शेखरलाई साइजमा राख्ने देउवाका तीन हतियार

शेखरलाई साइजमा राख्ने देउवाका तीन हतियार

काठमाडौँ : पार्टीभित्रै प्रतिपक्षी समूहको नेता बन्ने प्रयास गर्दै कांग्रेस नेता शेखर कोइराले हरेक विषयमा सभापति शेरबहादुर देउवालाई निशाना बनाइरहन्छन्। तर उनका हरेक प्रहारलाई सहजै असफल बनाइरहन्छन् देउवा।

स्थानीय तह निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जान हरेक कोणबाट प्रहार गरिरहे उनले। गुटको भेला गराए। आफ्ना समूहमा रहेका स्टार प्रचारक गगन थापालाई सीमित स्थानमा मात्र परिचालन गराए। तर उनी गठबन्धन रोक्न सफल हुन सकेनन्। उनको गतिविधि गठबन्धनका अन्य चार दलका लागि चुनावपछिको समीक्षामा कांग्रेसमाथि प्रहार गर्ने मसला मात्रै बन्यो।

प्रदेश र सङ्घको निर्वाचनमा पनि पार्टी एक्लै जानुपर्ने लाइनमा छन् कोइराला। उनले त्यही माहौल बनाउन सोमबारबाट पार्टीको केन्द्रीय समितिको बैठक बस्नु अगाडि गुट भेला गराए। पार्टी सभापतिलाई चेतावनी दिए। आलोचना गरे अनि पहिलो दिनको बैठकमै आफ्ना असहमतिहरू लिखित रूपमा राखे। तर दोस्रो दिनको बैठकमै उनले प्रहार गरेको निशानालाई निष्क्रिय बनाउँदै लगे देउवाले।

त्यसका लागि देउवाले बोल्नै पर्दैन। उनी संस्थापनइतर समूहका नेताको रूपमा रामचन्द्र पौडेललाई अगाडि सारिदिन्छन्। मङ्गलवार पनि त्यही रणनीति अख्तियार गरे देउवाले।

सोमबार लिखित रूपमा असहमति राखेका कोइरालाले चुनावी तालमेलबाट कांग्रेसले लाभ लिन नसकेको विश्लेषण गरेका थिए। केही बढी सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्त कमजोर बनेको उनको तर्क थियो।

 ‘स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ। तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ। अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो,' उनले भनेका थिए।

उनले तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भएको र तालमेलमा जानु पूर्व सिङ्गो कांग्रेसलाई एक ढिक्का बनाउनुपर्ने, क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसङ्ख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढङ्गले टिकट वितरण गर्नुपर्नेमा त्यसो नभएको दाबी गरेका थिए।

उनले सोमबारको बैठकमा राखेका धारणालाई मङ्गलवार नेता पौडेलमार्फत जवाफ दिए देउवाले पौडेल आगामी निर्वाचनमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै कोइरालालाई जवाफ दिए।

उनले भने,‘गठबन्धन आवश्यक छ। आगामी चुनावमा गठबन्धन गरेर जानुपर्छ। चितवनमा गठबन्धन गर्दा नै राम्रो परिणाम आयो। स्थानीय तह निर्वाचनले यही सन्देश दिएको छ।’

उनी मात्रै हैन मङ्गलवार बैठकमा बोल्ने एकाध बाहेक अधिकांश गठबन्धनकै पक्षमा उभिए। नेता मीन विश्वकर्माले कमजोरीको विश्लेषणसहित स्थानीय तह निर्वाचनमा भएको कमी कमजोरी सच्याएर गठबन्धनबाटै निर्वाचनमा जान सुझाव दिए।

‘स्थानीय तहमा आवश्यक परेर नै गठबन्धन गर्यौँ। ढिलो र अन्योलग्रस्त अवस्थामा गठबन्धन गरेकाले सङ्ख्यामा परिणाम आए पनि सारमा पार्टीमा सिट सुरक्षित गर्न सकेनौँ। धेरै सिट ल्याउँदा पनि पार्टी थिलथिलो भएकाले समयमा निर्णय गरेर अघि बढौँ, विश्वकर्माले भने, ‘भातृ संस्था बिना नै निर्वाचनमा गएकाले युवा परिचालन हुन सकेन। समयमा भातृ सङ्घको नेतृत्व चयन गरेर जाऔँ।’

बैठकमा सिन्धुपाल्चोकका नेता मोहन बस्नेत अलि फरक रूपमा प्रस्तुत भएका थिए। तर उनी गठबन्धनको विपक्षमा भने उभिएनन्। उनी आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्नतिर लागे। उनले गठबन्धनको नाममा आफूलाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने हो भने विद्रोह गर्ने चेतावनी दिएका थिए।

