कांग्रेसलाई गलाउने उपाय खोज्दै चार दल, बहुमत पुग्ने सिट राख्ने दाउमा कांग्रेस

कांग्रेसलाई गलाउने उपाय खोज्दै चार दल, बहुमत पुग्ने सिट राख्ने दाउमा कांग्रेस

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा हुँदै गर्दा सत्ता-गठबन्धनका दलबीच सिट बाँडफाँडका विषयमा छलफल सुरु भएको छ। गठबन्धनमा सामेल सबै दलहरु आफ्नो भागमा बढीभन्दा बढी सिट राखेर संसद्मा उपस्थिति मजबुत बनाउन चाहन्छन्।

सत्ता-गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस आफूलाई बहुमत पुग्ने गरी सिट राख्ने र बाँकीमा चार दललाई सहमत गराउने रणनीतिमा छ। अन्य दल भने कांग्रेससँग कसरी हुन्छ बार्गेनिङ पावर बढाउन चाहन्छन्।

कांग्रेसले दिएको लिने मात्र होइन, हामीसँग पनि हिस्सा खोज्ने ल्याकत छ भनेर देखाउन चाहन्छन् अन्य दल।

समाजवादी मोर्चाको अभ्यास गरेर चुनावमा जान कसरत गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी तेस्रो पक्ष बनेर निर्वाचनमा जाँदा घाटा हुने बुझेर पछि हटे। उनीहरुको ध्यान गठबन्धन भित्रको समाजवादी मोर्चा बनाएर उप-गठबन्धनको अभ्यास हुनेछ। 

‘गठबन्धन कायम रहन्छ। गठबन्धनका दलहरू मिलेरै चुनावमा जान्छौं। हामी तेस्रो शक्ति पनि बानाउन जाँदैछौं। माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चा चार पार्टी गोलबन्द हुँदैछौं,’ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘कांग्रेसलाई मै हुँ सर्वेसर्वा भन्ने छ। हामी पनि केही हौं भनेर देखाउनु छ।’ 

दिएको मात्र लिने होइन, आफ्नो जनमतले स्वभाविक हिस्सेदार हौं भन्ने देखाउन चाहन्छन नेपाल। प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँड गर्दा यति सिट दावी भनेर औपचारिक रुपमा सत्ता-गठबन्धनले दावी गरेका छैनन्।

कांग्रेस भने गठबन्धनका अरु दललाई कम सिट दिन चाहन्छ। पार्टीभित्रै पनि गठबन्धन गर्नै नहुने आवाज बलियो छ। यसो भएको खण्डमा उसलाई आकांक्षी व्यवस्थापनमा समस्या पर्ने छैन।

कांग्रेसको दावी कति सिटमा रहन्छ? भन्ने प्रश्नमा एक पदाधिकारीले भने, ‘कहाँ कांग्रेसले सिट दावी गर्ने हो? अरु दलजस्तो दावी गर्ने अनि भाग पाउने हो र? कांग्रेसले दिने पो हो त।' कांग्रेसले १०० सिट राख्नुपर्ने ती पदाधिकारीले बताए। 

सिट बाँडफाँडको विषयमा गठबन्धनको बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको छ। सिट बाँडफाँडको लागि पाँच दलबाट २/२ जना रहने गरी सहमति बनाउने विषयमा पनि बुधबार छलफल भयो।

सरकारलाई आवश्यक सल्लाह दिन कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाइएको थियो। आलोपालो अध्यक्ष सम्हाल्ने सहमति भएको संयन्त्रको अहिले काम छैन। सो संयन्त्रमार्फत सिटको बाँडफाँड पनि हुन सक्छ।

‘नयाँ सहमति पनि हुन सक्छ। संयन्त्रमा सदस्य थप गरेर पनि जान सकिन्छ,’ कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले उकेरासँग भनिन्। तीन सय स्थानीय तहमा मात्र तालमेलको मोडालिटी बनाएको संयन्त्रको कामभन्दा पनि सबै निर्वाचन क्षेत्रमा केन्द्रबाटै सहमति गरेर तालेमेल लाद्ने मनसायमा गठबन्धन देखिन्छ। औपचारिक रुपमा सिट बाँडफाँडको विषयमा भने गठबन्धनमा कुरा भएको छैन।

‘सिट बाँडफाँडको विषयमा कुनै छलफल भएको छैन,’ कांग्रेस महामन्त्री गगन थापाले भने, ‘सिट बाँडफाँडको विषयभन्दा पनि केका लागि गठबन्धन भन्ने कुरा, न्यूनतम समझदारीका कुराहरु के हुन्? गठबन्धनको मतको सम्मान गर्न सक्छौं, त्यसमा ध्यान दिनुपर्छ।’

गठबन्धनमा मत मागे साबिकको नेकपा जस्तै अलग्गिनुपर्ने अवस्थामा जनमतको उपेक्षा हुनेमा कांग्रेस सजग देखियो।  

माओवादी पनि गठबन्धनमा सिट बाँफफाँडको विषयमा कुरा नै नभएको बताउँछ। ‘भर्खर त चुनाव घोषणा भएको छ। अब हुन्छ छलफल। अहिलेसम्म यसबारे कुनै कुरै भएको छैन,’ माओवादी नेता देव गुरुङले उकेरासँग भने।

सचिवालय बैठक र कोठे बैठक गरेर चुनावी रणनीतिदेखि अन्य दलको अवस्थाबारे समीक्षा गरेको एकीकृत समाजवादी पनि सिटको बारेमा गठबन्धनमा कुरै नभएको बताउँछ। 

‘सिट बाँडफाँड र मोडालिटीबारे केही भएको छैन। शुक्रबार ९ बजेको बैठकमा छलफल गर्छौं,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘कांग्रेसको बहुमतको चाहना छ। अरुको पनि चाहना होला। उसको मात्र चाहनाले हुँदैन।’ 

औपचारिक छलफल नभए पनि अनौपचारिक रुपमा दलहरुबीच सिट बाँफफाँडको कुरा भइरहेको छ। एकीकृत समाजवादीका एक पदाधिकारी कांग्रेसले १०० सिट माग गरे आफूहरु पछि हट्ने बताउँछन्।

‘कांग्रेस १०० सिटबाट बिहीबारसम्म ८५ सिटमा झरिसक्यो। अब कांग्रेस र अरु दलबीच आधा-आधा सिट बाँफफाँड हुन्छ। सायद यसमै सहमति हुन्छ,' ती पदाधिकारीले भने।

१९ साउन, २०७९, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।