्दै थिए।

बलात्कारको जाहेरीसँगै उनी सम्पर्कहीन भएपछि प्रहरीले इन्टरपोल शाखा मार्फत डिफ्युजन नोटिस जारी गरेपछि उनी नेपाल आउन बाध्य भएका थिए।

उनीमाथि एक प्रशंसकलाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। उनले आफू निर्दोष रहेको दाबी गरिरहेका छन्।

२० असोज, २०७९, ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।