‘गठबन्धन गर्नुस्, मेरो केही भन्नू छैन। मेरो गृह जिल्लामा खेल्ने प्रयास नहोस्। यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नु भयो भने म विद्रोहका लागि तयार छु’ उनले भने।

शेखरलाई साइजमा राख्ने देउवाका हतियार

पार्टीमा ४० प्रतिशत सहभागिताको आधारमा भाग खोज्ने गरेका छन् शेखरले। तर देउवाले उनलाई त्यति महत्त्व दिएका छैनन्। त्यसको कारण उनकै समूहका केही नेताको दोहोरो चरित्र एक कारण हो नै। अर्को महत्त्वपूर्ण पक्ष संस्थापन इतरका नेताहरू एक हुन नसक्नु नै हो।

शेखरलाई साइजमा राख्न देउवाले पटक-पटक प्रयोग गर्ने हतियार हो रामचन्द्र पौडेल। १४ औँ महाधिवेशनमा मतदान समेत गर्न नगएका पौडेलले अहिले पनि आफूलाई संस्थापन इतर समूहको नेताको रूपमा प्रस्तुत गर्छन्।

पार्टीमा देउवाले उनलाई शेखरभन्दा बढी सम्मान दिएका छन्। पार्टीका फोरमहरू पौडेलले नै बढी पाएका छन्। अनि संस्थापनइतर समूहको नेता बनेर पौडेलले देउवाको नीति अगाडि बढाउन सघाइरहेका छन्।

यता शेखर समूहमा रहेका नेताहरूले पौडेल समूह संस्थापन समूहमा विलय भएको घोषणा गर्न समेत सकेका छैनन्। न त उनीहरूले पौडेललाई आफ्नो समूहमै ल्याएर समूहको नेता बनाउन सकेका छन्। उनीहरूले सभापतिमा प्रतिस्पर्धा गरेर पाएको मतका आधारमा आफ्नो समूहको नेता शेखरलाई नै स्वीकार गरिरहेका छन्। जसलाई पौडेलले पटक-पटक कमजोर बनाइरहन्छन्।

शशाङ्क कोइराला अनि सुजाताले अझै शेखरलाई समर्थन गरेका छैनन्। समूहको भेलामा उनीहरू सहभागी हुने गरेका छैनन्। महाधिवेशनमा देउवाको विपक्षमा उभिएका प्रकाशमान सिंह अनि विमलेन्द्र निधिलाई समेत आफ्नो समूहमा समेट्न सकेका छैनन् उनले। यसले संस्थापनइतर समूहका नेता-कार्यकर्तामाझ आफ्नो समूह एक र बलियो भएको सन्देश जान सकेको छैन।

समूहका नेताहरू विभाजित हुँदा भोलि पार्टीबाट पाउन सक्ने अवसर गुम्ने भयले पनि उनीहरूले पनि दबाब दिन सकेका छैनन्। त्यसको फाइदा देउवा समूहले पाइरहेको छ नै।

आफ्नो समूहबाट उपसभापति अनि महामन्त्री लगायतका पदाधिकारी केन्द्रीय समितिमा रहे पनि उनीहरूले शेखरले अगाडि सारेका धारणालाई पार्टीको बैठकमा संस्थागत गराउन भूमिका निर्वाह गर्न सकेका छैनन्। पदाधिकारीहरूको भूमिका हेर्दा शेखर समूह पनि नछाड्ने अनि देउवा समूहलाई पनि अप्ठ्यारो नपार्ने नीति देखिन्छ उनीहरूमा।

देउवाको नीतिको सार्वजनिक रूपमा आलोचना गरिरहेका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नो समूहप्रति लोयल बनाउन सकेको छैन यो समूहले। समूहबाट उपाध्यक्ष भएका धनराज गुरुङ सामाजिक सञ्जालमा मात्र प्रभावकारी देखिएका छन्। पार्टी बैठकमा उनको धारणालाई अन्य नेताहरूले समेत उति महत्त्व दिएको देखिँदैन।

यसरी शेखर समूहले अगाडि बढाउने प्रयास गर्ने नीति असफल बनाउन उनकै समूहका पदाधिकारीहरू समेत देउवाका लागि सहयोगी हतियार बनेको देखिन्छ।

प्रवक्ता भन्छन् बाहिर नबोल्नुस्

शेखर कोइराला पक्षले पार्टीको बैठक अघि आफू पक्षीय नेताहरूको भेलाबाट सभापति विधान विपरीत जान खोजेको र त्यसको प्रतिकार गर्ने निष्कर्ष निकालेको थियो। सो समूहको छलफलसँगै समूहका नेताहरूले सामाजिक सञ्जालमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको कार्यशैलीको सार्वजनिक आलोचना समेत गरेका थिए।

