स्वास्थ्य मन्त्रालयले भन्यो- 'काठमाडौंमा वायु प्रदूषण बढ्यो, बाहिर निस्किँदा मास्क​​​​​​​ लगाउनू'

स्वास्थ्य मन्त्रालयले भन्यो- 'काठमाडौंमा वायु प्रदूषण बढ्यो, बाहिर निस्किँदा मास्क​​​​​​​ लगाउनू'

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै मास्क लगाउन आग्रह गरेको छ।
 
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन्।

उनले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन भनेका छन्। 

'वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ। वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,' प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स र्याकिङ’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन्। यसले नेपालीको औसत आयु चार दशमलव  एक प्रतिशतले घटाएको तथ्याङ्क छ।

गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न मन्त्रालयले अनुरोध गरेको छ। गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ। 

१८ बैशाख, २०८१, १५:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।