पाँचदिने भ्रमणमा २२ करोडकाे सैन्य सामान दिएर फर्किए पाण्डे

पाँचदिने भ्रमणमा २२ करोडकाे सैन्य सामान दिएर फर्किए पाण्डे

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल आएका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।

पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिन्।

भ्रमणकै दौरान जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र पाण्डेबीच औपचारिक भेटवार्ता भयो। भेटवार्तामा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भयो।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मङ्गलबार रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरेका उनले भारतबाट सहुलियत रूपमा आएको २२ करोड ३८ लाख रूपैयाँ बराबरको सैन्य सामग्री हस्तान्तरण गरे।

पाण्डेको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

२३ भदौ, २०७९, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।