मङ्गलवार त्यसको जवाफ देउवा समूहका नेता तथा पार्टी प्रवक्ता डा प्रकाश शरण महतले दिए। उनले पार्टीको फोरमा भएकाले पार्टीमै छलफल गर्नु भन्दै बाहिर नबोल्न निर्देशनात्मक शैलीमा आग्रह गरे।

‘पार्टीबारे जति पनि आफ्नो चिन्ता, चासो र गुनासोहरू छन् केन्द्रीय फोरममा कुरा राख्न निषेध छैन, गाह्रो छैन,’ प्रवक्ता महतले  मङ्गलवार भने, ‘धेरै मन्थन गरौँ। बहस गरौँ। एक ढिक्का भएर निर्वाचनमा जानुपर्छ।' उनले अरू दलहरूसँग त गठबन्धन गरिराखेकाले पार्टीभित्र एक हुन कुनै अप्ठ्यारो नभएको तर्क गरेका थिए। उनले बाहिर छलफल, आरोप–प्रत्यारोप गर्नुभन्दा यी कुराहरू पार्टीभित्रै राख्न नेताहरूलाई आग्रह गरेका थिए।

बाहिर–बाहिर आरोप लगाउने र बोल्ने भन्ने कुरा गर्नुभयो। यो २ जना महामन्त्री र शेखर कोइराला समूह लक्षित हो ? भन्ने उकेराको प्रश्नमा महतले भने, ‘यो कसैलाई लक्षित होइन। जहाँ कुरा आइरहेको छ यो हाम्रो पार्टी हो। कसले कहाँ के भने त्यो हिसाब किताब तपाईहरुलेनै राख्नुहोला। पार्टी एकाकार भएर जानुपर्छ।’

जति गरे पनि देउवाकै भनाइ लागु हुन्छ

केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले बैठक लम्बिने देखिन्छ। तर बैठक जति दिन लम्बिए पनि आउने निष्कर्ष भने सोमबार र मङ्गलवारको बैठकमा देखिइसक्यो।

यो बैठकले निकाल्ने निष्कर्ष देउवाले चाहेकोभन्दा भिन्न हुने सम्भावना देखिन्न। कोइराला पक्षको धारणा केवल गुनासोमा मात्रै समेटिने देखियो यो पटक पनि।

‘रामचन्द्र दाइको पहिला अलि विद्रोही टाइपको भनाई आउँथ्यो। अहिले मिलाउँदै छन्। यो हेर्दा पार्टी सभापतिले दपेट्ने त हैन, तर लपेट्नेवाला भने छन्,’ एक केन्द्रीय सदस्यले भने।

सभापति देउवा ढुक्क हुनुको कारण नेताहरूले बाहिर आफ्ना विरुद्ध जे बोले पनि केन्द्रीय समितिको बैठकमा भने सहमतिमा आउने उनीहरूको चरित्रकै कारण हो। बाहिर हेर्दा पार्टीका २ महामन्त्री गगनकुमार थापा अनि विश्वप्रकाश शर्मा देउवाको विपक्षमा झैँ देखिएका छन्। केन्द्रीय समितिमा पनि उनीहरूले पार्टीले लिएको नीतिको विरोध गर्न सक्छन्। तर देउवाको विपक्षमा भने जाने सम्भावना छैन।

‘बाहिर मात्रै हैन पार्टी बैठकमा पनि बोल्नुपर्यो नि। तर बैठकमा सभापतिको विरुद्धमा कोही बोल्नेवाला छैनन्। शेखर दाइले धेरै भएर लेख्नुभएछ। तर कम्प्रमाइज भइहाल्छ। केन्द्रीय समितिमा सभापतिकै डोमिनेशन छ,' ती सदस्यले उकेरासँग भने।

गठबन्धन हुँदा पनि केन्द्रीय नेताहरू संसदीय निर्वाचनमा टिकटविहीन बन्ने सम्भावना छैन। २०७४ को निर्वाचनमा पराजित दोस्रो तहका नेताहरूलाई हो टिकट पाउन सकस। त्यसमा पनि एमालेले जितेको निर्वाचन क्षेत्र हो भने गठबन्धनमा बार्गेनिङ हुनसक्छ। तर त्यसका लागि सभापति सकारात्मक हुन आवश्यक छ।

यो कोइराला पक्षका नेताहरूले पनि बुझेकै विषय हो। त्यसैले उनीहरू निर्वाचन अगाडि पार्टी सभापतिको विरोधमा गएर टिकटै खोसिन सक्ने जोखिम मोलिहाल्ने पक्षमा उभिने सम्भावना छैन।

‘गठबन्धन हुँदा पनि वरिष्ठमध्ये ८० प्रतिशतले टिकट पाउने निश्चितै छ। त्यसैले उनीहरू गठबन्धनको विपक्षमा जाने सम्भावना छैन’ अर्का केन्द्रीय सदस्यले भने।

२८ असार, २०७९, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।