कार्यकर्तालाई प्रचण्डको निर्देशन ‘हिजो लडाइँमा जान प्रतिस्पर्धा हुन्थ्यो तर आज सुविधाका लागि, करेक्सन गर्नुस् आफूलाई’

कार्यकर्तालाई प्रचण्डको निर्देशन ‘हिजो लडाइँमा जान प्रतिस्पर्धा हुन्थ्यो तर आज सुविधाका लागि, करेक्सन गर्नुस् आफूलाई’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरू पार्टीभित्र जीवनहीन भएको बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्रका युवाहरू जीवनहीन भएको बताए।

युवाबाट आउनुपर्ने जति ऊर्जा प्रस्तुत हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दाहालले नयाँ नेतृत्वले एकीकृत ढंगले संगठनलाई अघि बढाउने विश्वास व्यक्त गरे।

अहिले वाईसीएलको नेतृत्वमा भएकाहरू युद्धको समयमा कमाण्डर रहेको भन्दै उनले अहिले पनि त्यहि जोशका साथ काम गर्न निर्देशन दिए।

हिजोकै स्प्रिटलाई कायम राख्न सकेमा माओवादीलाई कुनै पनि शक्तिले रोक्न नसक्ने अध्यक्ष दाहालले बताए।

‘हिजो लडाइँमा जान प्रतिस्पर्धा हुन्थ्यो, म मर्न जान पनि नपाउने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘ आज सुविधाको लागि प्रतिस्पर्धा हुन्छ, यसलाई करेक्सन गर्नसके पार्टीभित्र सकारात्मक प्रभाव देखिन्छ।’

पार्टीले कम्तिमा २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा हुने व्यवस्था गरेको स्मरण गराउँदै उनले युवालाई सक्रिय हुन आग्रह गरे। उनले महिलाको प्रतिनिधित्वमा पार्टी अग्रणी भएको भन्दै पार्टी फेरि जीवन्त हुने उनको भनाइ छ। 

३ भदौ, २०७९, १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।