गठबन्धनमा एकीकृत समाजवादीका दुख : न धम्क्याउँदा धम्किन्छन्, न फकाउँदा फकिन्छन्

गठबन्धनमा एकीकृत समाजवादीका दुख : न धम्क्याउँदा धम्किन्छन्, न फकाउँदा फकिन्छन्

‘अहिले हामीले ९ लाख मतदाता छन् हाम्रा भन्छौँ, ९ होइन २० लाखभन्दा बढी मत छ हाम्रो। त्यो २० लाख मत हामीले सङ्कलन गर्न सकेनौँ। यसमा हाम्रा पनि केही त्रुटि कमजोरीहरू रहे,’ खनालले बुधवार भने, ‘र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्यो। त्यो अपमानपूर्ण ढङ्गले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ। त्यति सिट पनि प्राप्त गर्न सकेनौँ।’ 

अपमान गर्यो भन्ने दाबी गरिरहेका नेताहरूले कति सिट उसलाई दिए सम्मान हुने भन्ने खुलाएका छैनन्। अब आउने संसद्को निर्वाचनमा १ सय ६५ सिटमध्ये कति सिट पाए सम्मान हुने हो त्यो पनि खुलाउँदैनन्। पार्टीका नेताहरूसँग कुरा गर्दा उनीहरू अब आउने निर्वाचनमा पनि प्रत्यक्षतर्फ त्यति आशावादी देखिएनन्। त्यसैले उनीहरू सकेसम्म समानुपातिक मत बढाउने रणनीतिमा लागेको देखियो।

एक सय ६५ मा कति सिटमा पार्टीको दाबी हो भन्ने जिज्ञासामा उप महासचिव डा गङ्गालाल तुलाधरले पार्टीले गठबन्धनमा यति सङ्ख्याभन्दा पनि सम्मानजनक उपस्थिति र भूमिकाका निम्ति आफ्नो कुरा राख्ने बताए।

मन्त्री बदल्दा अर्कै समस्या

अहिले एकीकृत समाजवादीका नेताहरू पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्ने हो। तर मन्त्री बदल्ने विवादमा रुमल्लिएर बसेका छन्। स्थानीय तहको निर्वाचनको समीक्षा गरेर रणनीति बनाउने समय प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरूलाई फिर्ता गर्न नदिएको भन्ने गुनासो र घुर्कीमा बिताइरहेका छन्।

‘बेस्सरी अप्ठ्यारोमा परेका छन्। कसैले कुम बजाइरहेका छन् कसैले स्याबास भनिरहेका छन्। कसैले खुच्चिङ भनिरहेका छन् कसैले समाजवादीमा हुने नै यस्तै हो भनिरहेका छन्। कहीँ नभएको जात्रा हाँडी गाउँमा भएको छ। पार्टीले निर्णय गर्ने मान्नुपर्नेले नमान्दिएका जस्तो गर्ने भयो,' उपमहासचिव तुलाधरले भने, पार्टीले निर्णय गरिसकेपछि तत्क्षण फिर्ता हुनुपर्थ्यो।  कुनै पनि अवज्ञा गर्ने बाहनाबाजी गर्नुहुन्नथ्यो। उहाँहरूको कद होचो बनाएको छ।’

उनले निर्वाचनपछि बन्ने सरकार पनि गठबन्धनकै हुने भएको र अहिले समाजवादीलाई जुन समस्या परेको छ त्यो भोलि अरूलाई नि पर्न सक्ने बताए।

‘भोलि पनि संयुक्त सरकार बन्ने हो। त्यो गठबन्धनमा अहिले हामीलाई जस्तै पीडा कांग्रेसलाई पर्यो भने के हुन्छ ? माओवादीलाई के हुन्छ ? जसपालाई के हुन्छ ?' तुलाधरले भने 'हाम्रो सहयात्री दलबाट पनि हामीलाई चित्त दुखाउने काम भएको छ।’ 

एक्लै निर्वाचनमा जाने सम्भावना ?

स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवार उठाउन नसक्दा पार्टीको मत कति छ भन्ने नै अनुमान गर्न कठिन भएको भन्दै केही नेताहरू अब आउने निर्वाचनमा जस्तो परिणाम पनि स्वीकार गर्ने गरी सके एक्लै नसके कुरा  मिल्नेसँग एकता गरेर जानुपर्ने पक्षमा देखिए।

केही नेताहरू प्रत्यक्षमा भन्दा समानुपातिक मत बढाउन केन्द्रित हुनुपर्ने पक्षमा उभिएका छन् भने केही गठबन्धनबाट बाहिरिन नहुने पक्षमा छन्। गठबन्धनमा रहेर प्रदेश र केन्द्रको सबै निर्वाचन क्षेत्रमा उम्मेदवार नबनाउने हो भने त्यसको असर समानुपातिक मतमा पर्ने मत पनि देखियो।

‘१ सय ६५ प्रतिनिधि सभा र ३ सय ३० वटा प्रदेश सभामा हामी सबै ठाउँहरूमा उम्मेदवार उठाउने ढङ्गले गयौँ भने हामी सफल हुन्छौ। २७ प्रतिशत भन्दा कम उम्मेदवार उठाउँदा ९ लाख ७० हजारको हाराहारीमा मत ल्यायौँ,' उपमहासचिव तुलाधरले भने, ‘खडेरी लाग्या बेला, अरूले हेपेको चेपेको बेला,चोइटिएर गएको भनेको बेला, हियाएको बेलामा यस्तो भोट छ भने हामीले त्यही अनुसारका तयारी गछौं। गठबन्धन हुँदा सुनमा सुगन्ध हुन्छ।’ 

स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णय कुर्दा कमजोरी भएको भन्दै अब सो दलका नेताहरू गठबन्धनको निर्णय कुर्ने पक्षमा देखिएनन्। उनीहरू सबै क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गर्ने र गठबन्धनमा सहमति भए अनुसार फिर्ता गर्नुपरे उम्मेदवारी फिर्ता गर्ने रणनीतिमा भएको देखियो।

‘गठबन्धनको कुरा आफ्नो ठाउँमा छ, हामीलाई देशैभरि पुग्नुपर्नेछ। समानुपातिक भोट बढी प्राप्त गर्नुपर्नेछ। प्रत्येक ठाउँमा हाम्रो उम्मेदवार तयार गर्नुछ। त्यही तयारीका साथ हामी लाग्नुपर्छ,’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले उकेरासँग भने।

उसले काँग्रेस अनि माओवादीलाई जति गाली गरे पनि उ अहिलेको अवस्थामा एक्लै निर्वाचनमा जाने सम्भावना नरहेको र उसको रणनीति सकेसम्म बार्गेनिङ शक्ति बढाएर आफ्नो पक्षमा बढी सिट पार्ने रणनीतिमा रहेको राजनीतिक विश्लेषकको मत देखियो।

‘हरेक निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गर्नु गठबन्धनसँग बार्गेनिङ पावर बढाएको हो अरू केही पनि होइन । एक्लै लडेर चुनाव जितिँदैन भन्ने कुरामा एकीकृत समाजवादी स्वयंलाई थाहा छ,’ राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँले भने ‘यो बार्गेनिङ सफल हुन सक्छ। देउवाले माछाको तेलमा माछा नै भुटिरहेका छन्। कम्युनिस्टको तेलमा कम्युनिस्ट नै भुटिरहेका छन्।’

९ असार, २०७९, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।