घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार

घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार

काठमाडौँ : सरकारले नीति तथा कार्यक्रममार्फत घरजग्गा कारोबारमा कडाइ गर्ने घोषणा गरेको छ। मङ्गलवार संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको २०७९/७८ को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने घोषणा उल्लेख छ।

नीति तथा कार्यक्रममा अनधिकृत रूपमा भइरहेको घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाउने उल्लेख छ। कार्यक्रममा घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने उल्लेख छ।

पछिल्लो समय अनियन्त्रित रूपमा जहाँ पनि बसोबास क्षेत्र बनाउने होडबाजी चल्दा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ। डाँडा पाखा समेत सम्म्याएर जोखिमपूर्ण रूपमा हाउजिङ गर्ने अनि खेतीयोग्य जमिनमा समेत प्लटिङ गरेर जग्गा विक्री गर्ने क्रम बढेपछि सरकारले यस अगाडि नै जग्गा कारोबारलाई एकै छाता अन्तर्गत ल्याउने तयारी गरेको थियो।

सरकारले यस अगाडि नै घर जग्गा कारोबारलाई सेयर कारोबारको शैलीमा किनबेचको प्रणाली बनाएर पारदर्शी बनाएर कर छली नियन्त्रण गर्ने तयारी गरे पनि कार्यान्वयनमा ल्याउन सकेको छैन।

नीति तथा कार्यक्रममा भू-उपयोग नीति तथा कानुनअनुसार भूमि वर्गीकरण गरी सङ्घ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गर्ने  उल्लेख छ।

१० जेठ, २०७९, १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।